पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  वालिङ । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ ।    भारत सरकारको सहयोगमा विसं २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माणकार्य सुरु भएर विसं २०२८ मा निर्माण सम्पन्न भएको थियो । पहाड र तराईलाई जोडेसँगै आवातजावत र व्यापार व्यवसायका लागि कोशेढुङ्गा सावित भएको यस पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले १० टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।    डुङ्गाको सहारामा जोखिम मोलेर वारपार गर्नेहरुलाई पुल निर्माण भएँसगै सहजता भए पनि भारवहन क्षमताका सवारी साधन चल्न रोक लगाउँदा ढुवानीको खर्च बढ्न गई उपभोग्य वस्तुको लागत महङ्गो पर्न गएको व्यवसायी तथा उपभोक्ताहरुको भनाइ छ । निर्माण सामग्रीहरु बुटवलतिरबाट राम्दीको पुल हुँदै वालिङ आउने हुँदा पुलमा बढीमा १० टन मात्रै सामन बोकेका मालबाहक गाडीहरु आउनसक्ने भएकाले ढुवानीमा समस्या भएको  वालिङ–८ जैसीपधेँरामा हार्डवेयर ब्यावसाय गर्दै आउनुभएका गहौँ कालिका डुम्रे हार्डवयरका सञ्चालक शिवलाल डुम्रे बताउनुहुन्छ । डुम्रेले भन्नुभयो, “पुलमा आएर रोकिनभन्दा कि त कम्पनीबाट नै थोरै सामान लिएर आउनुपर्यो कि त  वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता रहेको छ ।”   मालबाहक गाडीले समान कम ल्याए पनि भाडा दर एउटै हुने भएकाले थोरै सामान ल्याएर धेरै मूल्य ढुवानीमा खर्च हुँदा सामन महङ्गो पर्न जाने गरेको व्यवसायी डुम्रे बताउनुहुन्छ ।   बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ–पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ । “पहिला–पहिला वालिङमा सामान सस्तो पाइन्थ्यो, यहीँबाट स्याङ्जासहित दक्षिण पर्वतका विभिन्न ठाउँमा सामानहरु जान्थ्यो”, उहाँले भन्नुभयो, “अहिले एकातिर पुलकै कारण पनि ढुवानी बढ्यो भने अर्कोतिर नयाँ निर्माण गरिएका सडकहरुले यहाँको व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ ।”   “धेरै भारवहन क्षमताको मालवाहक साधनमा ढुवानी गर्दा मूल्य कम पर्न जान्छ” उहाँले भन्नुभयो, “एकैपटक आउने सामग्रीलाई दुईपटक गर्नुपर्दा ढुवानीमा लागत बढ्न गई उपभोक्तामा मार पर्न गएको छ ।”  छ चक्के मालवाहक साधनभन्दा अरुलाई पुलमा रोक लगाउँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माणजन्य सामग्रीको ढुवानी मूल्य बढ्न गई महङ्गी बढेको उहाँ बताउनुहुन्छ ।   हाल सञ्चालनमा रहेको पुल मर्मत गरी भारवहन क्षमता बृद्धि गर्न सकिने भए अध्ययन गर्न र नहुने भए विकल्पको रुपमा अर्को पुल निर्माणका लागि तीन वर्षअघि जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए । गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रसाद अर्यालले भन्नुभयो, “स्थानीय उपभोक्ता तथा व्यवसायीहरुले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीहरुको ढुवानीमा पुलका कारण महङ्गो पर्न गएको गुनासो बढ्न थालेपछि सम्बन्धित निकायसम्म दबाब दिनका लागि सबै वाणिज्य सङ्घ एकमत भई ज्ञापनपत्र बुझाएका हौँ  ।”   पुल जीर्ण हुँदा बुटवलबाट तानसेन, राम्दी हुँदै स्याङ्जा जिल्ला प्रवेश गर्ने १० टनभन्दामाथि भारवहन क्षमता भएका सवारी साधनहरु आउनमा रोक लगाइएकाले विशेषगरी स्याङ्जा जिल्लाका उपभोक्ता तथा व्यवसायी बढी प्रभावित भएको वालिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । “पुलका कारण निर्माणजन्य सामग्रीहरुको ढुवानीमा असर गरेको छ भने दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समस्या भएको छ” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि निरन्तररुपमा पहल गर्यौ । ढिलै भएपनि निर्माण कार्य थालनीको प्रक्रिया अगाडि बढेको छ ।”   