पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  काठमाडौं । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ ।  सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ ।       घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ ।       बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,” कावासोतीका स्थानीय विनोद सिग्देलले भन्नुभयो, “अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।”      गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उहाँले स्मरण गर्नुभयो । “कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,” सिग्देलले भन्नुभोय, “पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।”      नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ ।  अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।” बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उहाँको भनाइ छ ।      “सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,” पौडेलले भन्नुभयो, “सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।”      गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । “रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,” चापागाईंले भन्नुभयो, “यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।” फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताउनुभयो ।     पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।       दसैँ र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । “हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ”, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भन्नुभयो ।  

  लेखनाथ । सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा—२७, कास्कीको तेश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।    साधारण सभाको उद्घाटन गर्दै, राष्ट्रिय सहकारी वैंक लिमिटेड तालचोक शाखाका प्रवन्धक सन्तोष घिमिरेले जोखिमको पूर्व आंकलन गरेर सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।    प्रवन्धक घिमिरेले पछिल्लो समय एक दुई सहकारीले वित्तिय अनुशासन पालन नगर्दा समग्र सहकारी त्यसको प्रभावमा परेको उल्लेख गरे । सहकारीले आफ्ना सदस्य परिवार भित्र निक्षेप संकलन र कर्जा प्रवाहलाई सुदृढ बनाए वित्तिय जोखिम कम हुने उल्लेख गरे ।    सहकारी संस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्य एवं संचारकर्मी नवराज सापकोटा, सहकारीका सल्लाहकार चन्द्रकान्त पौडेल, बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोला, शेयर सदस्य सुर्यमणि लामिछाने, लेखा समितिका संयोजक बिष्णु सुवेदी, संस्थाका उपाध्यक्ष डम्बर प्रसाद अधिकारी लगायतले सहकारीले शेयर सदस्यलाई बोनस भन्दा पनि सुविधा दिनु पर्नेमा जोड दिएका थिए ।    कार्यक्रममा ७० बर्ष नाघेका झण्डै एक दर्जन जेष्ठनागरिकलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । साधारण सभाले अध्यक्ष चक्रबहादुर शाही र कोषाध्यक्ष सुर्यप्रसाद पौडेलको प्रतिवेदन अनुमोदन गरेको छ ।   

  पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ्गले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यार्थीहरुमा रुपान्तरणको आवश्यकता रहेको औल्याएका छन् ।    त्रिवेणी इन्टरनेशनल कलेज पोखरा—२७ को सातौ बार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै, कुलपति गुरुङ्गले विद्यार्थी संगठनले शिक्षाको विकासमा भन्दा राजनितिक दलको एजेण्डा बोक्दा गुणस्तर खस्कदै गएको उल्लेख गरे ।    गुरुङ्गले सरकारले संचालन गरेका प्रमुख विश्वविद्यालय र मातहतका क्याम्पसहरुलाई राजनितिक अभिष्ट पुरा गर्ने थलोका रुपमा दलहरुले प्रयोग गरी पढाई भन्दा लामोसमय बन्द हड्तालमा उत्रदा शैक्षिक तालिका प्रभावित भएको बताए ।     कुलपति गुरुङ्गले मुलुकका प्राय सवै प्रधानमन्त्री र दोश्रोपुस्ताका नेताहरुलाई भेटेर विद्यार्थी संगठनलाई शैक्षिक रुपान्तरणमा प्रयोग गर्न आफुले सुझाव दिए पनि कार्यन्वयन नभएको उल्लेख गरे ।      गुरुङ्गले जवसम्म विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपतिका रुपमा रहने र बालुवाटार वा सिंहदरवारमा सिनेट बोलाउने परम्परा रहँन्छ तवसम्म विश्वविद्यालय राजनितिक छायाँ भन्दा टाढा नरहने बताए । उनले आफुले राष्ट्रपतिलाई भेट्दा समेत विश्वविद्यालयको कुलपति राष्ट्रप्रमुख वा अहिले उपकुलपति भनेर नियुक्त गरिने व्यक्तिलाई नै कुलपति दिईनु पर्ने सुझाव सरकारलाई दिन आग्रह गरेको बताए । विकास निर्माण, मन्त्रालय, विभागलाई निर्देशन र अनुगमन वा प्रत्यक्ष संलग्न हुनुपर्ने प्रधानमन्त्री विश्वविद्यालयको कुलपति भन्दा समस्या सिर्जना भएको समेत गुरुङ्गले बताए ।    कलेजलाई गुणस्तरिय बनाउँन प्राध्यापकहरुको अहम भूमिका हुने उल्लेख गर्दै, प्रविधि र अन्तरक्रियात्मक अध्यापन विधी प्रयोग गर्न सुझाव दिए । कलेजबाट उत्पादित जनशक्ति अनुशासित र मर्यादित हुनु पर्नेमा जोड दिदै, प्राप्त शिक्षालाई संस्कारको रुपमा अघि बढाउन आग्रह गरे ।    पोखरा विश्वविद्यायका पूर्व कार्यवहाक उपकुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले राज्यले नीजि क्षेत्रले शिक्षामा गरेको लगानीको सुनिश्चितता गर्न नसकेको बताए । प्राध्यापक तिवारीले राज्यले आफ्ना विश्वविद्यालय र कलेजलाई प्रतिस्पर्धात्मक पनि नवनाउने र नीजि क्षेत्रले हासिल गरेको उत्कृष्ट नतिजालाई सम्मान पनि गर्न नसकेको बताए । तिवारीले राज्यले रोजगारीको ग्यारेण्टी गर्न नसक्दा दैनिक सयौं बौद्धिक विद्यार्थी विदेश पलायन हुने गरेको उल्लेख गरे ।    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अध्यापनका परम्परागत पद्दतीलाई परिवर्तन गरी प्रविधि र बजारको माग अनुसारको जनशक्ति उत्पादन हुने विषय छनौट गर्नुपर्नेमा जोड दिए ।    उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ नेपाल हिसान कास्कीका अध्यक्ष यम बहादुर रोकाले शिक्षा क्षेत्रमा राज्यले गर्न नसकेको लगानी र सेवा नीजि क्षेत्रले गरिरहेको उल्लेख गर्दै, राज्यले उल्टै कर लिएर हतोत्साही बनाएको उल्लेख गरे ।    रोकाले शिक्षामा सवैभन्दा उत्कृष्ट व्यवस्थापन बिषय भएको उल्लेख गर्दै, त्यसबाट उत्पादित जनशक्ति पनि अब्बल हुने गरेको बताए ।    त्रिवेणी इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, शेयर सदस्य राजेन्द्रमणि लामिछाने, अमरसिद्ध नमूना मा.विका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, कलेजका प्रमुख यदुराज आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष श्रृष्टी तिवारी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामकृष्ण लामिछाने, शेयर सदस्य बलराम ढकाल लगायतले कलेजले पछिल्लो समय लेखनाथ क्षेत्रमा पुर्याएको शैक्षिक योगदानका विषयमा चर्चा गरेका थिए ।    सोही कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराईले आफ्नो तर्फबाट चार जना, लक्ष्मी हाउस पोखराको तर्फबाट पाँच जना, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको तर्फबाट एक जना पावर जिमको तर्फबाट एक जना र संबृद्धि सहकारीका तर्फबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विविएसको अध्ययनको व्यवस्था मिलाईएको जानकारी दिएका थिए । ५४ जना विद्यार्थीबाट लेखनाथमा नीजि क्षेत्रबाट स्नातक तहको अध्यापन शुरु गराएको कलेज अहिले आफ्नै सुविधा सम्पन्न भवन सहित व्यवस्थापन विषयमा स्नाकोत्तर समेत गरेर पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन ।   

  पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भयो ।   कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध,  कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुन बिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।   नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुनःएकिकरण का लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो ।   कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त ब्यबसायीहरुले आफ्नो तवरबाट बिचार प्रस्तुत गरि कार्य योजना अनुसार काम प्रतिबद्धता जनाएका थिए ।   सो गोष्ठीमा आगामी दुई बर्षको लागि स्वास्थ्य र स्वच्छता सम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए  ।   एशियन फोरमका केन्द्रिय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन विज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए ।

