पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए ।   राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ ।   आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ ।   ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन गरिने छ ।

  झापा । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो ।   भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उहाँले भन्नुभयो, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।”   कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ । जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्नेछ ।   यहाँबाट कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुने प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । रु १४ करोडको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी रु २४ करोडको लागतमा काम भइरहेको छ ।   प्लान्ट सञ्चालनमा आएपछि दैनिक एक हजार केजी बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल (ठोस मल) उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिनुभयो । “विश्वमै मिथेन ग्यास व्यवस्थानलाई यो प्रविधि वरदान सावित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “बढ्दो पृथ्वीको तापक्रम घटाउन सहायक हुने भएकाले पनि विश्व बैंकले यो क्षेत्रमा लगानी गर्दै आएको हो ।”   उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ । यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुने प्राविधिक सल्लाहकार श्रेष्ठले बताउनुभयो ।   उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट पाँच किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने जनाइएको छ । प्लान्ट सञ्चालनमा आएपछि २५ वर्षसम्म फोहर व्यवस्थापनको चुनौती समाधान हुने कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो । विश्व बैंकको ४० प्रतिशत आर्थिक साझेदारीमा सुरु भएको प्लान्टमा कम्पनीमार्फत हाल सात सय ५० जनाले शेयर लगानी गरेका छन् । एक जना बराबर रु १० हजारदेखि रु एक करोडसम्म लगानी गरेको कम्पनीले जनाएको छ ।   हाल बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५४ लाख दिने निर्णय गरेको छ । फोहर व्यवस्थापनलाई लागत साझेदारीमा नगरपालिकाले उक्त रकम दिने निर्णय गरेको हो । कनकाई र अर्जुनधारा नगरपालिकाले आर्थिक साझेदारीका लागि प्रतिबद्धता जनाएका छन् । तथापी बिर्तामोड नगरपालिकाको उक्त निणर्यपछि पाँचदलीय गठबन्धनका दलले ध्यानाकर्षण भएको जनाएका छन् ।   प्लान्ट स्थापना ताका नै कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकासँग आर्थिक सहकार्यका लागि छलफल–वार्ता भएको र सोही अनुरुप कम्पनीले काम अघि बढाएको प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । “फोहर व्यवस्थापन एक मात्र हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्न सकिन्छ, धेरै जनाले लगानी गर्नुभएको छ, आर्थिक सुनिश्चितता पनि हुन जरुरी छ ।” बिर्तामोड नगरपालिकासँगै झापाका ठूला सहरी क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

  काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ ।    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ ।    अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ ।    त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेको थियो ।   समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो । 

  काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ ।        सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गर्नुभएको थियो । साथै उहाँहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गर्नुभएको थियो ।    शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोल्नुभएको थियो ।

  मुस्ताङ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले मुस्ताङको जनहित माविलाई शैक्षिक समाग्री सहयोग गरेको छ ।    मुस्ताङको जोमसोममा रहेको जनहित माविलाई परिषद नेपालले आज (बिहिबार) शैक्षिक समाग्री वितरण गरेको हो ।    ६० जना विद्यार्थीहरुलाई झोला, अभ्यास पुस्तिका, जेमेट्री बक्स र सजिलो अंग्रजी बोलचाल लगायतका शैक्षिक समाग्री  प्रदान गरिएको विद्यार्थी परिषदका नेपाल सहसचिव रमेश कडेंलले जानकारी दिए ।    उनका अनुसार प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि विभिन्न जिल्लाहरुमा शैक्षिक समाग्री वितरण गरिसकेको छ ।   परिषदले ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउदै भने, ‘शैक्षिक समाग्री वितरणले आर्थिक स्तर न्यून भएका र पढ्न खोज्ने विद्यार्थीहरुको लागि हौसलाको बढ्नेछ ।’   जनहित माविका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सहसचिव रमेश कडेंल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी, परिषदका मुस्ताङ् जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगरका संयोजक रोशनी ल्वागुण एंव विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।      

गलकोट । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।    पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको बताउनुभयो । “भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अग्र्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन”, ज्याकले भन्नुभयो, “अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।” अहिले उक्त मार्गको अध्ययन सकिएको ज्याकको भनाइ छ ।    यसो त बागलुङ सदरमुकाम घुम्नका लागि आउनेहरु आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ रु बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँ ।    बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरु अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको बरदानको रुपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको वासिन्दा स्थानीय खिमबहादुर थापाको बताउनुहुन्छ । अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइसकेको छ ।   किन लोभिन्छन् भकुण्डेमा पर्यटक एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलकन । नभन्दै यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निमाृण गरिएको छ । भकुण्डेको मध्यभागमा छ सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अग्र्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् ।    तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोन गर्न सकिन्छ । भकुण्डेस्थित मुलावारीमा हिराताल भने विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमश्रृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरु सम्मोहित हुने गरेका छन् ।    घरबासमा आएका पहुनाको स्वागत र बिदाई गर्ने संस्कारले घरबासमा आउने पर्यटकहरु लोभिन्छन् । यहाँले मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ । भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको शहिदसहितको उद्यान समेत निर्माण भइरहेको छ । क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रुपमा स्याङजाको शिरुबारीमा घरबास सञ्चालन गर्नुभएको थियो ।    आन्तरिक पर्यटकको आकर्षण केन्द्रका रुपमा लिए पनि यहाँको घरबास विदेशी पर्यटकहरु हेलिकप्टरमार्फत समेत आउने गरेका छन् । भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटकहरु आउने गर्दछन् । घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा गर्दै यहाँ आउन थालेका छन् । साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् ।   खानेपानी र सडक सुधारको आवश्यक घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडाध्यक्ष तीलबहादुर थापाले बताउनुभयो । थापाका अनुसार यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ, बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो हुँने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पु¥याउन पहल भइरहेको उहाँले बताउनुभयो ।     “यहाँका महिलाहरु चुलाचौकामा मात्रै सीमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरु समेत निर्माणले गति लिएको छ” थापाले भन्नुभयो “अहिले मुख्य समस्या भनेको पानी र सडकको सुधार हो । खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ । केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा रहेको छ ।”    भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी   बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताउनुभयो । “गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शिर्षकमा बर्षेनी बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरे अगाडि बढ्नेछ” उपप्रमुख खड्काले भन्नुभयो । भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसके पनि पर्यटकीय पूर्वाधारमा जोड दिइएको उहाँको भनाइ छ ।   भकुण्डे नजिकै बलेवाको ढिकबाट प्यराग्लाइडिङ समेत गर्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुरु भएपछि सराङ्कोटको प्याराग्लाइडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रुपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण भइसकेको छ भने प्याराग्लाइडिकङको सफल परीक्षण समेत भइसकेको छ ।     पर्यटकको आकर्षण अग्र्यानिक परिकार भकुण्डे गाउँमा उत्पादन भएका अग्र्यानिक परिकारले समेत पर्यटकहरुलाई थप आकर्षण गरेको छ । अहिले यहाँका आठ घरमा घरबास सञ्चालन गरिएको छ । भकुण्डे घुम्न आएका पर्यटकहरुको बसाई लम्बाउनका लागि स्थानीय परिकारले सहयोग पुर्याएको घरबासका सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो ।     विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएका  यहाँको घरबासमा एकै रात ५० जना भन्दा बढी पहुना राख्न सकिने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापाले बताउनुभयो । सामुदायिक घरबासमा पछिल्लो पटक पहुनाको रोजाइअनुसारको सेवा सुविधा दिँइदै आएको छ । सामुदायिक घरबासबाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुराँ र होटल समेत सञ्चालित छन् ।    घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरलाई लोभ्याउने गरेको घरबास सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुने गरेको छ । घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् भने बस्नका लागि आरमदायी कोठाको सुविधा दिइएको छ । शुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै लगेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापनसहितको शौचालय र स्नानघरको समेत सुविधा छ ।   स्थानीय उत्पादनहरुको स्वादको मज्जा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले पुनः फष्टाउन थालेको छ । वर्षाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको बेला यहाँका घरबासमा भने पर्यटकको चहलपहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक थापाले बताउनुभयो । भकुण्डे गाउँमा आउने पर्यटकको कारण यहाँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामीण पर्यटनको अवधारणा ल्याउन सकिनेतर्फ ध्यान दिन थालिएको छ । 

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।   महानगरपालिकाले एक सूचना जारी गर्दै आउँदो असोज १ गतेबाट  महानगरका सार्वजनिकस्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ ।   यसैगरी महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने कामपाका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

  पोखरा । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो ।   पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर  दिएको थियो । ठक्करबाट गम्भीर  घाइते  बन्जराको पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् । 

  धनुषा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ ।   बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिनुभयो । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताउनुभयो । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।   उहाँले जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य सुरु गरिएको जनाउनुभयो । “बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुने बितिक्कै पठाउँछौँ”, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो ।   स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ । सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।   सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र यस्तै गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ ।   सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने भएको छ ।    परिचयपत्र बनाउन बाँकी रहेका जिल्लावासीले आउँदो असोज २ गतेदेखि आ–आफ्नो पालिकामा नै सम्पर्क गरी परिचयपत्र बनाउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।