सिन्धुपाल्चोक: सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई रु ५३ लाख अनुदान दिएको छ । साठी चौँरीका लागि रु ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि रु २० लाख अनुदान उपलब्ध भएको हो । स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो । चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना बनाएको छ । परम्परागतरूपमा चौँरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौँरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौँरीको बीमा गरिदिएपछि चौँरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताउनुभयो । चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् ।
कञ्चनपुर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् । “बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता हुनुभएको छ । गत भदौ १६ गते घरबाट निस्किनुभएका उहाँ अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन । परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिनुभएको थियो । प्रहरीले उहाँको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो पदकबाट उनी सम्मानित भएका हुन् । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक समेत रहेका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील छन् । यसअघि उनी प्रजातन्त्र सेनानीको नाउँमा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, हिमदूत पत्रकारिता पुरस्कार, रोयल सहकारी पत्रकारिता पुरस्कार, इर्खबहादुर श्रीप्रभा गुरुङ स्मृति पुरस्कार र गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए । उनका चार वटा मौलिक कृति तथा छ वटा सम्पादित कृति प्रकाशित छन् ।
पोखरा । पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगतीको बारेमा उजागर गर्न समेत पत्रकार समक्ष आग्रह गरे । प्राविधिक कारण तय भएका केही ठाउँको खेल स्थल परिवर्तन हुन सक्ने संकेत गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल पोखरा रंगशालामा रहेका संरचनालाई मर्मत तथा स्तरउन्नती गर्नको लागि पर्याप्त बजेट नछुट्याइएको गुनासो गुरुङले गरे । पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भएको उनको भनाई थियो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधरणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने विश्वास उनको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर वानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए । तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागीता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । पौडेलका अनुसार पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई रहेका छन् । राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्न्पूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।
पोखरा । छोरी तथा बुहारी पढाऔं, उज्ज्वल भविष्यका लागि अगाडि बढौं नाराका साथ क्रियाशिल संजिवनी दिदिबहिनी केन्द्रको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा बिर्मला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति र सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, शारदा शर्मा, सरु अधिकारी चयन हुनुभएको निर्वाचन समिति संयोजक गुणाखर सापकोटाले जानकारी दिनुभयो। साधारणसभा तथा अधिबेशनको उदघाटन गर्नुहुदै प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन कुमार प्रजापतिले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको छोरी बुहारीहरुलाई शिक्षामा सहयोग गर्ने अत्यन्तै उदाहरणीय अभियानमा रहेको संजिवनी दिदि बहिनी केन्द्रलाई सधै साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। छोरी बुहारीलाई शिक्षामा मात्रै सहयोग नभई कोरोना महामारी लगायतको कठिन अवस्थामा विशेष सहयोग अभियान समेत सञ्चालन गरेको संजिवनीको मानवीय सेवामुलक कार्यको प्रसंसा व्यक्त गर्नुभएको। कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नाटा केन्द्रिय सदस्य कमला गुरुङ, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल लगायतले शुभकामना व्यक्त गर्नुहुदै संजिवनी दिदि बहिनी केन्द्रको गतिविधीको प्रसंसा गर्नुहुदै साथ सहयोग रहने बताउनुभयो।कार्यक्रममा संजिवनीबाट छात्रबृत्ति प्राप्त गरी रेडियोलोजिस्ट अध्ययनरत युनिया विकले संजिवनीको सहयोगले आफ्नो अध्ययनको सपना पुरा हुने भन्दै आफ्नो अनुभूति व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संजिवनी दिदि बहिनीका सल्लाहकार पवन कुमार प्रजापति हालै पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको, नाटाको केन्द्रिय सदस्य कमला गुरुङ, आजिवन सदस्य किरण गुरुङ मेची महाकाली दिदि बहिनीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा, फोटो पत्रकार तथा वेब डिजाइनर मणि सरब्ज गुरुङ, निशुल्क कार्यालय प्रदान गरेकोमा पोखरा ११ की हिरादेवी गुरुङ, सहयोगका लागि संस्थापक गिता भट्टचनलाई सम्मान गरिएको थियो। यसरी नै कार्यक्रममा संस्थाको नयाँ आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो। साधारणसभामा अध्यक्ष बीना गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सचिव कौशिला गुरुङले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो। केन्द्रकी अध्यक्ष बीना गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा सदस्य मिलन थापाले स्वागत र सचिव कौशिला गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
