पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  पाल्पा । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको  रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा  गत वर्षदेखि तानसेन  वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्नुहुन्छ । “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्नुहुन्छ, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।”  ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए ।    घरपरिवार र अन्य आफन्त नभएका उहाँहरू दशैँमा आश्रममै बस्ने बताउनुहुन्छ । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उहाँहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उहाँहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुग्नुभएको हो । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उहाँ भन्नुहुन्छ । दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाउनुभएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुग्नुभयो, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उहाँले भन्नुभयो, “क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगँे। ” निको नहुञ्जेल घर नजाने उहाँले बताउनुभयो ।    आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।”

लमजुङ  :  यतिबेला लमजुङमा दशैँको छुट्टै रौनक छाएको छ । खेतमा ‘लहलह’ धानको बाला झुलेको छ भने बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली, दिन पनि घमाइलो भइरहेको छ । घर बाहिर गएका परिवारका सदस्य पनि घरमा आउन थालेका छन् । गाउँघर तथा सहरमा मानिसको चहलपहल पनि बढ्दो छ ।    सुन्दरबजार नगरपालिका–९ सिउँदीबारका सन्तोष श्रेष्ठ भने खासै रमाएका छैनन् । उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा प्रत्येक घटस्थापनाका दिनदेखि बिहान–बिहानै नगरा बजाउन आउँथ्यो, नगराका धुन सुन्दा दशैँको आभास हुने गर्दा मनै उल्लासमय हुन्थ्यो, तर यस वर्ष नआउँदा नरमाइलो लागेको छ । सानै छँदादेखि नगरा बजाएको सुन्दै आएँ तर यस वर्ष भने नआएपछि नगराको धुन सुन्न नपाउँदा लोप भयो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ छ ।   हिन्दू धर्म संस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ ।  घटस्थापना सुरु भएदेखि अर्थात् नौरथा सुरु भएसँगै गाउँ–सहरका घरघरमा नगरा लगाउने चलन छ । नगरा लगाउँदाको दमाहाको धुनले दशैँ आएको आभास स्थानीयलाई हुने गरे पनि यस वर्ष भने गाउँघरमै सुनिन छाडेको छ ।   दशैँको बेला नगरा लगाएको घरमा सुख र शान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दशैँका बेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै जाँदा जिल्लावासी चिन्तित छन् । अझै बुढ्यौली हुँदै गएका दमाह बजाउने परियार समुदायका सन्तति अर्थात् युवापुस्ताको चासो नगरा लगाउनेमा नहुँदा लोप हुँदै गएको पाइन्छ ।   नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेर्ने भएकाले पनि यो प्रचलन विस्तारै हराउँदै गएको दोर्दी गाउँपालिकाका सन्तेबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका युवापुस्तालाई बाजा बजाउनै नआउने र बजाउन सिकेकासमेत बाजा बजाउँदै हिँड्न लाज मान्ने गरेका छन् । त्यसैमाथि यो नगरा लगाउने चलन त हराइनै सकेजस्तो छ ।”   विगतमा घर–घरमै नगरा लगाउने चलन भए पनि केही वर्षदेखि भने नगरा लगाउने चलन हराउँदै गएको क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरा संरक्षणका लागि पालिकाले नयाँ पुस्ताका परियार समुदायलार्ई आकर्षित गर्ने वातावरण सिर्जना गर्छौँ । नगरा प्रथा परियार समुदायको संस्कार, परम्परा र पुर्खाले दिएको सम्पत्ति हो । तर अहिले परम्परा नै लोप हुन थालेको जनाउँदै परियार समुदाय नै चिन्तिन बन्दै गएका छन् ।”    घटस्थापनादेखि ब्राह्मण–क्षेत्री समुदायमा दशैँको नवमीसम्म बिहान दुर्गा भवानीको पूजा गर्ने चलन छ । नहरा लगाउने प्रथा संरक्षणमा सबै परियार समुदाय पनि एकजुट हुनुपर्ने सरोकारवाल बताउँछन् । विस्तारै विभिन्न संस्कार र संस्कृति लोप हुँदै गर्दा संस्कृतिविद्समेत चिन्तित बनेका हुन् ।