   कास्की । फुल कन्ट्याक्ट करातेका रेफ्रिहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ ।   नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजना भएको सेमिनारमा गण्डकी र लुम्बिनी प्रदेश सगै धादीङ ओखलढुङा लगायतका जिल्लाका गरि ३२ जना रेफ्रिहरुको सहभागीता रहेको थियो । खेलका अन्तराष्टिय रेफ्रिहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महजनले खेलका नयाँ नियम सगै भएका अन्य नियमहरुको रिभिजन सगै नयाँ रेफ्रिहरुलाई कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।   शुक्रबार र शनिबार चलेको सेमिनारमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, आयोजक संघका अध्यक्ष शालीग्राम कुँवर लगायतले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण पछि राखेप सदस्य गुरुङले सेमिनारमा सिकको कुराहरु आफनो कार्यक्षेत्रमा गएर लागु गर्न आग्रह गरेका थिए । नवौ खेलकदलाई  भव्य र सभ्य रुपमा सम्पन्न गर्न आ आफनो कार्यक्षेत्रमा गएर लाग्न सहभागीहरुलाई आग्रह समेत गरेका थिए ।   एकेडेमीको ४० हजार नगद र खेल सामग्री सहयोग  कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेका राखेप सदस्य गुरुङले नगद ४० हजार सगै आवश्यक खेल समाग्री कार्यक्रममा हस्तान्तरण गरेका थिए । एकेडेमीका संरक्षक समेत रहेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्र राम्रो बनाउन सगै आवश्यक खेल सामग्रीका कारण पछि परेका खेलाडीलाई सहयोग गर्नका लागि विभिन्न कार्यक्रम गर्न दिएको सुझाव अनुसार सहयोग गरिएको भनाई गुरुङको थियो । एकेडेमीले स्थापनाकालदेखि समस्याका परेका खेलाडी सगै विभिन्न खेल संघहरुलाई सहयोग गदै आएको गुरुङको भनाई थियो ।  

  मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौ देखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।      सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरुले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । पचास रोपनी बढी जमिनमा उनीहरुले खेती गर्दै आएका हुन् ।      परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरु लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताउनुभयो । “करिब १२०० बोट किबी लगाएका छौँ । २०७० साल बाट सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा किबीको मूल्य र माग दुवै रहेको छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।”     “बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युव र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा रु एक करोडभन्दा माथि लगानी लागेको छ”, उहाँले सुनाउनुभयो । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।      “जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दु:ख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ”, दुलालले थप्नुभयो ।    किबीखेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताउनुभयो । “किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एकजना अग्रज बाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । नौ/दश वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फल सुरु गरेका हौँ’, उहाँले भन्नुभयो । किबी फलको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो ।      यो व्यवसाय अन्य बाली भन्दा उपलब्धिमूलक रहेको समेत उहाँले बताउनुभयो । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उहाँ बताउनुहुन्छ ।    मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब छ सय २५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । “पचास प्रतिशत लागत साझेदारीमा गतवर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको रु १५ लाख अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ”, आचार्यले भन्नुभयो ।     सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबीखेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।      किबी खेती समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ ।

  तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो ।   गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।   शैक्षिक गुणस्तरका आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिकाले जनाएको छ । पालिकाका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ ।    ‘एक विद्यालय, एक विज्ञान प्रयोगशाला’ विकासको अवधारणाअनुरुप क्रमश: सबै विद्यालयमा विस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयलाई अपाङ्गतामैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाइलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिँदै आएको छ ।   गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको संरक्षण र संवद्र्धनका लागि गाउँपालिकामा मर्मतसम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । आधारभूत तहसम्मको शिक्षालाई प्रवद्र्धन गरी विपन्न, कमजोर तथा पिछाडिएका वर्गका बालबालिकालाई विद्यालय पहुँचमा पुर्याउन विपन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको छ ।   गाउँपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार कक्षा १२ उत्तीर्ण गरेका छजना विद्यार्थीलाई वार्षिकरूपमा छात्रावृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । शैक्षिक सुधारका लागि एकाइ परीक्षाको नीति लिएर अघि बढिएको गाउँपालिकाले जनाएको छ ।

