पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ ।    सडक नजिकै  जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई । उमेर गन्ती गर्दा उहाँ ठ्याक्कै ६१ वर्षमा पुग्नुभयो तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्नुहुन्छ ।    पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुका उहाँको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिहनुभएको छ । “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छुजस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेकेजस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशाजस्तै बनेको छ ।”    घरमा बुबाबाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बाजा बजाउनुहुन्छ । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । बाँसुरी, खैजडी, मुजुरा, मादल, माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोलीलगायतका बाजा बजाउन सिपालु हुनुहुन्छ ।    बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गर्नुभएको छ । नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्नुहुन्छ । उहाँले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्नुहुन्छ । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राख्नुभएको छ । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोपसलगायतका बाजा बढी बजाउन मन पराउनुहुन्छ ।    “औपचारिकरुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन, राष्ट्रियस्तरसम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टि मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।”    मानिसका जीवनका दुःख र पीडालाई भुल्न सङ्गीत अतिआवश्यक रहेको उहाँ बताउनुहुन्छ । ब्लड क्यान्सर रोगले ग्रसित उहाँ नियमित उपचारसँगै घरमै वाद्यवादन कार्यमा रहँदा रोगको पीडा नै भुल्दै गएको अनुभव सुनाउनुभयो । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गरेपछि अहिले दुई वर्षयता भने रोग निको हुँदै जाँदा उपचारमा अस्पताल कम धाउनुपरेको छ ।    करिब १४ वर्षसम्म रोगसँग जुध्नुभएका ढकालले घरको कोठामा बसेर दिनभर विभिन्न थरिका बाजा बजाउने गर्दा आफ्नो शरीरको करिब २५ प्रतिशत रोग निको हुँदै गएको अनुभूति सुनाउनुभयो । सरकारले सङ्गीतलाई संरक्षण गरिनुपर्नेछ, जसले गर्दा यस क्षेत्रमा लाग्न सबैलाई प्रेरणा मिल्नेछ । मेरो शरीरको रोग निवारण गर्ने एक चिज सङ्गीत हो, सङ्गीतमा भुलेपछि सबै कुरा बिर्सिर्दै गएको ढकालले बताउनुभयो ।   उहाँ भन्नुहुन्छ, “बाजा बजाउँदै गर्दा रोगको पीडा कम भएको महसुस भयो, जीवनलाई भुलाउने माध्यम भनेको सङ्गीत रहेछ, जीवनको अन्तिम समयसम्म पनि यसरी नै वाद्यवादनमा नै रमाउनेछु, यसमै जीवन आनन्दमय व्यतीत भइरहेको छ ।” रामपुर भजनकीर्तन मण्डलीका अध्यक्षसमेत रहनुभएका ढकालले संस्थालाई व्यवस्थित गरी यस क्षेत्रमा वाद्यवादनमा रुचि जगाउने र सिक्न चाहनेलाई सङ्गीत सिकाउने लक्ष्यका साथ सामाजिक कार्यमा उहाँ सक्रिय भएर लाग्नुभएको छ । अहिले यस क्षेत्रमा युवा उहाँकै कलाबाट प्रभावित भएर विभिन्न थरिका बाजा बजाउने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् ।    सङ्गीत अपार चिज हो, जतिसुकै मानिस पढेर विद्वान् भए पनि जीवन जिउने यो अति आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँ समूहमा गाउँघरमा हुने धार्मिक तथा शुभकार्य, विभिन्न सभा समारोह, मेला महोत्सव, सांस्कृतिकलगायतका विभिन्न कार्यमा वाद्यवादनमा सरिक हुँदै आउनुभएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, गोरखा, लमजुङ, बाग्लुङ, महेन्द्रनगर, सुर्खेत, काठमाडौँ, चितवनलगायतका विभिन्न जिल्लामा वाद्यवादनका निम्ति उहाँ पुग्नुभएको छ ।    पुराना मौलिक बाजा बजाउने कलाकारसँग नगरको कला संस्कृतिको विकासमा स्थानीय सरकारले छलफल तथा सुझाव माग गरेमा यस क्षेत्रको विकास हुने थियो तर कला संस्कृति संरक्षणमा नागरिकले अनुभूति हुने खालको काम नगरेकोमा भने उहाँ चिन्तित हुनुहुन्छ । घरमा युवा वाद्यवादन सिक्न बेला–बेलामा आउने गरेकाले आफूमा भएको कला, संस्कृति नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उहाँको इच्छा छ । सङ्गीत जीवन जिउने एउटा शक्ति मात्रै नभई यसको मीठो ध्वनिले पारिवारिक वातावरण रमाइलो र खुसी बनाएको बताउनुहुन्छ, उहाँका श्रीमती विष्णुमाया ढकाल ।          “मैले जाने बुझेदेखि नै वाद्यवादनमा बढी सौखिन हुनुहुन्छ, घरपरिवारको कुनै तनाव छैन, सबै जिम्मेवारी मैले सम्हालेको छु, उहाँको दैनिकी वाद्यवादनमा नै बितिरहेको छ”, उहाँले भन्नुभयो । सङ्गीतले धेरै मानिसलाई बाँच्ने प्रेरणा र दुःख पीडा भुल्न सिकाउँछ । सङ्गीतको शक्ति एउटा आवाज, भाषा वा बोलीजस्तै हो । यसमा इमोसन र भावना हुन्छ । सङ्गीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ, जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन । अद्भूत आनन्दमय हुन्छ साङ्गीतिक संसार ।          सङ्गीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चिरस्थायीरुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल स्रोत नै सङ्गीत हो । भक्तिमार्गको अभिन्न अङ्ग नै सङ्गीत हो । मान्छेले मात्र सङ्गीतमा आत्मसुख पाउँदैनन् । पशुपन्छीलाई समेत मोहित पार्ने खुबी सङ्गीतमा छ । 

  बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो ।       उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्यो । दश वर्षअघि उहाँले लगाउनुभएका स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहनुभएका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गर्नुभएको स्याउखेतीप्रतिको रुचि उहाँमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसक्नुभएका जुमबहादुरले जनआन्दोलनपछि परम्परागतरुपमै स्याउखेती थाल्नुभएको थियो ।       स्याउ राम्रो उत्पादन हुन नसक्दा उहाँको मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन्  तर जुमबहादुरले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गर्नुभयो ।      पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको  छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि  उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहनुभएका जुमबहादुरले बताउनुभयो ।       “मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ”, जुमबहादुरले भन्नुभयो, “यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहुँदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।”      बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन ।      आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् ।       ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले  एक सय ८१ वटा बिरुवामध्ये  केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताउनुभयो ।       यस्तै ढोरपाटनकै जीवन पुनले पनि परीक्षणका रुपमा उक्त प्रजातिको एक सय १६ बिरुवा लगाउनुभएकामा १६ वटाको  हुर्काइ राम्रो देखेपछि थप एक सय बिरुवा लगाउनुभएको हो ।        ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानलाई कृषि ज्ञानकेन्द्रमार्फत चार हजार ५०० बिरुवा माग गर्नुभएको उक्त केन्द्रकाका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।       “छिटो फल्ने, थोरै जग्गामा धेरै बिरुवा लगाउन सकिने र आधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाटसमेत उक्त स्याउका बिरुवाको माग भएको छ, स्याउ किसानको उत्साहलाई ज्ञानकेन्द्रले मनन गरेको छ, बागलुङको हावापानीमा इटालीबाट ल्याइएको बिरुवा राम्रोसँग हुर्किएर फल दिएको छ ।” उक्त बिरुवा डेढदेखि दुई मिटरसम्म अग्लो हुन्छ ।      ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजातिअन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परीक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा दिन थालिएको प्रमुख भट्टराईले बताउनुभयो ।       इटालियन प्रजातिको एउटै बिरुवाको बजार मूल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दासमेत किसानको लागत प्रतिबिरुवा रु तीन सय पर्ने गरेको छ ।       परम्परागतरुपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्षसम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकामो आधुनिक प्रजातिको स्याउको बिरुवाले एक वर्षमै उत्पादन दिन थालेपछि यहाँका स्याउ किसान हर्षित भएका छन् । उक्त बिरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग रहेको छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको बिरुवा उपयुक्त छ । छुट्टाछुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामूहिकरुपमा नै स्याउ खेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसान अग्रसर भएका छन् । स्थानीय जागतको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातिको स्याउका बिरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालियन प्रजातिका स्याउ सुरुमा १०केजीदेखि सुरु भएर बयस्क रुखमा ८० केजीसम्म फल्ने गर्दछ ।

