पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गर्नुभएको हो । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुना टपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो ।’ उहाँले भन्नुभयो । स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिनेभएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उहाँको ठम्याई छ। ‘प्लाष्टिककै कारण विश्वमा प्रदुषण बढ्दो छ । हामीले दुनाटपरीको अधिकतम प्रयोग गरेमा प्लाष्टिकजन्य सामाग्री प्रयोगमा कमी आउनेछ र वातावरण स्वच्छतामा टेवा पुग्नेछ ।’ उहाँले भन्नुभयो – ‘विश्वसमुदायको ध्यान अब प्रदुषण न्यूनिकरणमा रहने र यस्ता प्लाष्टिकको विकल्पका साधनको उच्चतम प्रयोग गर्ने अवस्था हुने भएकाले हतोत्साही नभइकन यस्ता घरेलु उद्योगको प्रवर्द्धनमा जुटौँ ।’ टोलीमा सुदूर पश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरीसहित सदस्यहरूको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ । गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियासमेत आवश्यक पर्ने महशुस गरि परिषद् गठन गर्ने निर्णय गरेको थियो । सोही बैठकबाट सल्लाहकार परिषद्मा पूर्व मन्त्री तथा अन्तराष्ट्रिय चेम्वर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, पूर्वमन्त्री माननीय छविलाल विश्वकर्मा चयन भएको महासंघका महासचिव निर बहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार सो परिषद्मा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, पूर्व सचिव तथा मधेश विश्वविद्यालयका डिन डा. मानबहादुर विश्वकर्मा, पूर्व सचिव तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी पौडेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, खानी तथा भूर्गभ विभागका पूर्व महानिर्देशक तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमख कार्यकारी अधिकृत डा. सोमनाथ सापकोटा, विज्ञ तथा लेखक बद्रिप्रसाद कोइरला, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, उच्च अदालतका पूर्व न्याधिश वरिष्ठ अधिवक्ता साधुराम सापकोटासहितको सदस्य रहने गरी गठन गरिएको छ । सल्लाहकार परिषद्का सदस्यहरुलाई गत १८ गते होटल बाराहीमा स्वागतसहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । सो परिषद्ले संस्थागत विकास एवं महासंघको समष्टिगत उद्देश्य प्राप्तिका लागि र संस्थाको परिकल्पना गरेका उद्धेश्य हाँसिल गर्न उल्लेखनीय सहयोग गर्ने महासंघले विश्वास लिएको छ ।
काठमाडौं: भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ। भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए। उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए। दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका-१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।
इलामः प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
पोखरा: वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको तर्क छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग गरे । उनले मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका प्रमुखमार्फत चाँडै नै उडान निरन्तरतामा पहल गर्नुपर्ने उनको भनाइ थियो । २ वर्षअघि तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र लालबाबु राउतको पालामा बुद्ध एयरले दुई सहरबीच उडान सुरु गरे पनि १ वर्षयता रोकिएको छ । नेपालका ६ महानगरमध्ये पोखरा र वीरगञ्जबीच आपसमा धार्मिक एवं पर्यटकीय सम्भावना छन् । प्रमुख अतिथि टेवान अध्यक्ष कमला गिरीले पोखरा र वीरगञ्जका उद्योग व्यवसायीबीच आपसी सहकार्यमा जोड दिइन् । उनले गण्डकीका ११ वटै जिल्लामा टेवानको कार्यक्रम भए पनि अन्तरप्रदेशबीच पनि विविध पर्यटनसम्बद्ध कार्यक्रम गर्नुपर्छ भन्ने सोचका लागि पहिलो पल्ट कार्यक्रम लिएर मधेश प्रदेश आएको बताइन् । वीरगञ्ज औद्योगिकमात्र नभई धार्मिक, पुरातात्विक, प्राकृतिक, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको ठाउँ रहेकोले पर्यटनको राधजानी पोखरासँग विविध विषयमा सहकार्य गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले धन्यवाद ज्ञापन र संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले संघका गतिविधिबारे बताए । कार्यक्रममा टेवान सचिव एवं पर्यटन प्रवद्र्धन कार्यक्रम संयोजक शोभा अधिकारी पौडेल, टेवान उपाध्यक्ष प्रभा सुवेदी, वीरगञ्ज उद्योग वाणिज्य संघ सदस्य नीलम सिंह, अर्का सदस्य अनुज अग्रवाल लगायतले दुवै सहरको पर्यटकीय सम्भावनाका बारेमा बोलेका थिए ।
लमजुङ: मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । ५.५ मिटरमा सवारीसाधन सञ्चालन हुने, १.१ मिटर पानीको निकास र पैदलयात्री मार्ग १ मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो । बेँसीसहरबाट खुदीसम्म करिब साढे ७ किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३ सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ । पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ ।
काठमाडौँ: वैशाख १२ को विनाशकारी भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्याएको थियो । सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइँदैछ । अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई बिर्साउने गरी वैशाखमा गएको उक्त विनाशकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ । खानी तथा भूगर्भ विभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रमहरू हुँदैछन् । गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो । सो भूकम्पले करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो । तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेको पुष्टि गत कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पा¥यो । १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए ।
बनेपा: काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदैगरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सुमो सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज (मंगलबार) थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।