  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन ।   अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धानले बढीमा चार महिना चल्थ्यो, त्यसपछि अरु आम्दानी पनि नहुने, के खाने कसरी खाने भन्ने पिर हुन्थ्यो” उहाँले भन्नुभयो, “तर जहिलेदेखि पहाडको पाखामा अम्रिसो खेती सुरु गरियो, अहिले त्यसबाट हुने आम्दानीले साँझ–बिहान के पकाउने भन्ने पिर हुन छाड्यो, अम्रिसोबाट हुने आम्दानीले चामल किनेर राख्यो खायो ।”   किसान राई जस्तै बुलिङटार–४ देउरालीका मीनबहादुर आलेको अवस्था पनि उस्तै छ । “घरपरिवारको खर्च कसरी चलाउने भन्ने पिरले सताउँथ्यो, नियमित आम्दानी केही थिएन”, उहाँले भन्नुभयो, “अहिले त कम्तीमा अम्रिसो पाखामा फुलेपछि पैसा आउने बेला भयो भन्ने हुन्छ ।”   किसान राईले वार्षिकरूपमा करिब रु ९५  हजार र आलेलेले करिब रु ६० हजार अम्रिसो बेचेर आम्दानी गर्ने गर्नुभएको छ । “पैसा कति भन्ने हुँदो रहेनछ, गर्जो कति टर्यो भन्नेले ठूलो अर्थ राख्ने रहेछ, कम्तीमा वर्षभरि खान पुग्ने चामल किन्ने खर्च, यही पाखोमा फुलेको अम्रिसोले दिएको त छ”, आलेले भन्नुभयो ।   नवलपुरका पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएका छन् । पहाडका बासिन्दाको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेका छन् । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो बरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आवद्ध रहेका छन् । चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आवद्ध भएर अम्रिसो खेती गर्दै आएका छन् ।   सामूहिकरूपमा अम्रिसो खेती गर्ने र आएको रकम दामासाहीरूपमा प्रतिघर बाँड्ने गरेको उहाँले बताउनुभयो । अम्रिसोबाट भएको आम्दानीमध्ये केही वन समूहमा राख्ने र समूहमा आवद्ध सदस्यलाई न्यून ब्याज प्रतिशतमा बिनाधितो छ महिनासम्म ऋण लगाउने गरिएको उहाँले बताउनुभयो । बैंक र वित्तीय संस्थाको पहुँच नभएका पहाडी क्षेत्रमा आफूले गरेको आम्दानीबाट बचत भएको रकम खाँचो पर्दा लिन सकिने हुँदा स्थानीयलाई थप राहत पुगेको रानाले बताउनुभयो । “आफ्नो आम्दानी त छँदै छ, वन समूहमा भएको बचतले अप्ठ्यारो परिस्थितिमा खाँचो टार्नसमेत सहयोग पुगेको छ”, सुपरभाइजर रानाले भन्नुभयो, “अहिले वन समूहले कम्तीमा रु ५० हजारदेखि चार लाखसम्म बचत गरेका छन् ।”   प्रत्येक वर्ष  जेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको उहाँले बताउनुभयो ।    गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट एक सय ५२ दशमलव सात सय १३ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष रु एक करोड ९८ लाख ५२ हजार आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेशामा जोड्नका लागि पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपेको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने उहाँले बताउनुभयो ।  

  भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।    यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उहाँले बताउनुभयो । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ ।    दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी ९सिरु० काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।   पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ ।    छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छ वटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।   बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै  पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।    तराई क्षेत्रमा थारूहरुको बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भन्नुभयो । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उहाँले बताउनुभयो । चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ ।