कास्की : नेपाल छन्त्याल युवा संघ कास्कीको अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको १२ औ साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनबाट मोहन छन्त्यालको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ समिति चयन भएका हुन् । सो समितिको उपाध्यक्षमा सुजन छन्त्याल चुनिए भने कुशलतापूर्वक कार्यसम्पादन गरेको भन्दै सचिवमा नवीन छन्त्याल निर्वाचित भए । यसैगरि सो समितिको कोषाध्यक्षमा मविना छन्त्याल चयन भइन् । भने सदस्यहरुमा राम छन्त्याल, ठम बहादुर छन्त्याल, चन्द्र बहादुर छन्त्याल, श्रीप्रसाद छन्त्याल, नितु छन्त्याल र रञ्जिता छन्त्याल चुनिएका छन् । सुबेदार धन बहादुर भलञ्जा छन्त्यालको नेतृत्वमा रहेको नेपाल छन्त्याल संघ कास्की र माया तथप्जा छन्त्यालको नेतृत्वमा रहेको महिला समिति भने सर्वसम्मत यथावत राखिएको युवा समितिका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार छन्त्याल समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पोखरा ३ नदीपुरको आफ्नै खेलमैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही अनुरुप यस वर्ष पनि तयारीमा जुटेको नवनिर्वाचित सचिव छन्त्यालले बताए । ‘हामीले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो वर्षपनि हामीले मेला गर्ने भनेर तयारी छौं । के कसरी अझ ऐतिहासिक मेला गर्न सक्छौं भनेर कसरतमै लागिराछौं ।’ मौलिक संस्कृति जोगाउन देउसी– भैलोको तयारी तिहारको अवसरमा गाउँघरमा खेलिने देउसी भैलोको संरक्षण गर्ने उद्देश्यले नवनिर्वाचित समितिले पोखरामै देउसी भैलो खेल्ने निर्णय गरेको सचिव छन्त्यालले बताए । पछिल्लो समय कला संस्कृतिको संरक्षणको नाममा विकृती बढेको बताउदै उनले मौलिकता झल्कने गरि देउसी भैलो कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । ‘हामीले आफ्नो समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो वर्षपनि देउसीभैलो खेल्ने निर्णय गरेका छौं, छन्त्यालले भने, ‘त्यसैले हामी सोही अनुरुप नै तयारी पनि थालेका छौं । यसले हाम्रो अस्तित्व र मौलिकताको संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।’ छन्त्याल युवा संघद्वारा आयोजित विभिन्न कार्यक्रममार्फत संकलित रकमको केही हिस्सा असहाय तथा बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा निर्माण हुने भएको हो । सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ । विद्यालयसँगै सग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ । गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गिय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ र चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए । ‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन, उनले भने, ‘उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’ यसैगरि सो विद्यालयको निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे । ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ । मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ, उनले भने, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’ उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत बताएका थिए । घान्द्रुकको विकासमा शिक्षाको फरक योगदान रहनेछः पूर्वराज्यमन्त्री गुरुङ अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको बिहिबार शिलान्यास पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए । ‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन, उनले भने, ‘त्यसकारण बौद्ध शिक्षाको लागि शहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ । उनले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे । ‘विश्वमा नै अहिंसा बढ्दै छ, सबैलाई शान्ति चाहन्छ त्यसैले बौद्ध धर्म र शिक्षाको महत्व बढ्दै छ, शान्तिबाट नै सबैको महिमा कायम हुन्छ ।’ पूर्वराज्यमन्त्री गुरुङले भने । त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए । ‘समाज परिवर्तन गर्न शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । हत्या हिंसाले समाज परिवर्तन हुदैन शान्ति स्थापना गर्न सके मात्र समाजको विकास हुन्छ, उनले भने, ‘त्यसैले शान्ति पाउन बौद्ध ज्ञान अनिवार्य छ ।’ सो विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भुतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । अब विद्यालय निर्माण समितिले आर्थिक संकलनलाई तिब्रता दिने बताइएको छ ।
लमजुङ : भूगोलविद् डा हर्क गुरुङका जन्मस्थलमा डा हर्क गुरुङ उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकार र मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मस्र्याङ्दी–७ मा उद्यान निर्माण भइरहेको डा हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार साढे पाँच रोपनी जग्गामा हालसम्म समाधिमा ढुङ्गाको छपनी बिच्छाउने, प्याराफिट निर्माण सम्पन्न भएको छ, भने, बगैँचा निर्माण भइरहेको वृक्षरोपण लगाउने र दुबो लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७४/२०७५ देखियता प्रदेश सरकारले रु १० लाख र गाउँपालिकाबाट रु १४ लाख गरी २४ लाख बजेटमा विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाधिस्थलसँगै उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९ डिपिआर० तयार भइसकेको छ भने, यस वर्ष सङ्घीय सरकाबाट १५ लाखको योजना परेको छ ।” यस रकमबाट शौचालय बनाउने र अन्य संरचना बनाउने भएको छ । उद्यान १० रोपनीमा निर्माण हुने भएको छ । उद्यान निर्माणका लागि रु छ करोड ३१ लाखको डिपिआर तयार भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पुस्तकालय, डा गुरुङको शालिक, सङ्ग्रहालय, डा गुरुङका सामग्री प्रदर्शन कक्ष, सभा हल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने जनाएको छ । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते ९२००६, सेप्टेम्बर २३० को दिन हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाले एकै पटक ज्यान गुमाउनुपरेको थियो । डा गुरुङको १६ औँ स्मृति दिवसका अवसरमा आज लमजुङ बेँसीसहरमा निर्माण गरिएको शालिकमा विभिन्न व्यक्तिद्वारा माल्यार्पण गर्दै सम्झना गरिएको छ ।
पोखरा: नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको रु २० अर्ब खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिनुभयो । उक्त जलासययुक्त आयोजनाबाट एक सय ५० मेगावाट जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो । विसं २०७४ मा सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो । बेगनास तालमा भइरहेको पानीको सतहलाई एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रुपातालको छेउमा विद्युत्गृह निर्माण गरी गृहबाट निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ । उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिनुभयो । बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा विद्युत्गृह सञ्चालन गर्न सजिलो भएको छ । दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ । बेगनास भन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्ने छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिकांश सरोकारवाला निकायका व्यक्तिले वातावरणीय तथा सामाजिक प्रभाव नहुने गरी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । स्थानीय सरकोकारवाला समेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय जनताको सहमति र उनीहरूलाई नै रोजगारीमा सहभागी गराई आयोजना सञ्चालन गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका ऊर्जा सचिव डा सन्तोष कैनीले ‘पीक आवर’का समयमा विद्युत् उत्पादन गर्नका लागि भनेर आयोजनाले घाटाको योजना सञ्चालन गर्न नहुने बताउनुभयो । स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत् आयोजनाका नाउँमा बस्ती नै डुब्ने सिञ्चाइ नै बन्द हुने किसिमबाट आयोजना सञ्चालन हुन नुहने बताउनुभयो । साथै उहाँले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले बेगनास तालको पानीले आठ सय ८० हेक्टर जमिन सिँचाइ भएको र विद्युत् आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट बञ्चित हुन नहुने बताउनुभयो ।