सुर्खेत । सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहनुभएको छ । उहाले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राख्नुहुन्थ्यो । समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्नुहुन्थ्यो । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत हुनुहुन्थ्यो । समाजमा सबै व्यक्तिको हैसियत बराबर हुनुपर्छ भन्ने सोच राख्ने गौतम समाजको विभेद् देख्दा भने चिन्तित हुनुहुन्थ्यो । गौतमको गाउँका धेरै मानिस गरिबीको रेखामुनि थिए । गाउँमा दलित बस्ती थियो । दलित समुदायका मानिसमाथि विभेद् पनि उत्तिकै थियो । कसैका घर थिएनन् भने कसैले मागेर खानुपर्ने अवस्था थियो । यस्तो अवस्था देख्दा सञ्जितालाई धेरै दुःख लाग्थ्यो । यो समाजको रोग हो, भनेर उहाँले समाज रुपान्तरण गर्ने अठोट लिनुभयो । पढ्न नपाएका बालबालिकाका अविभावकलाई शिक्षाको महत्वका बारेमा समेत जानकारी गराउनुहुन्थ्यो सञ्जिताले । उहाँको सहयोगी स्वभाव देखेर गाउँका सबै मानिसले असल व्यक्तिकारुपमा चिन्ने गर्थे । समाजमा रहेको विभेद् अन्त्य हुनुपर्छ, मानिस मानिस एउटै हो भनेर वकालतसमेत उहाँले गर्नुहुन्थ्यो । गौतम कक्षा १२ पढ्दै गर्दा समाजलाई धेरै बुझ्ने भइसक्नुभएको थियो । समाजको हरेक चित्र उहाँको मानसपटलमा घुम्न थाल्यो । गौतम भन्नुहुन्छ, “मानिसको दुःख देख्दा मलाई साह्रै पीडा हुन्थ्यो, यो समाजमा कोही मागेर खानुपर्ने, कोही महलमा बस्नुपर्ने किन भइरहेको छ ? मेरो मनमा प्रश्न उब्जिने गथ्र्यो, अनि मैले सोचे अब मेरो हरेक समय दुःखमा परेका मानिसलाई सहयोग गर्नुपर्छ, सधैँ यही सेवामा लाग्नुपर्छ भन्ने लक्ष्य नै बनाएँ ।” उहाँले २०७१ सालमा कक्षा १२ उत्तीर्ण गर्नुभयो । उहाँले समाज रुपान्तरणको अभियानमा लाग्ने लक्ष्य लिनुभयो । “मानव सेवा नै संसारको सबैभन्दा ठूलो काम हो भन्ने मलाई लाग्न थाल्यो, विभेदमा परेका मानिस देख्थेँ, उनीहरुको दुःख आफ्नै जस्तो लाग्थ्यो ।” यस अभियानबाट नै मानव सेवा गर्ने र विभेद्रहित मात्र होइन, सुखी समाज बनाउने उहाँको योजना छ । सञ्जिताले सुरुमा हेटौँडामा रहेर मानवसेवा आश्रमबाट आफ्नो सेवा प्रारम्भ गर्नुभयो । त्यसपछि गोर्खा मानवसेवा बालआश्रम हुँदै कास्की पोखरामा रहेको मानवसेवा आश्रममा लामो समय काम गर्नुभयो । “आश्रममा सेवा गर्दा अझै मासिनको दुःख देख्दा जति नै सेवा गरे पनि नपुगे जस्तो लाग्थ्यो मलाई”, उहाँ भन्नुहुन्छ । त्यसपछि त जति नै चुनौती सामना गरे पनि उहाँले यो सेवामा तल्लीन हुन थाल्नुभयो । अहिले उहाँ सुर्खेतमा रहेको मानवसेवा आश्रममा चार वर्षदेखि असहाय अवस्थामा सडकमा छाडिएका व्यक्तिको सेवामा लागि रहनुभएको छ । अहिले सो आश्रममा ७० जनाले आश्रय लिइरहनुभएको छ । मानव सेवा गर्दा धेरै चुनौती आउँछन् । सहाराविहीन व्यक्तिलाई सहारा दिनु चानचुने विषय पनि होइन । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन्, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौती छन् । “सहाराविहीन मानिसलाई आश्रय दिएर आफन्तसँग भेट गराउँदा जीवनकै सबैभन्दा धेरै खुसी मिल्ने रहेछ”, सञ्जिता भन्नुहुन्छ । उहाँले मानवसेवा गर्न थालेपछि सुर्खेतमा मात्रै आश्रमबाट झण्डै डेढ एक सय ५० जनालाई आफन्तसँग मिलन गराइसकिएको छ । विसं २०७५ देखि सेवा सुरु गरेको आश्रमले मानवसेवा आश्रम सुर्खेतले साउन र भदौ महिनामा मात्रै आठ जनाको उद्धार गरेको छ भने दुई जनाको पुनःमिलन गराएको जनाएको छ । हाल बुटवल आश्रममा ७३ जनाले आश्रय लिइरहेको मानवसेवा आश्रम कर्णाली प्रदेशले जानकारी दिएको छ । यसमा पुरुष ३८, महिला २७ र बालबालिका छ जना रहेका छन् ।
पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो । बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनेछन् । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ । अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उहाँको नियति नै हो । आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो । “एक्कासि राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,” महादेव भन्नुहुन्छ, “राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।” त्यसपछि महादेवले गाउँलेलाई उठाउनुभयो । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुपर्यो । “गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ,” महादेवले भन्नुभयो, “गाडले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौँ ।” खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिनुभएको रहेछ । उहाँले भन्नुभयो, “दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ ।” खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो । “पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,” खातीले भन्नुभयो, “जडारीगाड नजिकैका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ । अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।” गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । “गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ”, उहाँ भन्नुहुन्छ, “दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।” खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । “हाम्रो जमिन जै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन,” हर्कबहादुरले भन्नुभयो, “मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गतवर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिन शून्य छ । घर भने त्यसैमा बसिरहेका छौँ ।” गतवर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना हुनुहुन्छ । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उहाँलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए । प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै हुनुहुन्छ । “कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ । अहिले खोलामा गड्याङगुडुङ सुरू हुने वित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन् । “तल्लाबगणमा १० परिवार छन्”, महादेव भन्नुहुन्छ, “राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौँ । आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।” शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उहाँले बताउनुभयो । “निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो दिन पनि रातभर निन्द्रा नै लागेन । गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । “गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए”, गिरी भन्नुहुन्छ, “राति सुतेको बेलामा ११ बजेतिर एक्कासि डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ । त्यसपछि भागाभाग भयो ।” गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो । घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो । “त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो ।” उहाँकी श्रीमतीले भन्नुभयो, “बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।” जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ । तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् । खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्नुहुन्छ, “अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौँ ।” खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागि परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्चसर्तकता अपनाउन भनेका छौँ ।”