  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ ।    गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।    अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले उपहार दिन थालिएपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको छ ।    ]“तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एक वटा कुखुराको भाले दिने गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख बरुवालले भन्नुभयो, “सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा दिन्छौँ ।” आर्थिक वर्ष २०७८/७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ ले संस्थागत प्रसूति सेवा लिएका छन् । उनीहरु मध्य ४५ जना पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । आठ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् ।    वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ ।    आव २०७८/७९ मा रु छ लाख विनियोजन भएको यो कार्यक्रमका लागि चालु आव २०७९/८० मा पनि रु छ लाखनै विनियोजन गरेर निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो । 

  पोखरा । नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई अधिक सफलता मिलेको छ  । गत शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा कास्कीका खेलाडीहरुले विभिन्न तौल समूहमा पदक जितेका हुन् ।    प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५  केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । त्यस्तै प्रतियोगितामा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति थापा ओभरअल च्याम्पियन बनिन् । बब्स जिमका थापाले  ५५.१ देखि ६३ केजी तौल समूहमा ३४७.५  केजी तौल उठाएर प्रथम हुँदै ओभरअल च्याम्पियन बनेकी हुन् । सोहि तौल समूहमा कास्कीकै पुनम बम्जनले ३२७.५  केजी तौल उठाएर रजत पदक जितिन् ।    त्यस्तै ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै सनिस श्रेष्ठले स्वर्ण पदक हात पारे। श्रेष्ठले ५४२.५ केजी तौल उठाएका थिए । ९३.१ केजी तौल भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा सुमिन परियारले ४८४.५ तौल उठाएर रजत पदक जिते। त्यसै गरि महिला तर्फ ६३ केजी भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा शर्मिला शाहले स्वर्ण पदक जितिन् । शाहले  ३९२.५  केजी तौल उठाएकी थिइन् । सोहि तौल समूहमा कास्कीकै सिमा गुरुङले ३७७.५  केजी तौल उठाएर रजत पदक जितिन् । ५५ केजी भन्दा कम तौल समूहमा सपना गुरुङले  २७७.५  केजी तौल उठाएर कास्य पदक जितिन् ।    प्रतियोगितामा महिला तर्फको ओभरअल च्याम्पियन ज्योति थापाले रु एक लाख प्राप्त गरिन् । त्यस्तै मास्टर ओभरअल च्याम्पियन टेकेन्द्र गुरुङले २५ हजार रुपैयाँ प्राप्त गरे । बाँकी विभिन्न तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगर सहित पदक प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फको ओभरअल च्याम्पियन भने काठमाडौंका सुकदेव श्रेष्ठ भए ।  सुकदेव र ज्योति थापा  अघिल्लो संस्करणका च्याम्पियन पनि हुन्।     प्रतियोगितामा भाग लिन कास्कीबाट ९ जना पुरुष र ६ जना महिला गरि १५ जना सहभागी भएको कुरा नेपाल पावरलिफ्टिङ संघ कास्कीका अध्यक्ष हसन गुरुङले बताए । गुरुङले अरु जिल्लाको तुलनामा कास्कीले अधिक सफलता प्राप्त गरेको बताए ।  पावरलिफ्टिङ खेलमा कास्कीका खेलाडीहरु निकै मिहिनेतका साथ लागेका थिए । अहिले सफलता मिल्दा खुसि लाग्यो, गुरुङले भने, यसमा खेलकुद मन्त्रालय  गण्डकी प्रदेशको पनि ठुलो साथ रहेको छ। आर्थिक मात्र नभई विभिन्न रुपमा सहयोग गर्नले नै यो सफलता मिलेको हो।  आगामी दिनमा पनि यस्तै सहयोग भए पावरलिफ्टिङ खेलमा हाम्रो प्रदेश सधैँ अगाडी रहनेछ । पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी र रेफ्री समेत रहेका गुरुङ १५ जना खेलाडीका नेतृत्व गरेर आफैँ राजधानी पुगेका थिए ।    प्रतियोगितामा १५८ खेलाडीले सहभागिता जनाएका थिए  । नेपाल पावरलिफ्टिङ संघ प्रतियोगीताको पहिलो संस्करण २०७७ चैतमा आयोजना गरेको थियो । संघका अध्यक्ष सुन्दर भुषालले संघले कार्यक्रम गर्ने तयारी गरिरहँदा रुप कार्कीको निधन भएकोले उनकै सम्मानमा यो प्रतियोगिता सुरु गरिएको बताए ।

  काभ्रेपलाञ्चोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा तीन वर्षदेखि रोकिएको छ ।    बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा वर्षेनी विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यस वर्ष पनि रोकिने भएको हो । संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले तीन वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार प्रदेश सरकारले २०७४÷०७५ मा रु पाँच लाख तथा त्यसपछिको आर्थिक वर्षमा रु दुई लाख पठाएको थियो । प्रदेश सरकारबाट तीन वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको कार्यालयका सूचना अधिकारी गौरव भट्टले बताउनुभयोे ।     