तनहुँ । युवाशक्ति विदेशिँदा गाउँघरका खेत बाँझो हुने क्रम बढेको छ । घरमा ज्येष्ठ नागरिक, महिला र बालबालिका मात्रै हुँदा खेतबारीमा खेती गर्ने क्रम घट्दो अवस्थामा छ । उर्बरभूमि बाँझो राखी बजारबाट खाद्यान्न खरिद गरी उपभोग गर्ने क्रम बढेको छ । बाँझो रहेका जग्गालाई पुनः उर्बर बनाउन तनहुँका स्थानीय तह र कृषिसँग सम्बन्धित निकायले प्रोत्साहन गर्ने नीति ल्याएका छन् । बाँझो जमिन उपयोग गरी खेती गर्नेलाई अनुदान दिने व्यवस्थाले कृषकहरू यसतर्फ आकर्षित हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्र तनहुँले बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम अगाडि बढाएको छ । यसका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिएको ज्ञान केन्द्रका प्रचार–प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो । यो कार्यक्रममा कृषक, कृषि फार्म, कम्पनी, समूह, सहकारी संस्था सहभागी हुन पाउनेछन् । बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी रु पाँच हजारका दरले अनुदान प्रदान गरिनेछ । कार्यालयले चालु आर्थिक वर्षमा १० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन गर्ने सिलवालले बताउनुभयो । पहिले खेती गरिएका तर विविध कारणले विगत कम्तीमा तीन वर्षदेखि बाँझो रहन गएका जग्गा भाडामा वा स्वयं धनीले जग्गामा पुनः खेती गरे अनुदान दिइने उहाँले बताउनुभयो । “गाउँघरमा प्रशस्त जग्गा हुँदाहुँदै पनि युवाशक्ति विदेशिनु, बसाइँसराइ गरी सहर फिर्नुलगायतका कारणले जग्गा बाँझो हुने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “बाँझो रहेको जग्गालाई प्रयोग गरी खेती गराउन प्रोत्साहनको नीति अगाडि सारिएको हो ।” उहाँका अनुसार न्यूनतम तीन रोपनी क्षेत्रफल भएको बाँझो जग्गामा व्यावसायिक खेती गर्नुपर्नेछ । ज्ञान केन्द्रले आलु खेती प्रवद्र्धन विशेष कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानको व्यवस्था मिलाएको छ । यसका लागि रु २४ लाख बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत सञ्चालन गरिनेछ । कार्यक्रम सञ्चालनका लागि प्रत्येक क्लष्टरमा कम्तीमा १० घरधुरी संलग्न हुनुपर्ने, छनोट भएका क्लष्टरमा प्रत्येक घरधुरीले कम्तीमा थप तीन रोपनी क्षेत्रफलमा खेती लगाउनुपर्ने मापदण्ड बनाइएको छ । आलुखेतीका लागि आवश्यक बीउ, यन्त्र, उपकरण खरिद, सिँचाइ व्यवस्थापन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ, सामग्री खरिद, भण्डारण र बजारीकरणमा क्षेत्रमा काम गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । यसका लागि रु २४ लाख बजेट विनियोजन गरिएको छ । दलित, महिला, जनजाति, मुस्लिम, पिछडिएको वर्गलाई प्राथमिकता दिई यो कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा सहभागी हुने फार्म, कम्पनी, कृषकले कम्तीमा दुई रोपनी क्षेत्रफल वा न्यूनतम दुई सय वर्गमिटर क्षेत्रफलको प्लाष्टिक घरभित्र वर्षमा कम्तीमा दुई सिजन तरकारी खेती गरेको हुनुपर्ने जनाइएको छ । शुक्लागण्डकी नगरपालिकाले पनि बाँझो जमिन उपयोग प्रोत्साहन कार्यक्रम ल्याएको छ । विविध कारणले तीन वर्षदेखि बाँझो रहेको न्यूनतम तीन रोपनी क्षेत्रफल भएको जग्गामा खेती गरेवापत प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । “नगरपालिकाभित्र बाँझो रहेका जमिनमा खेती गराउनका लागि आकर्षित गर्ने उद्देश्यस्वरुप अनुदानको कार्यक्रम अगाडी बढाइएको हो,” उहाँले भन्नुभयो, “यो कार्यक्रममार्फत् बाँझो जमिनमा खेती गर्न कृषकको आकर्षण बढ्ने विश्वास गरेका छौ ।” नगरपालिकाले चालु आर्थिक वर्षमा नै कृषकलाई अनुदानमा कृषि उपकरण वितरणको तयारी थालेको छ । पचास प्रतिशत अनुदानमा हाइटेक तरकारी प्लाष्टिक घर निर्माण, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण, ५० प्रतिशत अनुदानमा असिना छेक्ने जाली वितरण, ५० प्रतिशत अनुदानमा मौरीघार वितरण र कृषि यान्त्रिकरण वितरणको कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्नुहुन्छ । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । वृद्ध अवस्थामा पनि उहाँको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उहाँले बताउनुभयो । “पानी पर्यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।” उहाँले भन्नुभयो, “मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट दैनिक पाँच सय जति आम्दानी हुन्छ ।” दोधारा चाँदनीबाट प्रतिकेजी रु ४० मा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताउनुभयो । “पोलेको मकै एउटा रु २५ मा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।” उहाँले भन्नुभयो,“मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ । ” विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उहाँ एकल हुनुभयो । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । “एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।” उहाँले भन्नुभयो–“अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।” धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आउनु भएको छ । “छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,” उहाँले भन्नुभयो–“अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।” छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताउनुभयो । “जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,” उहाँले भन्नुभयो,“दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।” सानै उमेरमा बिहे गर्नुभएकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताउनुभयो । “अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।” उहाँले भन्नुभयो,“सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।” जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताउनुभयो । उहाँ जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहनुभएको छ । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आउनु भएको छ । “अन्य रोजगारी केही छैन पोलेको कमै बेचेर जीवनयापन गरिरहेका छौँ ।” उहाँले भन्नुभयो । “खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।” पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । “बुढाबुढी दुबैको कमाइ दिनको रु एक हजार ५०० जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।” उहाँले भन्नुभयो–“छोराछारीको स्कुल खर्च पनि यसैबाट चलेको छ ।” महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ ।
गलकोट । पछिल्लो समय आध्यात्मिक योग र ध्यानप्रति नागरिकको आकर्षण बढ्न थालेको छ । ओशो सन्यासी, पतञ्जली योग तथा आयुर्वेद औषधालयअन्तर्गत पछिल्लो समय बागलुङमा ध्यान, योग र साधना अभियान सञ्चालन हुँदै आइरहेको छ । दुई जनाबाट सुरु भएको बागलुङस्थित ओशो अमृतम ध्यान केन्द्रमा अहिले एक सयभन्दा बढी ओशो सन्यासीले ध्यान, योग र साधना गरिरहेका छन् । यस्तै धवलागिरि आयुर्वेद औषधालयको सभाहलमा अहिले नियमित योग कक्षा सञ्चालन भइरहेको छ । उक्त योगकक्षा जुममार्फत घरमै बसेर गर्न सकिन्छ । यस्तै पतन्जली योग समितिद्वारा राधाकृष्ण मन्दिरको सभाहलमा प्रत्येक बिहान योग तथा ध्यान कक्षा सञ्चालनमा आइरहेको छ । योग तथा ध्यानले मनको तनाव हटाएर मानिसलाई आनन्द दिलाउने र शारिरीकरूपमा स्फूर्ति ल्याउने भएकाले पछिल्लो समय बागलुङमा योग, ध्यान र सानधाप्रति आकर्षण बढिरहेको आयुर्वेद औषधालयका डा सरोज रायले बताउनुभयो । “हामीले झण्डै एक वर्षदेखि योगकक्षा चलाइराखेका छौँ, दैनिक २० देखि २५ जनाले योगशिक्षा लिइराखेका छन्, कतिपय बिरामीलाई हामीले एक हप्ताको योगशिक्षा दिएर घरमै बसेर गर्न लगाएका छौँ, योगपछि अस्पतालमा आएका बिरामीमा सकरात्मक प्रभाव पारेकोे छ”, उहाँले भन्नुभयो, “कोरोनाको बेलामा हामीले जुममार्फतसमेत योग सिकाएका थियौँ, अहिले हाम्रो ध्यान अस्पतालमा विभिन्न समस्या लिएर आएका बिरामीलाई योग सिकाएर पठाउनेतर्फ लागेको छ, जिल्लामा ओशो अमृतम तथा पतञ्जली योगलगायतले योग तथा ध्यान गराउँदै आएको छन्, पछिल्लो समय योग र साधनाको फाइदाका विषयमा नागरिकले थाहा पाएपछि यसतर्फ आकर्षण बढ्दै गएको हो ।” डा रायका अनुसार यसबाट शारीरिक रोगबाट मुक्ति, आत्मबल बढाउने, मानसिक रोगबाट