पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।   डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका–४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् ।   जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।   सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।   घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताउनुभयो ।

पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् ।   कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ ।   ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ । सो समूहले रु तीन करोड लगानीबाट सुरु गरेको फार्ममा हाल रु सात करोड बढी लगानी पुगेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर कृषि कर्मबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदीले बताउनुभयो ।   फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ ।   करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जीविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा कृषि कर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठको भनाइ छ । बहुउद्देश्यीय रुपमा सञ्चालित फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा छ ।   अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पत्ति पनि खुसी हुनुहुन्छ । उहाँहरुले आफ्नै ठाउँमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो ।

मलेखु ।   नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन ।   यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्काेतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन् । यो सबै सबै सामान महँगिएको र पैसा नभएकै कारण हो।'   बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैँ आर्थिक सङ्कटले झेलिएको छ ।   कोरोना भाइरस महामारीपछिको पहिलो दसैँ उपभोक्तालाई निकै महँगो पर्नेभएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन् । चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्राको मूल्य बढेकाले दसैँ महङ्गिएको छ ।   अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताउनुभयो । सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्‍याउन  सकिरहेका छैनन् ।   उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ । “अधिकांश खाद्यान्नको मूल्य वृद्धि कायमै छ । दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, मैदालगायत खाद्यान्नको मूल्य बढेको छ”, श्रेष्ठले भन्नुभयो, “खाद्यान्नको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको चपेटामा परेका छन् । दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ । आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ ।   “बच्चालाई नयाँ कपडा किनिदिनै पर्‍यो, पहिलाका दसैँमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन”, बालबच्चालाई कपडा किन्न लाग्नुभएकी सीता तामाङले भन्नुभयो ।   चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताउनुभयो । 

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा शुक्रबारदेखि लाइबे्ररीको शुभारम्भ भएको हो ।    इ–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले शुभारम्भ गरे ।   थापाले इ–लाइब्रेरीबाट पत्रकारलाई अध्ययन गरेर समाचार लेख्न सहज हुने बताए । ‘पत्रकारलाई अध्ययन गरेर लेख्ने बानीको विकास र रिखापन ल्याउनेछ,’ उनले भने, ‘डिजिटल प्रविधिको विकास गराउनको लागि लाइब्रेरी लगायत अन्य काममा प्रदेश सरकार सधै साथमा रहनेछ ।’ उहाँका अनुसार ई–लाइबे्ररीको लागि २५ लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन भएको छ ।    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारलाई लाइब्रेरीको महत्व अति नै हुने गरेको बताए । ‘पत्रकार पुस्तक पढ्नै पर्छ । पुस्तक पढ्ने बानीको विकास ग¥यौ भने लेख्न सहज हुन्छ,’ उनले भने, ‘सबैको मेहनतले आज पुस्तकालय राख्न सफल भयौं । अब यसलाई सदुपयोग गरौं ।’ नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले लामो समयदेखिको सपना बल्ल पूरा भएको बताए । ‘म अध्यक्ष हुँदा खेरी सुरु भएको पहल यो कार्यसमितिले मूर्त रुप दिएको छ । यसको सदुपयोग गरौं, ’ उनले भने ।   पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुराना तथ्यांकहरु पाइने हुँदा समाचारको मुख्य स्रोत पुस्तकालय रहेको बताए ।   महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाइ बजारमा बिकेका र रुचाइएका पुस्तकहरु समावेश गर्नुपर्ने सुझाव दिए ।   महासंघका सल्लाहकार केशवशरण लामिछानेले पत्रकारलाई चाहिने पुस्तक सबै समावेश गर्न नसकिएको बताए ।   उनका अनुसार इ–लाइब्रेरीमा ७ सय थरीका पुस्तकहरु छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

पोखरा:   मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।   कोशिश राष्ट्रिय मानिसक स्वास्थ्य स्वाबलम्वन संगठनको आयोजना, सिबिएमको सहयोग र पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।   पोखरामा भएको एक दिने कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले संस्थाको परिचय दिँदै संस्थाले गरेका गतिबिधिका बारेमा जानकारी गराए । उनले बहुपक्षीय सहयोग र सहकार्यमा मात्र आत्महत्याको जोखिम घटाउन सकिने उल्लेख गरे ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सेनलाले आत्महत्याको बर्तमान अवस्था, चुनौती र रोकथामका उपायहरुका बारेमा प्रस्तुतिकरण राखे । उनले आत्महत्या पूर्व देखिने संकेत र रोकथामको बारेमा जानकारी गराए । गण्डकी मेडिकल कलेजका मनोचिकित्सक रबिराज तिमिल्सेनाले मानसिक स्वास्थ्य, सरकारी निति सम्बन्धी प्रस्तुुतिकरण प्रस्तुत गरे ।   पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र सुनारले महानगरले  आत्महत्या रोकथाममा गरेका गतिबिधिहरुको बारेमा जनाकारी दिए । उनले मानसिक स्वास्थयको क्षेत्रमा बजेट कम भएको गुनासो गरे ।     कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष हिमलाल पराजुली, मानोविद् बिनय पाण्डे, पैरवी अधिकृत बसन्ती खत्री, मनोबिर्मश कर्ता नबिना शर्मा लगाएतले मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामको बिषयमा बोलेका थिए ।  कार्यक्रममा पोखरा महानगरपालिकाका ४० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।      

सल्यान: सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।   उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।   रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो ।   सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन् । उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन् ।   दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन् ।   कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन् । त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।   चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच दसैँको सबैतिर रौनक सुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ । एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ ।

पोखरा:   स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् ।    क्षेत्रीले एक कार्यक्रमकाविच स्याङ्जाको फेदीखोला १ स्थित पर्सेभाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई रकम हस्तान्त्रण गरे ।    स्थानिय निर्वाचन ताका आफू निर्वाचित भएपछि प्राप्त हुने सेवा सुविधाको रकमबाट विद्यालयमा निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता बराबरको एक लाख ४ हजार विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका थिए । उनले विद्यालयलाई बाँकी रकम क्रमश उपलब्ध गराउँदै जानेपनि सो क्रममा प्रतिवद्धता व्यक्त गरे ।    कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा शिक्षक कर्मचारी १४ जना रहेका छन् ।   जसमा ४ जना शिक्षक, बाल शिक्षिका  र  एक जना कार्यालय सहयोगी सरकारी दरबन्दीका हुन भने बाँकी ९ जना निजी स्रोतबाट तलबभक्ताको व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने, ‘हामीले निकैनै कठिन हिसावले विद्यालय सञ्चालन गरिरहेका छौैं । निजी स्रोतबाट शिक्षक र बस ड्राइभर गरि ९ जनालाई चन्दा उठाएर तलब खुवाएका छौं । जसमा केही सहयोग गाउँपालिका र वडा कार्यालयले गरेका छन् ।’    १९४ जना अध्ययनरत विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा ९ र १० सम्म कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । 

कञ्चनपुर :  यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन् ।   जिल्लाको भीमदत्त नगरपालिका–१८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त हुनुहुन्छ । थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्य जस्तै मानिन्छ । “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उहाँले भन्नुभयो, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो ।”    अहिले गाउँमा अधिकांशले घर लिपपोत गरेर सजाइसकेका छन् । थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै सुरु हुन्छ । “दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्छन ।” अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उहाँको भनाइ छ ।   पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि यो समुदायलाई समस्या भएको छ । माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन् । चौधरीले भन्नुभयो, “सामुदायिक वनले माटो ल्याउन निषेध गरेपछि यस्ता घरहरु हराउन थालेका छन् ।”   स्थानीयवासी लक्ष्मीराम चौधरी पनि दसैँका लागि सामान जुटाउन व्यस्त हुनुहुन्छ । उहाँ केही दिनदेखि माछाको जोहोमा लाग्नुभएको छ । “घरमा महिलाहरु घर लिपपोत गर्दैछन्, म माछाको जोहोमा छु”, उहाँले भन्नुभयो, “दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो ।” पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको उहाँको भनाइ छ ।   स्थानीय सीता चौधरीका अनुसार दसैँका बेला सखिया नाच रातभरि हुने गर्दछ । यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ ।”    टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया नाच नाच्ने चलन छ । तर पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । “पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसक्यो”, उहाँले भन्नुभयो, “अहिले संस्कृति जोगाउन भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।” पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन् । 

गलेश्वर  :  नेपालीको महान चाड बडादशैं हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दशैंको रौनक र मौलिकता भने कतै देखिएको छैन ।   दशैं सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो । रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ । विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिदै गएका छन् ।   गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । म्याग्दीका ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन सुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका बाबुराम उपाध्यायले बताउनुभयो । एक समय थियो, दसँै भित्रिदै गर्दा रातोमाटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो ।   बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ । दशैंमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्ला भरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो । दशैं सुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका मड्किनामा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । तर, अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगन्य रहेको स्थानीयवासी हेमकुमारी सापकोटाले बताउनुभयो ।   त्यसैगरी दशैंका लागि आवश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने, पिध्ने गरिन्थ्यो । तर अहिले यी सबै चलन एकादेशको कथामा परिणत भएका छन् । गाउँघरमा ढिँकीजाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिँकीजाँतोदेखि नै छोडेका छन् । दशैंमा यी प्रचलन सबै लोप हुँदै गएका छन् ।   दशैं पहिलेको भन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुक कोटका रामकृष्ण घिमिरेले बताउनुभयो । रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर(रङ)लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एकजना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । “गोरेटो बाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप ह गएका छन् । दसँैका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिँकीजाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ । दसँैको मौलिकता नै हराउँदै गएको छ”, पश्चिम म्याग्दीको रणबाङका पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो ।   मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैं पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ । पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दशैं मनाइन्थ्यो । अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैं दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन् । रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैंको आभाष हुने गरेको थियो ।