निर्माण प्रक्रिया अगाडि बढेपछि उपभोक्ता तथा व्यापारी व्यवसायी वर्ग आशावादी देखिएका छन् । पुल निर्माण भई सञ्चालनमा आएपछि ढुवानी मुल्य घट्न गई सस्तो र सहजरुपमा सामग्रीहरु पाइने विश्वास खनालको छ । सामग्री सस्तो भएसँगै ब्यापार व्यवसाय फेरि फस्टाउनुका साथै यहाँ उत्पादन भएका सामग्रीहरुको निर्यात र उद्योग तथा कलकारखाना खोल्नका लागि पनि सहजता हुनसक्ने उहाँको भनाइ छ ।   कतिपय १०/१२ चक्के सवारी साधनले पनि भारवहन क्षमताभन्दा कम सामग्री ल्याउन सक्ने भएपनि चक्काकै आधारमा कहिलेकाहीँ प्रहरी प्रशासनले दु:ख दिने गरेको सवारी चालकहरुको गुनासो छ । सवारी साधनमा कति भार रहेको छ त्यो नभई सवारी साधनको चक्का हेरेकै आधारमा पनि रोकेर दु:ख दिने गरिएको छ । धेरै भार बोक्न सक्ने सवारी साधनमा पनि अड्कलेर थोरै सामग्री ढुवानी गर्दा भाडा स्वभाविक धेरै पर्ने स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका स्थानीयबासी शिवहरि अमात्य बताउनुहुन्छ । पुलमा १० टनभन्दा धेरै सामन बोकेको सवारी साधन चल्न नदिने हो भने यसको सुक्ष्म ढङ्गबाट अनुगमन तथा निरीक्षण गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।  गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि हाल रहेको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल बनाउन लागिएको हो ।   विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधनहरु आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जिनीयर नवराज बास्तोला बताउनुहुन्छ ।   हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा ५/७ मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरेर ठेक्का सम्झौता गरिसकेको सनियर डिभिजनल इञ्जिनीयर बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ” उहाँले भन्नुभयो, “कूल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” एकसय ८ मिटर लम्बाई, ११ मिटर चौडाईको हुने सो पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने उहाँले बताउनुभयो ।    सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घरटहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । देशकै पर्यटकीय शहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक शहर बुटवल तथा भारत जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । भारत सरकारको सहयोगमा निर्माण भएको यो राजमार्ग साँघुरो, घुमाउरो तथा घुम्तिहरु धेरै रहेका छन् । पुरानो यो सडक साँघुरो र धेरै घुमाउरो छ भने स्तरवृद्धि हुन सकेको छैन ।   कालीगण्डकी नदीको किनारैकिनार भएर कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पनि यो सडक केही ओझेलमा पर्ने हो कि भन्ने चिन्ता छ । यस सडकलाई आर्थिक उपार्जनसँग जोड्नका लागि पनि सिद्धार्थ राजमार्गसँग जोडिएका जतिपनि पालिकाहरु छन्, तिनीहरुले सिद्धार्थ आर्थिक करिडोरसम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै आएका छन् । पुल निर्माण सँगसँगै साँघुरो सडकलाई चौडा गर्ने र घुम्तीहरु कटान गर्न सके मात्रै यो सडकमा सवारी साधनहरुको चाप बढ्छ । मुग्लिन–नारायणगढ सडक बन्द हुँदा पश्चिम नेपालबाट आउने सवारी साधनहरु यही पुल हुँदै पोखरा, काठमाडौँलगायत गन्तव्यमा पुग्ने गर्छन् । 

  भरतपुर । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।   भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुग्नुभएको थियो । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उहाँले सुनाउनुभयो, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?”    समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भन्नुभयो “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शङ्का छ ।” उहाँ र आसपासका खेतमा करिब पाँच बिघा क्षेत्रफलको धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।   भरतपुर महानगरपालिका–१४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिघामा लगाएको धान एक रातमा किराले सखाप पारेको बताउनुभयो । आज बिहान उठ्दा धान किराले काटिसकेको उहाँले गुनासो गर्नुभयो । धान पसाउने समयमा विभिन्न किराका कारण समस्या देखिएको भन्दै उहाँले भन्नुभयो, “समस्या समाधान हुनु पर्यो । नत्र हामी किसान मर्कामा पर्छौं ।”   किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञान केन्द्रमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।     धानखेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरले जानकारी दिनुभयो । मगरका अनुसार धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ । शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको उहाँले बताउनुभयो ।   सेतो झिङ्गा जिल्लामा बढी सङ्ख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने विषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।

  पाल्पा । निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्ष अघि बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो ।          धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी हुनुहुन्छ । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उहाँको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो”, उहाँले भन्नुभयो, “अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।”    रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताउनुभयो । उहाँका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ ।          “निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो”, उहाँले भन्नुभयो ।   विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतीत गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पुगेको छ ।    सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत मिल्नेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछन् ।          विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ ।         लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसककिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार  वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत् पोल पनि पुग्न नसकिएको अवस्था छ ।          निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पुर्याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको  छ । संस्थामार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो । 

पोखरा:   वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको साझा संस्था एसिया मानव अधिकार तथा सास्कृतिक विकास मन्च (एशियन फोरम) को १८ औ साधारण सभा तथा ८ औं महाधिवेशनले श्रीकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।   समितिको वरिष्ठ उपाध्यक्षमा मेनका पौडेल, उपाध्यक्षमा मिरा पौडेल, महासचिवमा सन्तोष बोगटी, सचिबमा दिपक राज रेग्मी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मण बानिया, बिजय गुरुङ, कमल रेग्मी, माया देबि शर्मा, दमन्ता खड्का र जूम बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।   त्यसै गरि संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सिद्दीचन्द्र बराल, संस्थापक तथा पुर्व अध्यक्ष निरज थापा, निवर्तमान अध्यक्ष किस्मतमणी श्रेष्ठ र मनबहादुर श्रेष्ठ चयन भएका छन ।   कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात मन्त्री कुमार खड्काले उद्घाटन गर्दै नेपालमै कही गर्न खोज्ने युवामैत्री व्यवसायीक योजना वनाउन प्रदेश सरकार लागि परेको वताउँदै कुनै पनि युवा विदेश जानै नपरोस, वाद्यतामा जान परेमा पनि सिप सिकेर मात्र जान आग्रह गर्नुभएको थियो ।   साथै उहाँले वैदेशिक रोजगारी बाट स्वदेश फर्केर ब्यबसायमा संलग्न युवाहरुलाई संगठित गर्न तथा उनिहरुको सिप र क्षमता अनुसारको व्यवसायमा एशियन फोरममा आवद्ध व्यवसायीहरुले सहजीकरण गर्नुपर्ने वताउँनु भएको थियो ।   संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले संस्था स्थापना देखि हालसम्म गरेका कार्यक्रमहरुको बारेमा बताउदै संस्थामा आबद्ध सदस्य तथा कोरिया स्थित दातृ संस्थाहरुलाई आर्भ व्यक्त गर्नु भएको थियो ।   सो अवसरमा पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारी, कालाबाङ घरेडी घरबास कार्यक्रमका अध्यक्ष याम बहादुर गुरुङ लगाएतले कार्यक्रम सफलता शुभकामना व्यक्त गर्दै बिदेश बाट स्वदेश फिर्ता युवालाई राज्यले निति बनाएर देशमै केही गर्ने बाताबरण बनाउन आग्रह गरेका थिए ।   संस्थाका केन्द्रिय अध्यक्ष किस्मत मणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष मेनका पौडेलले र कार्यक्रम संचालन केन्द्रिय सदस्य मिरा पौडेलले गर्नु भएको थियो ।

बारा:  बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।   बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिनुभयो ।   उहाँका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताउनुभयो । डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ ।   कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताउनुभयो ।   डेङ्गु अझै बढ्न सक्ने उहाँको भनाइ छ । बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिनुभएको छ ।

काठमाडौं:  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।   मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।   कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् ।   दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिनुभयो ।   आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।   आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

पोखरा:   स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराले अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतीका लागि विभिन्न समाग्री हस्तान्तरण गरेको छ ।   ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा संचालित “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत पोखराका तीन विद्यालयलाई अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो ।   पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.विका बौद्विक अपाङ्गता विद्यार्थीका लागि करिब सात लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिनुभयो ।   विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ्ग पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामाग्री लगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।   कार्यक्रममा उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्न प्रोत्साहन सहितको भर्नालाई प्राथमिकता दिएको र निकट भविष्यमा नै आवश्यक कार्यविधि बनाइ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।   पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हुनेले आफ्नो लागि आफैले गर्न सकेपनि नहुनेका लागि राज्य आवश्यक भएको बताउनुभयो ।   केन्द्रका अध्यक्ष हेम बहादुर गुरूङले महानगरले समावेशी शिक्षा नीति बनाइ अपाङ्गतालगायत कठिनाइमा रहेका सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।   कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका प्रतिनिधि शिवानी भट्टराई, महानगर शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य, सामाजिक विकास महाशाखाका प्रतिनिधि गीता नेउपानेलगायतको उपस्थिति रहेको थियो ।  

मनाङ:  हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् ।   विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् ।   शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् ।   नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ ।   जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो ।   जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । “विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् ।   यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन”, चपाईले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो ।   जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ ।   बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

हेमजा:  पोखरा २५ हेमजामा रहेको चौरासी नहरको नक्सांकन कार्य भोलि विहिवारदेखि शुरु हुदैछ । जसका लागि प्राविधिकको टोलीले बुधवार स्थलगत अवलोकन गरेको छ ।   पोखरा २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वसहितको प्राविधिक टोलीले हेमजाको प्रगतिचोक (चाक्लेकुला)बाट सुईखेत कालिकाचोक (नहरको मुहान)सम्म स्थलगत अवलोकन गरेको हो ।   पुरानो र जीर्ण अवस्थामा रहेको यो नहर वर्षातको समयमा भत्किएर मानव बस्ती डुवान हुने साथै खेतियोग्य जमिनमा क्षति पुर्याउने भएकोले यसको दीर्घकालिन समाधानको लागि मर्मत सम्भार गर्नुपर्ने भएकोले शुरुवातमा नक्सांकन गरि डिपिआर तयार पारेर काम अगाडि बढाईने वडाध्यक्ष मोतिराज तिम्सिनाले बताए । साथै नहर आसपासको सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन पनि नक्सांकन कार्य महत्वपूर्ण रहेको उनको भनाई छ ।   यसैगरि चरणबद्व रुपमा डुवान क्षेत्रहरु सुन्दरीपुरी, म्याग्दीचोक लगायतका क्षेत्रमा नक्सांकन गरी तीन/चार ठाउँबाट नाला निर्माण गरेर खोलामा पानी लैजाने योजना रहेको वडाध्यक्ष तिम्सिनाले बताए ।    स्थलगत अवलोकनपछि पोखरा महानगरपालिकाका अमिन दिवाकर सुवेदीले ७ देखि १० दिन भित्रमा नहरको नक्सांकन सकिने जानकारी दिए ।     हेमजाको अधिकांश कृषि क्षेत्र तथा विशेष गरी विरुवा फाँट सिञ्चित हुने चौरासी नहर झण्डै चार किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो नहर पोखरा महानगरपालिका वडा नम्वर २५ मा पर्ने पुरानो नहर हो । नहर निर्माण समितिका सचिव कमलमणि त्रिपाठीले समयमै नहर क्षेत्रको सार्वजनिक जग्गा खोजी नभए अतिक्रमण हुने सम्भावना रहेको बताए ।   यति नै वर्ष पुरानो नहर भनेर आधिकारिक जानकारी नभएपनि करिव  दुई÷ तिन सय वर्ष पुरानो चौरासी नहर सो समयमा ६ वटा गाउँका स्थानियहरुको जनश्रमदानबाट बनेको स्थलगत अवलोकनमा सहभागि ७२ वर्षीय मधुसुदन त्रिपाठी बताउँछन् ।   नहर खन्नको लागि आधुनिक औंजार नभएको उक्त समयमा कोदालो, गैंचि, गल, कोर्काे, घन लगायतका स्थानिय औजारले नहर निर्माण गरेको हो भन्ने आफ्ना हजुरबुवाहरुले सुनाउने गरेको उनले स्मरण गरे ।   बुधवार भएको स्थलगत अवलोकनमा जलस्रोत तथा सिँचाई विकास  डिभिजन कार्यालय कास्कीका अधिकृत मानबहादुर थापा, जलस्रोल तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर सिमा के.सी, पोखरा महानगरपालिकाका अमिन गणेश गिरी, प्रकाश सिग्देल र दिवाकर सुवेदी, पोखरा २५ का प्राविधिक प्रतीक्षा अर्याल, अमिन जीवन कठायत, वडासचिव इश्वरीप्रसाद बास्तोलालगायत जनप्रतिनिधिहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज, नहर निर्माण समितिका पदाधिकारी साथै स्थानियको सहभागिता रहेको थियो ।   वडाले चाक्लेकुला प्रगतीचोकदेखि चौरासी नहरको मुहान सुईखेतसम्म नक्सांकन गर्नको लागि  उक्त क्षेत्रसँग जोडिएका जग्गाधनी तथा सरोकारवाला सबैको जानकारीको लागि सूचना निकालेर नक्सांकनको कार्य अगाडि बढाएको हो ।