काठमाडौं  ः  नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।   मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।   नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।   नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।     नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् ।    त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेषरूपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरे पनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।

  काठमाडौँ:  काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य  जुगल’ आज सार्वजनिक भएको छ । आज यहाँ आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले त्यस हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य समेटिएको पुस्तक सार्वजनिक गर्नुभयो ।       काठमाडौँ उपत्यकाबाट कूल एक सय ५० किलोमिटरको दूरी तय गरेपछि जुगल हिमालको आधार शिविर पुग्न सकिन्छ । सोही हिमालका आरोही मिलन तामाङले पुस्तकको संयोजन एवं लेखन गर्नुभएको हो ।       जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा त्यस हिमाल र आसपासका क्षेत्रका बारेमा सविस्तार जानकारी दिइएको छ । जुगल क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बि=स= २०७५ चैतमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो ।       तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टको कार्यकालयमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहणको अनुमति पाउने वित्तिकै यस पुस्तकका लेखक तमाङलगायतले सफल आरोहण गर्नुभएको थियो । हाल आधार शिविरतर्फ सहज रुपमा पुग्नका लागि बलेफी–कात्तिके–पेम्बाथान सडक निर्माण भइरहेको छ । केही दिन पहिले मात्रै सभामुख सापकोटाले सो सडक निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आयोजनास्थलमा नै पुगेर निर्देशन दिनुभएको थियो । सभामुख सापकोटाको पहलमा नै सो सडक निर्माण भइरहेको छ । सडक निर्माणका लागि रु एक अर्ब बराबरको लगानी भएको छ ।       राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको सो हिमाललाई मूल प्रवाहमा ल्याउने र धेरै धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धिको दिशामा ध्यान केन्द्रीत गर्न आफुहरु लागिपरेको पुस्तकका लेखक तामाङको भनाइ छ ।       आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवद्र्धन र त्यसलाई विस्तारित उद्योगका रुपमा लैजानका लागि पुस्तक महत्वपूर्ण हुने त्यस अवसरमा जानकारी दिइएको थियो । एउटै आधार शिविरबाट आठ वटा हिमाल आरोह गर्न सकिने भएकाले पनि पर्यटकको विशेष आर्कषणमा पर्ने  विश्वास लिइएको छ ।       सभामुख सापकोटाका अनुसार जुगल क्षेत्रको पर्यटन विकासका सम्भावनालाई पुस्तकले अझ विस्तार गरेको तथा आन्तरिक र बाह्य पर्यटकको चासो बढाउनेछ । जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल हिमशृङ्खलालगायत यस पालिकाभित्र रहेका अन्य धार्मिक, सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्रहरुलगायत समग्र क्षेत्रको यर्थाथ चित्रण गर्न पुस्तक महत्वपूर्ण छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये जुगल गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रवल सम्भावना रहेको पालिका हो ।      नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्व रहेको भैरवकुण्ड क्षेत्र, धार्मिक महत्व रहेको नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन् । जलस्रोतको धनी रहेको यो गाँउपालिकामा साना तथा ठूला गरी १० वटा जलविद्युत् आयोजना छन् ।       