मुक्ति, अनिद्रा नहुने, मांसपेशीलाई तन्दुरुस्त बनाउने, ग्यास्ट्रिकलगायतको रोगबाट छुटकारा पाउन सकिन्छ । योगका आठ स्तम्भमध्ये बागलुङमा ध्यानलाई समेत महत्वपूर्ण विषयका रूपमा लिइँदै आइएको छ । मानिसले घरमै युट्युब हेरेरै भए पनि योग तथा ध्यान गरिरहेको पाइएको छ । यस्तै योग, आध्यात्म र स्वास्थ्यलाई एकैसाथ अँगालेको ओशोको ध्यानबाट पछिल्लो समय सन्यासी बन्नेहरूको लहर बढेको छ, ध्यानका माध्यमबाट तनाव र कुण्ठाबाट मुक्त हुनाका साथै मानिसमा सकारात्मक भाव बढेको छ । जिल्लामा दुई जनाबाट सुरु भएको ओशो ध्यान अभियानमा अहिले बढी नागरिक जोडिएका छन् । ओशो अमृतम ध्यान केन्द्रमा अहिले नियमित ध्यान हुने गरेको छ । ओशो तपोवनका संस्थापक आध्यामिक गुरु स्वामी आनन्द अरुणको निर्र्देशनमा दिनमा २४ घण्टामध्ये एक घण्टा ध्यानलाई छुट्याउने गरिएको ध्यान केन्द्रकी सञ्चालिका ज्योत्सना शाक्यले बताउनुभयो । उहाँले अबको सयम सन्यासी बनेर मागेर हिँड्नुपर्दछ भन्ने खालको नरहेर एउटा सन्यासीले बाँडेर खानु पर्दछ भन्ने मान्यता तर्फ आर्कषित भइरहेको बताउनुभयो । “आशो सन्यासीहरूलाई काम छोड्नु, अध्ययन छोड्नु र पेशा व्यवसाय छोड्नु भन्दैनौँ, आफ्नो पेशा–व्यवसायमा कटिबद्ध रहँदै देशलाई आर्थिक विकासमा अगाडि बढाउन र वातावरण जोगाउन सहयोग गर्ने हाम्रो उद्देश्य हो, २४ घण्टाको समयमा जम्मा एक घण्टा ध्यान, योग र प्राणयमलाई दिनसके जीवन निकै आनन्दमय भएको आभास हुनेछ”, उहाँले भन्नुभयो, “भौतिक सुख, सुविधा त्यागेर कुटीमा बस्नुमात्रै सन्यासी होइदैन भन्ने ओशो रजनीशको शन्देश रहेकाले आफ्नो जीवन, कर्मलाई र ध्यान सँगसँगै लैजान सकिन्छ भन्ने मान्यताका साथ ओशोप्रेमीको बढ्दै गइरहेको छ ।” नेपालमा योग तथा ध्यान केन्द्रसमेत खोल्ने कार्यले तीव्रता पाएको छ । पछिल्लो समय वातावरण बिगँ्रदै गएकामा चिन्ता व्यक्त गर्दै ओशो सन्यासीहरूले ध्यानमा मात्रै जोड नदिएर आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पाँचवटा रुख रोप्नुपर्ने नियम रहेको बताउनुभयो । आफ्नो मनमा भएको कुण्ठा, लोभ तथा तनावका कारण मानिसले अमूल्य जीवनलाई बर्वाद पारिरहेको सन्दर्भमा ध्यान र योगका माध्यमबाट आफूलाई खुसी राख्न सकिने ध्यान तथा योगप्रेमीहरूले बताउँदै आएका छन् । संसारभरका एक लाख ३० हजार बढी व्यक्तिलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणको प्रेरणाबाट बागलुङमा पछिल्लो समय ध्यान र योगप्रति आकर्षण बढिरहेको योगी लीला खड्काले बताउनुभयो ।
काठमाडौं । बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भित्रिएका छन् । चाडपर्व नजिएकोले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो । लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउँनकै लागि घर फर्केको बताउनुभयो । “दसैँमा परिवारका सदस्यबीच सबै जना एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार पकाइ खाइ रमाइलो गरी मनाउने गरिन्छ” उहाँले भन्नुभयो, “यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभाश रमाइलोमै वित्छ ।” सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्चाबबाट आएको सुनाउनुभयो । यसरी छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेको पाइन्छ । सूदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका सहरहरुमा जाने गर्दछन् ।
बाँके । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । “कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,” प्रशाकीय अधिकृत डाँगीले भन्नुभयो । यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उहाँले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरुले बीमाको सेवा पाउने बताउनुभयो । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गर्नुभयो । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाकातर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमाङ्क रकम बराबरको जीवन बीमा गरिने छ । यसअघि सो गाउँपालिकाको १२औँ गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’पारित गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो ।