उहाँका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान÷संरक्षण अत्यावश्यक देखिन्छ । “समग्र बन्यजन्तु सुरक्षाका विषयमा छलफल हुन्छन्, अनौपचारिक रुपमा सालकबारे छलफल भए पनि अनुसन्धान तथा संरक्षणबारे योजना बनेको छैन”,उहाँले भन्नुभयो ।       अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए । अभियानताका जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो ।    विसं ०७८ असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो । राति ९ बजे स्थानीयको घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ थियो ।  नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन् । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो । जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला ९खपटा० तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ ।       कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले सालक मानिसका लागि उपयुक्त जनावर भएको बताउनुभयो । उहाँका अनुसार सालकले बालीका कमिला र धमिरा खान्छ, पर्यावणलाई जोगाउन मद्दत पुर्याउँछ, मानिसलाई भने आक्रमण गर्दैन । सालकमा १५ सेन्टिमिटर टाढाका किरा स्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।      पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण एकाइका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पूरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा रहेको छ । एकाइले स्थानीय दुई सय पचास स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको छ एकाइकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए  । एकाइले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएको छ ।       दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।    संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउनुुहुन्छ । विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातीका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक रहेका छन् ।      सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुनेगरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐन अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।       अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा सहयोग गरिरहेको छ । 

काठमाडौं  :   जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ ।       संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ ।   वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्नका लागि योजना बनाउने जानकारी यसअघि नै दिनुभएको छ । यसै आधारमा सो मन्त्रालयले यसको अध्ययन तथा सम्बन्धित विज्ञसँग राय सुझाव लिन सुरु गरेको छ ।    मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले सङ्कटकाल घोषणाको अध्ययन र प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कटकाल लगाएपछि फाइदा वा घाटा के हुन्छ, कुनै क्षेत्र विशेषमा असर पर्छ कि भन्ने विषयमा अध्ययन गर्ने भनेर तथ्य–तथ्याङ्क जुटाउने र विश्लेषण गर्ने काम सुरु गरिएको छ ।   ‘जलवायु सङ्कटकाल’ घोषणा गरेपछिको अवस्थाकाबारेमा अध्ययन गरी जानकारी लिनका लागि मन्त्रालयले एक प्राविधिक टोली पनि तयार गरिरहेको बताइएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भनेर निरन्तर सचेत गराइरहेका छन् ।    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमका विषयमा तथ्याङ्क राख्ने अन्तर्राष्ट्रिय संस्था ‘जर्मनवाच’ का अनुसार नेपाल अहिले जलवायु परिवर्तनका कारण उच्च जोखिम भएका देशमध्ये दशौँ स्थानमा पर्छ । सङ्कटकाल नै घोषणा गर्न भने हतार गर्न नहुने अधिकांशको भनाइ छ ।    तथ्यमा आधारित प्रमाणसहित ‘जलवायु सङ्कटकाल’ घोषणा गर्न आवश्यक रहेको यसका विज्ञ तथा मन्त्रालयका कर्मचारीको भनाइ छ । नेपाल सरकारसँग अहिलेसम्म जलवायु परिवर्तनकै कारण कति हानिनोक्सानी भयो भन्ने यकीन तथ्याङ्क नभएका कारण सङ्कटकाल घोषणापछि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाउनुपर्ने आवश्यकता रहेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।    मुलुकले लामो समयदेखि पर्यावरणीय र जलवायुजन्य समस्या भोग्दै आए पनि सरकारले कोप–२७ को तयारीका क्रममा सङ्कटकाल घोषणाका विषयमा सरोकारवाला निकाय र विज्ञसँग छलफल गरिरहेको छ ।    उता वन तथा वातावरणमन्त्री प्रदीप यादव नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायत सबै क्षेत्रमा देखिने गरी जलवायु परिवर्तनको असर परिरहेकाले नेपालमा जलवायु सङ्कटकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको दाबी गर्दै आउनुभएको छ ।    हालसम्म विश्वका ३९ देशले जलवायु सङ्कट घोषणा गरेका छन् । जलवायु परिवर्तनको असरले नेपालमा प्राकृतिक विपद्का घटना बर्सेनि दोहोरिइरहने तथा हरेक वर्ष कहिले खडेरी हुने त कहिले भारी वर्षाका कारण बाढी, पहिरो आउने समस्याका कारण ठूलो मात्रामा धनजनको क्षति भइरहने एवं पछिल्ला केही वर्षयता हिमालमा हिउँ पग्लिने र मधेस तथा पहाडमा खानेपानी र सिँचाइकै समस्या हुने खालका समस्या बढ्ने गरेका छन् ।    जलवायु सङ्कटकाल घोषणा गर्ने खास मापदण्ड नभए पनि यसको संवेदनशीलताको मनन् गरी घोषणा गर्नुपर्ने सबैको राय छ । 

मनाङ  :   हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार कक्षा बढ्दै गएपछि कतिपय विद्यालयमा विद्यार्थी रित्तिने अवस्थामा पुगेका छन् ।    एकाइ कार्यालयको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।    इकाइ प्रमुख चपाईंले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना रहेका छन् । चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको जानकारी दिनुभयो । “इसिडीमा विद्यार्थी बढी भए पनि कक्षा बढ्दै गएपछि घट्ने गरेको छ”, उहाँले भन्नुभयो, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । विद्यालयमा विद्यार्थी घट्ने क्रममा छन् ।”    विशेषगरी कक्षा ६ देखिमाथिका कक्षामा विद्यार्थी घटेको शिक्षाको तथ्याङ्कले देखाएको छ । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने चपाईंले बताउनुभयो । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी बाहिरिएको हुनसक्ने उहाँको भनाइ छ ।    जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यालय भवन र शिक्षक छ  विद्यार्थी छैनन् । “यस्तो अवस्थामा विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी नै छैनन् ।”    जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर बालबालिका पढाउने आशा रहेको अभिभावकको भनाइ छ । मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् । चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरुलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

नवलपुर  :   थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।   यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।    उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया  मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।    हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उहाँको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ ।   सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ ।    भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ । विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।    जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’ ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।    यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।    “पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।” पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उहाँले बताउनुभयो ।   सार्वजनिक बिदा    जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा दिएको छ ।    मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइएको हो । । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।    थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।   

पोखरा  :  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालदेखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन् ।    सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन प्रमुख आचार्यले उक्त निर्देशन दिएका हुन् ।    ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामाग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन दिए । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने मेयर आचार्यले बताए ।    सो क्रममा लेकसाइडको खहरेस्थित भेगन रेस्टुरेन्ट चलाइरहेका व्यवसायी माधव पौडेलले अवैध संरचना निर्माण कार्य रोक्नु भन्ने सूचना दिन पुगेका नगर प्रहरीलाई ज्यान लिने धम्की दिएका छन् । उनले आफूले कुनै संरचना नभत्काउने र महानगरलाई पनि भत्काउन नदिने चुनौती पनि दिए । उनले ताल किनारमा बनाएको घर र व्यवसाय दुवै मापदण्ड विपरीत रहेको र महानगरबाट कुनै स्वीकृति नलिएको महानगरको दावी छ ।    प्रमुख आचार्य सहितको टोली शनिबार फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेर फर्किएको छ । फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने मेयर आचार्यको भनाई छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने र महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको महानगरले बताएको छ।