सो हिमशृङ्खलामा कूल छ हजार मिटर माथिका ११ वटा हिमाल छन् । भैरव टाकुरा छ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा छ हजार आठ सय ६६, गङछेम्बु छ हजार तीन सय ७८, गुरकर्पो ह्री छ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक छ हजार एक सय ५१ मिटर, लाङशिसा ह्री छ हजार चार सय १२ मिटर उचाईका हिमाल छन् ।       सन् १९४६ मा बेलायती आरोही बिल तिलमानले नेपालको विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा यस हिमशृृङ्खलाका पिक र हिकालको आधार क्षेत्र र पाँच पोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेको इतिहास छ । अत्यत्नै साहसिक र चुनौतीपूर्ण पास भएकाले त्यस स्थानलाई आफ्नै नाम दिएर ‘तिलमान पास’ नामाकरण गरिएको हो । सो बारेमा ‘ नेपाल हिमालय’ नाम पुस्तक पनि प्रकाशन भएको छ ।       सिन्धु पर्यटन परिषद्को समन्वयमा बागमती प्रदेश र जुगल गाउँपालिकाको आयोजनामा २०७५ साल चैत २६ गते जुगल हिमालका ११ वटा चुचुरामध्ये कूल छ हजार एक सय ५१ मिटर उचाईको ग्याल्जेन पिकको सफल आरोहण गरिएको थियो । सो आरोहण दलमा पुस्तकका लेखक तामाङ, सर्मिला थापा, सुभाष कर्माचार्य, माधव सापकोटा र प्रेम गुरुङ सहभागी हुनुहुन्थ्यो ।      आरोहण दलका सदस्य समेत रहनुभएका नेकपा-माओवादी केन्द्र_का केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासका लागि पनि जुगल क्षेत्रको प्रचारप्रसार जरुरी रहेको बताउनुभयो । 

   काठमाडौं ।  ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ ।    नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ । तर, हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ । किनकी हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ ।”    नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारी अनुरूप सुरुआत गरिएको उहाँले बताउनुभयो । अभिनेता राईले अग्रजबाट लिएको नाटकको संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउन महोत्सव गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।    नौ दिनसम्म चल्ने महोत्सवमा १६ देश सहभागी हुने र २३ नाटक मञ्चन हुने महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई उत्सवका रूपमा मनाउने तयारी गरेका छौँ । हामी नाटकको दर्शक बढाउन चाहन्छौँ । यसले नियमित दर्शकभन्दा फरकलाई पनि आकर्षित गर्छ ।”    अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रङ्गमञ्चअन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनारलगायत अन्य क्रियाकलापहरू हुनेछन् । 

  पोखरा । पोखराका बुद्ध चोकस्थित यु एण्ड मि रेष्टुरेन्टमा जुवा खेल्दै गर्दा प्रकाउ परेका ९ जनालाई ६ दिनको म्याप थप गरि अनुसन्धान अगाडी बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुनर अन्र्तगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा प्रकाउ परेका ९ जनालाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेको हो ।    पोखरा महानगरपालिका १० बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको यु एण्ड मि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई नगद २ लाख १५ हजार २ सय ५० , सिसीक्यामेराको हार्डडिक्स, मनिटर सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    प्रहरीका अनुसार प्रकाउ पर्नेहरुमा  पोखरा बुद्धचोक बस्ने ४५ वर्षिय कुमार कार्की , पोखरा ११ बस्ने ४६ वर्षिय मिलेन्द्र कुमार रन्जित, गोरखाका ३३ वर्षिय सन्तोष पाण्डे, पोखरा छिनडाँडाका ४६ वर्षिय श्रीराम आले , पोखरा शान्तिमार्गका ४५ वर्षिय ओमबहादुर नेपाली,  स्याङ्जा विरुवा गाउँपालिकाका ४९ वर्षिय खोमबहादर थापा, मकवानपुर हेटौडाका ५२ वर्षिय भरतप्रसाद न्यौपाने, नवलपरासी बर्दघाटका ४२ वर्षिय जितबहादुर सारु र पर्वत जलजलाका ३६वर्षिय शिव सुवेदीलाई नगद सहित प्रकाउ गरेको थियो ।

  बागलुङ । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आउनुभएको छ ।   उहाँले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाउन भयो । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ । उहाँ भन्नुहुन्छ, “कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरु पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।”    तेइस वर्ष भारत र २२ महिना कतारमा बिताउनुभएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गर्नुभएको छ । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उहाँका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताउनुहुन्छ  “अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।”   कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उहाँको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेल बताउनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको जनाउँदै रु ५० हजार बराबरको टिमुर बिक्री गर्ने उहाँ बताउनुहुन्छ । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ ।   “गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ, बजार अभाव छ, थोक व्यापारी आउँदैनन्, खुद्रा व्यापारले उत्पादन खेर जाने देख्छु”, उहाँ भन्नुहुन्छ, “कागती मात्रै भए पनि हुन्थ्यो, अहिले त सुन्तला र टिमुर पनि थपिएको छ, कहाँ लगेर बेच्ने हो रु, गाह्रो पर्ला जस्तो लागेको छ ।” उहाँले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुक समेत बजारमा पठाउने गर्दै आउनुभएको छ । चुक ९कागती०को रस खासगरी तराईमा बढी बिक्री हुने गरेको उहाँको भनाइ छ ।    निसीखोला गाउँपालिका–६ का ३७ वर्षीय लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । सात वर्षदेखि निरन्तर कागती खेती गर्दै आउनुभएका कुँवरले यस वर्ष चार लाख बढीको कागती बेच्ने सोचमा हुनुहुन्छ । आठ सय कागतीका बोटमध्ये झण्डै पाँच सय बोटले फल दिन थालेको उहाँको भनाइ छ । अर्को वर्ष कागतीको उत्पादन दोब्बर हुने उहाँ बताउनुहुन्छ ।   “यस वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब छ सय बिरुवाले फल दिने अनुमान गरेको छु, यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ”, उहाँ भन्नुहुन्छ, “मेरो बारीमा दुई जातका कागती छन्, एउटा जातको कागतीले बाह्रै महिना फल दिन्छ, अर्कोले वर्षमा दुई पटकसम्म फल दिन्छ, यसले गर्दा वर्षभरि थोरै भए पनि आम्दानी हुने अपेक्षा गरेको छु ।”   कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा दुई सय १० जना कृषकले व्यावसायिकरुपमा कागती खेती गरिरहेको बताउनुभयो । बागलुङको माथिल्लो भेगबाहेक धेरै ठाउँमा कागती खेती गर्नका उपयुक्त हुने भट्टराईले बताउनुहुन्छ ।   “पछिल्लो समय बागलुङमा कागती खेती गर्ने कृषक बढ्दै गएका छन्, जिल्लामा अघिल्लो वर्षसम्म निकै कम सङ्ख्या थियो, अहिले दुई १० जनाले व्यावसायिकरुपमै यसको खेती गर्नुहुन्छ,” उहाँ भन्नुहुन्छ, “बागलुङका अधिकांश क्षेत्र कागती खेतीका लागि उपयुक्त मानिन्छ, धेरैले कागती खेतीमा चासो देखाएपछि जिल्लाको धेरै पालिकामा कागती पकेट क्षेत्र पनि घोषण भएका छन् ।”   भट्टराईका अनुसार सात सयदेखि एक सय छ सय मिटरको उचाइमा कागती खेती निकै राम्रो हुने गर्छ । बागलुङमा कागती खेतीको प्रवद्ध्र्रन विस्तारै हुन थालेको उहाँ बताउनुहुन्छ । “कागती खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले सहयोगसमेत गर्दै आएको छ, अहिले विस्तारै यहाँ कागतीको प्रवद्र्धन हुँदैछ, अब हरेक वर्ष बागलुङमा कागती उत्पादन बढ्ने देखिन्छ”, उहाँ भन्नुहुन्छ ।   जिल्लामा हरेक वर्ष कागती र सुन्तला गरी तीन सय ५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने र यसबाट राम्रो आम्दानी गर्न सक्ने हुँदा कृषकलाई कृषि ज्ञान केन्द्रले प्रोत्साहित गरिरहेको उहाँ बताउनुहुन्छ ।

  रामपुर । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् ।              पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलसी हेर्न र सिक्न लायकको विद्यालय बनेपछि संस्थागत विद्यालय छाडेर यहाँ अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण छ ।              भारत गुजरातस्थित एक राम्रै बोर्डिङ स्कुलबाट एसइईसम्मको शिक्षा लिनुभएकी सञ्जना उचै यस वर्ष कक्षा ११ मा रामतुलसी माविमा विज्ञान सङ्कायमा भर्ना भई अध्ययनरत हुनुहुन्छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भए पनि शिक्षामा अब्बल विद्यालय भएकाले उच्च शिक्षाका लागि भारत छाडेर रामतुलसीमा भर्ना भएको उहाँले बताउनुभयो ।              उहाँ भन्नुहुन्छ, “गुजरातमा राम्रै बोर्डिङ स्कुलमा पढेको थिए, नेपालमै बसेर सामुदायिक विद्यालयमा पढ्ने रहर जाग्यो, त्यसमा पनि गाउँमै सञ्चालन भइरहेको यस विद्यालय हामीले खोजे जस्तै पठनपाठन हुँदोरहेछ, यहाँको वातावरणले मलाई शिक्षामा आकर्षित बनायो ।”               सामुदायिक भए पनि बोर्डिङ स्कुलको तुलनामा धेरै सुविधा, गुणस्तरीय शिक्षा भएकाले आफ्नो रोजाइमा यसै विद्यालय परेको कृति अधिकारी बताउनुहुन्छ । उहाँ पनि संस्थागत विद्यालय छाडेर एसइई उत्तीर्णपश्चात यस विद्यालयमा आउनुभएको हो । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमूना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ ।               यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ । घरमै बसेर न्यूनतम् शुल्कमा गुणस्तरीय प्रविधिमैत्री शिक्षा लिन पाइने, पढ्नका निम्ति अन्यत्र जाने झमेला गर्नु नपर्ने, अर्कोतर्फ विद्यालयको शैक्षिक वातावरणले आकर्षित बनाएको विशाल चौबै बताउनुहुन्छ ।              “सहर बजारका ठूला विद्यालयमा पढाइ हुने विषय यहाँ छन्, आफूले इच्छा गरेको विषयवस्तु यहीँ पढ्न पाएपछि अन्यत्र जानु परेन, पढाइमा कम खर्च, विषयानुसार आवश्यक पर्ने सबै प्रविधिको सुविधा विद्यालयले उपलब्ध गराएको छ, अनुभवी शिक्षकबाट शिक्षण कार्यले पढाइसँगै यहाँ आएपछि विषयवस्तुभित्रका मात्र नभई बाहिरी धेरै ज्ञान सीप सिक्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो ।             विद्यालयको प्रवेशद्वारभित्र पसेपछि नपढ्नेलाई पनि पढ्नुपर्छ भन्ने खालको वातावरण यहाँ पाइएको उहाँको भनाइ छ । यहाँ हरेक वर्ष एक सय ५० का दरले विद्यार्थी बढिरहेका छन् । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले रामतुलसी विद्यालयप्रति लिएको विश्वास, न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ, प्रधानाध्यापक बालकृष्ण लम्साल ।              “विद्यार्थीको चौतर्फी सिकाइमा विद्यालयले कुनै सुविधा कञ्जुस्याइँ गरेको छैन, पारिवारिक वातावरणमा शिक्षण कार्य भइरहेको छ, संस्थागतमा पढेका विद्यार्थी यहाँ आउनेक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो, “बिहान साँझको समयमा अब विद्यालयमा आध्यात्मिक चिन्तन र सङ्गीतको शिक्षा सञ्चालन गर्ने, विद्यालयको प्रवेशद्वारभित्र पसेपछि पानीको फोहोरासहितको पोखरी निर्माण, शिव पार्वतीको मूर्ति स्थापना गर्ने योजना छ” ।              भूगोलको हिसावले शहरोन्मुख, बजार नजिकै विद्यालय, अन्यत्र विद्यालयमा पढाई नभएका विषय यहाँ सञ्चालन, तीन वर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा सङ्कायमा पठनपाठन भइरहेको छ । यहाँको वातावरण र व्यवस्थापकीय पक्ष राम्रो हुँदै जाँदा विद्यार्थीको आकर्षण बढेको हो । नमूना विद्यालयको पाँचौँ वर्षमा विद्यालय प्रवेश गरेको छ ।              समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जाँदा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउनुहुन्छ । उहाँका अनुसार मन्त्री, सरकारी तवरमा उच्च तहमा पुगेका कर्मचारी, विभिन्न क्षेत्रमा धेरै जनशक्ति उत्पादन गर्ने पुरानो हाइस्कुलले चिनिएको रामतुलसी नमूना माविले अहिले शैक्षिक क्षेत्रमा नौलो आयाम बनाउन सफल भएको छ ।              “शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयले दक्ष जनशक्ति छनोट, विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढुँपढुँ बनाउने खालको शैक्षिक वातावरण तयार पारिएको छ,  हामीले कसरी हुन्छ विद्यार्थीलाई खुसीका साथ पढ्ने वातावरण बनाइदिएका छौँ, अहिले विद्यार्थीको चाप धेरै छ, व्यवस्थापन पक्षबाट शैक्षिक कार्यमा कुनै कमी हुन दिएका छैनौँ”, उहाँले भन्नुभयो ।               रामपुर नगरपालिकाले नगरभित्रका विद्यालयमा शिक्षामा समानुपातिक बजेट बाँडफाँट नगरेको हुँदा अव विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट उपलब्ध गराउनु पर्ने अध्यक्ष पौडेलको माग छ । धेरै विद्यार्थीले पढ्ने यस विद्यालयमा नगर सरकारले चासो दिएको पाइँदैन ।             हाल यस विद्यालयमा १०२ शिक्षक, कर्मचारी कार्यरत छन् । यसमध्ये सरकारी दरबन्दीका ३० जना शिक्षक कार्यरत छन् । बाँकी सबै निजी स्रोतका शिक्षक, कर्मचारी हुन् । मासिक रु १३ लाख रकम निजी स्रोतका शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन विद्यालयले आन्तरिकरुपमा नै गरिरहेको छ । विद्यालयको विभिन्न जग्गा तथा सटर भाडाबाट वार्षिक रु तीन लाख आम्दानी हुन्छ ।              कक्षा ११ र १२ अन्तर्गत शिक्षा र व्यवस्थापनका विषय बिहान, विज्ञान विषय दिउँसोमा चलिरहेको छ । कक्षा ११ र १२ का सबै विषय दिउँसोमा चलाउन विद्यार्थी सङ्ख्या बढी भएकाले कक्षाकोठाको अभाव रहेको विद्यालयले जनाएको छ । दिउँसोमा ६५ वटा कक्षा नियमित चलिरहेको छ । दुईवटा स्कुल बस दैनिक सञ्चालनमा ल्याइएको छ । विद्यालयका एक सय २० कोठामध्ये एक सय कोठा शैक्षिक प्रयोजनमा छ ।             गत आर्थिक वर्षमा व्यावसायिक शिक्षा अभिवृद्धि परियोजनाअन्तर्गत विनियोजित रु ३२ लाख सहयोगमा अत्याधुनिक खालको कम्प्युटर ल्याब तयार पारिएको छ । जहाँ एकै पटकमा ३० जना विद्यार्थीले प्रयोग गर्न मिल्ने खालको संरचना तयार छ । यहाँ कक्षा ८ देखि १२ सम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न तीन सय मानिस अट्ने क्षमताको चमेना गृह व्यवस्थापन गरिएको छ ।              अति न्यून शुल्क लिएर संस्थागत विद्यालयले दिने सबै सेवासुविधा उपलब्ध गराइएको र यस विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने कोशिसमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले बताउनुभयो ।      विद्यालयमा प्राथमिक उपचारका लागि एक जना नर्स र प्रवेशद्वारभित्र पस्ने बित्तिकै सुरक्षा कर्मचारी परिचालन गरिएको सदस्य श्रेष्ठ बताउनुहुछ । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स कर्मचारीको व्यवस्था गरिएको हो ।             हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अबदेखि भने अङ्ग्रेजी माध्यमअन्र्तगत पनि विशिष्टीकृतरुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ । विशिष्टीकृत शिक्षा प्रदान गर्न पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेको समितिले जनाएको छ ।             रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चौर, बगैँचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योति प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ ।              तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योति छरेको छ । अहिले पनि हाइस्कुल भनेपछि धेरैको बुझाइमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ ।              यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमूना पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको राम्रो सुविधा छ ।

  तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उहाँमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् ।       कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताउनुभयो । “पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “परीक्षण गरेर मात्रै खानुपर्ने रहेछ भन्ने अष्ट्रेलियामा पुगेपछि देखियो । त्यसैले अचेल हत्तपत्ति बाहिरको खान्न भने पनि हुन्छ ।”     “अष्ट्रेलियामा सडक किनाराको फलफूलसमेत कसैले नखाने रहेछन्”, नागिलाले भन्नुभयो, “किन नखाएको भनेर छोरालाई सोधेको त जाँचेर खानयोग्य भए मात्र खाने चलन छ रे । तर हाम्रोमा हामीलाई खान पाए भयो । खराब खानेकुराले स्वास्थ्यमा ठूलो हानि गर्ने रहेछ भन्ने कुरा बुझियो ।” नेपालमा तरकारी, फलफूल, मिठाइ, खुला मसला जथाभावी राख्ने चलन भएकाले ती खानेकुरा खाँदा सचेत हुन नागिलाले सबैलाई आग्रह गर्नुभयो ।      व्यास–२ दमौली निवासी ५१ वर्षीया कृष्णदेवी अधिकारीको दैनिकी पनि फेरिएको छ । खाद्यान्न पसलमा मसला किन्दै गर्दा भेटिनुभएकी अधिकारीले प्याकेटमा अङ्कित उत्पादन र सकिने मिति हेरेर मात्र खाद्यान्न किन्ने गरेको बताउनुभयो । “सडक पेटीमा खुला ठाउँमा राखेर धुलाम्य भएका खानेकुरा खान्न”, उहाँले भन्नुभयो, “खानै परे प्याकेटमा राम्रोसँग लेवल हेरेर मात्रै खानेकुरा किन्ने गरेको छु ।”      केही वर्ष पहिले छोरा मिलनले बोलाएर अष्ट्रेलिया र छोरी सन्ध्याले बोलाएर अमेरिका घुमेर आएपछि खाद्यान्नमा सचेतना बढेको अधिकारीले बताउनुभयो । “हामीहरु खानेकुरामा खासै ख्याल गर्दैनौँ”, उहाँले भन्नुभयो, “जथाभावी खाएपछि शरीरमा असर धेरै हुन्छ भन्ने हेक्का गर्नुपर्ने रहेछ ।” क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि जथाभावी विषादी हालेको खानेकुराले गर्दा हुने आफूले थाहा पाएको अधिकारीले बताउनुभयो । तरकारी राम्रोसँग पानीमा पटकपटक धुने गरेर मात्र खाने गरेको उहाँले जानकारी दिनुभयो ।           पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ । उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष परमेश्वर गुप्ताले बताउनुभयो । “ग्राहकले अचेल खुला किन्न छाडेर लेबल भएको सामान किन्ने गर्नुहुन्छ”, सङ्घका अध्यक्ष गुप्ताले भन्नुभयो, “ग्राहकको रोजाइ नै लेबल भएको खाद्यान्नमा पर्न थालेपछि हामीले पनि खुला बिक्रीलाई कम गर्दै गएका छौँ ।” खुला खाद्यान्नलाई आफूहरुले सिसाभित्र राखेर बिक्री गर्ने योजना बनाएको व्यास नगरपालिका–३ दमौलीस्थित गुप्ता किराना पसलका सञ्चालनसमेत रहनुभएका उहाँले बताउनुभयो ।      तनहुँको दमौली, दुलेगौँडा, डुम्रे, खैरेनीटार, भिमाद, आँबुखैरेनी जस्ता मुख्य बजारमा करिब ५०० खुद्रा पसल रहेको तनहुँ खुद्रा व्यवसायी सङ्घले जनाएको छ । जिल्लाभरि खाद्यान्न र तरकारी गरी दैनिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको सङ्घले जनाएको छ ।       युरोपलगायत विदेशमा रहेका आफन्तलाई भेट्न जाँदा देखासिकीले उपभोक्ता सचेतना बढेको आफूले पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोखरेलले बताउनुभयो । “प्रायः अनुगमनका क्रममा विदेशमा यस्तो हुने रहेछ भन्ने कुरा उपभोक्ताले भन्नुहुन्छ”, पोखरेलले भन्नुभयो, “उपभोक्ता अधिकार गम्भीर विषय हो भन्ने हेक्का धेरैलाई हुँदै गएको छ ।”      तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वी नवरपरासीमा गरिने अनुगमनका क्रममा आफूहरुले लेवलमा उत्पादन र सकिने मिति प्रष्टसँग देखिनेगरी उल्लेख भएका खाद्यान्न मात्र बिक्री गर्न बिक्रेतालाई भन्दै आएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । आफूहरुले मिठाइ, मसलालगायतका दैनिक उपभोग्य सामग्री खुलारुपमा बिक्री नगर्न र बिक्री गर्नु परे सिसाभित्र राखेर मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो ।