पोखरा : नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमालेको भातृ जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । जिल्ला सम्मेलन तथा अधिवेसनको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट स्थानीय निर्वाचनमा निर्वाचित २५ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम संयोजक किसान सेवा परियारले बताए । सो सम्मेलनमा कास्की जिल्लाभरका ४ सय ५६ जना प्रतिनिधिहरुको जमघट हुने संयोजक परियारले बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीका अध्यक्ष धनबहादुर विश्वकर्माले प्रत्येक तीन/तीन वर्षमा गर्नुपर्ने जिल्ला सम्मेलन ११ वर्षपछि गर्न लागेको बताए । उनका अनुसार उक्त अधिवेशन आगामी ३ गते हुनेछ । उनले संविधानमा लेखिएको हक अधिकारका लागि पार्टीमै आन्तरिक द्वन्द्ध गरिरहेको बताए । ‘नेपालको संविधानमा दलितको लागि हक अधिकार लेखिएको छ, उनले भने ‘तर व्यवहारमा लागु छैन त्यसैले हक अधिकारको प्राप्तीको लागि पार्टीमा र दैनिक व्यवहारमा दबाबमूलक कार्यक्रम गर्दै आएका छौं ।’
तनहुँ: नयाँ घर बनेपछि खुसीले मख्ख हुनुहुन्छ, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब नेपाली मुक्त हुनुभएको छ। ‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइदिएपछि उहाँको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मनाउन पाउँदा खुसी लागेको नेपाली बताउनुहुन्छ । नयाँ घरमा बस्न पाइँँदैन कि भन्ने सपना पूरा भएको उहाँको भनाइ छ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ सुरक्षित घर बनाएपछि गरिब तथा विपन्न घरपरिवारमा खुसी छाएको छ । वर्षौंदेखि छाप्रोमा बस्दै आएका घर परिवार नयाँ घर पाउँदा विपन्न समुदायका मानिस निकै खुसी छन् । जिल्लाका १० वटै पालिकामा विपन्न समुदायका लागि घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्य बताउनुहुन्छ । घर निर्माणपछि दुई सय ११ नयाँ घरमा सरिसकेका छन् भने ७१ जना दसैँसम्ममा सर्ने तयारीमा रहेको उक्त कार्यालयलले जनाएको छ । आव २०७५/७६ मा जनता आवास कार्यक्रम हस्तान्तरण गरिएपछि उक्त कार्यालयमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । जिल्लाको देवघाट गाउपालिका–५ की सन्तमाया बोटे पनि नयाँ घरमा दसैँ मनाउन पाउने भएपछि खुसी लागेको बताउनहुन्छ । घर पाउँदा वर्षायाममा ढुक्कले बस्न पाएपछि छाप्रोमा बस्दा खेप्नुपरेको पीडा अन्त्य भएको उहाँको भनाइ छ। निर्माण गरिएका घरमध्ये दुई सय ११ ले पूरै किस्ता लगेका र ७५ ले अन्तिम किस्ता लैजान बाँकी रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्र जानकारी दिनुहुन्छ । रु नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन भएकामा आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले रु तीन लाख ३२ हजार पाँच सय उपलब्ध गराएको थियो । सम्बन्धित लाभग्राहीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने प्रावधान थियो । पालिकामार्फत भवन निर्माण गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो भएको कार्यालय प्रमुख सिनियर इञ्जिनियर दिनेशकुमार घिमिरे बताउनुहुन्छ । जग्गा जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको उहाँको भनाइ छ ।
अछाम: अछामको विभिन्न भागमा पहिरो जाँदा १४ जनाको मृत्यु र ९ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । वर्षातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा १४ जनाको मृत्यु भएको छ । ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारेको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ । त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ । गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ । कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो । सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो । “गुम्बामा प्राथमिकतहदेखि पिएचडीसम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै उद्धार गर्न केन्द्रित भयौँ ।” प्रहरी प्रमुख पण्डितले भन्नुभयो, “उनीहरुलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसारलगायत अपराधसमेत आकर्षित हुनेसक्ने हुँदा सोही बमोजिम अनुसन्धान अघि बढाइने छ ।” मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो । बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ । खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे । ‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्यो सँगै पदक पनि जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत आवश्यक छ ।’ नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए । ‘राम्रो भयो भने त्यसको जस् हामीले नै पाउँछु । केही नराम्रो भए पोखरा र हाम्रै बद्नाम हुने हो । खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन जरुरी छ,’ उनले भने । पोखराबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने मेयर आचार्यले बताए । थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदारले बताए । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई यसपटक सम्बोधन गरेको उनको भनाइ थियो । खेलकुद विकास समितिको कार्यालय मेयर आचार्यले शुक्रबार नै रंगशालामा उद्घाटन गरेका छन् । यसअघि कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
त्रिवेणी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।” उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः सङ्ख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताउनुभयो । जिल्लामा सामूहिकरुपमा १५ वटा समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसानसमेत रहेका छन् । उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्रसमेत विस्तार भएको छ । इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । नवलपुरको तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । कागती खेतीबाट वार्षिक छ लाख कमाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका– ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उहाँले रु छ लाख आम्दानी गर्नुभयो । यस वर्ष करिब रु नौ लाख आम्दानी हुने कृषक केसीले बताउनुभयो । “गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि रु छ लाखको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब रु नौ लाख जतिको बेच्छु भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “कागती खेतीअघि बाख्रापालन गर्नुभएका उहाँ २०७३ सालदेखि कागती खेतीतर्फ लाग्नुभएको हो”, “बाख्रा पनि पालोँ तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ”, केसीले भन्नुभयो । उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उहाँको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ। बेच्न “समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ”, केसीले भन्नुभयो । उहाँले अहिले कागतीको नर्सरीसमेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गर्नुभएको हो । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उहाँको भनाइ थियो । “परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु । कागतीको बिरुवा बेचेरसमेत राम्रो आम्दानी हुने गरेको छ”, केसीले भन्नुभयो ।
तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले रु एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले रु ४५ लाख ४८ हजार अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क रु ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ । “पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो”, उहाँले भन्नुभयो, “बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।” त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत रु ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो । कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि रु दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।
धनकुटा । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका जिल्लाको प्रमुख केन्द्र धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन्। लाखौँ खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका छन् । धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं ७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन । विसं २०७५ बाट सो स्थानमा निजी रु ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आउनुभएका रामकुमार राई र उहाँकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउनुहुन्छ । स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गर्नुभएका उहाँहरूले वार्षिक रु ५० हजार पनि आम्दानी नहुने बताउनुभयो । “घाटैघाटा छ, ऋणको ब्याज तिर्दा–तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो”, थापाले भन्नुभयो, “पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौँ ।” आफूहरूले काम सुरु गर्नेबित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गर्नुभयो । विसं २०६३ बाट गत वर्षसम्म नगरले रु एक करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका–१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिनुभयो । यो पार्क विसं २०७४ मा प्रदेश नं १, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको रु १०–१० लाख गरी जम्मा रु ३० लाखको लागतमा निर्माण गरिएको थियो । त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको रु १० लाख र धनकुटा नगरपालिकाको रु ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ । “पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या !”, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भन्नुभयो । धनकुटा नगपालिका वडा नं ३ कागतेमा प्रदेश सरकारको रु ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसानजस्तै छ । पार्कहरू सुनसान हुनुमा कोरोनामात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको तर्क छ । विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । “काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौँ खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन”, विष्टले भन्नुभयो । नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवद्र्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो ।
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीय महेन्द्र बोहराले भन्नुभयो, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीय कपिल जोशीले भन्नुभयो, “नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।” बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ । “नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ”, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।” उहाँका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । “तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ”, उहाँले भन्नुभयो, “अहिले सामान्य ढुङ्गा राखेर अस्थायी तटबन्ध गरेका छौँ ।” आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उहाँले बताउनुभयो । “नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौँ लगानी लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँछौँ ।”

