पोखरा: सहचालकले चलाएको हुँदा पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना भएको खुलेको छ । म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा सहचालक बेनी नगरपालिका ४ तातोपानी का २५ वर्षीय विनोद दर्जीले चलाएको कारण बस अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले उल्लेख गरेको छ । दुर्घटनापछि घाइते भएका सहचालक दर्जीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ । सो दुर्घटनामा परि घाइते भएकामध्ये सहचालक सहित ७ जना डिसचार्ज भइसकेका छन् भने म्याग्दीको मालिका गाउँपालिका १ दरवाङका ७२ वर्षीय नर बहादुर पुन र बेनी नगरपालिका ७ का ६१ वर्षीय टेक बहादुर कार्कीको उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस हेमजानको सुइखेलमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वानी प्रदुषणलाई रोक्न कसरत गरेको छ । प्रहरी उपरीक्षक महोन कुमार थापाले कास्की प्रहरीको कमाण्ड सम्हालेदेखि ध्वनी प्रदुषणलाई रोक्न स्वरुप परिवर्तन गरिएका (मोडिफाइड) मोटरसाइकललाई कारवाहीको अभियान नै थाले । सोही अभियानलाई निरन्तरता दिदैं कास्की प्रहरीले अनावश्यक ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजालाई नियन्त्रणमा लिएको छ । विभिन्न चाडपर्व, मेलापर्वहरुमा ध्वनी प्रदुषण हुने गरी विभिन्न किसिमका प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनी प्रदुषण गर्ने भन्ने जनगुनासो आधारमा पोखराको विभिन्न स्थानबाट १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईडमा हुन गई रहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदुषण रोक्ने उद्देश्यले पोखरा ३ तेर्सापट्टीबाट विभिन्न प्लाष्टिकका ठुलो र सानो बाजाहरु ७ सय १५ थान र लेकसाईडबाट १ हजार २ थान गरी जम्मा १ हजार ९ सय १५ वटा ध्वनि प्रदुषण निकाल्ने प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो । यससँगै कास्की प्रहरीले मोडिफाइड मोटरसाइकलमाथि पनि निगरानी बढाइरहेको छ ।
अर्घाखाँची: अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठोरका अनुसार सुपादेउराली दर्शन गरी पोखरा फर्कदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना हुदाँ ट्याक्सी सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेहरुको को जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल छन्त्याल संघ, कास्कीको आयोजनामा सञ्चालित १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । चैत्र १७ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । तालिमको समापन गर्दै धौलागिरि गाउँपालिका वडा नं. १, गुर्जा, म्याग्दीका वडाध्यक्ष झकबहादुर छन्त्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कुनै पनि औपचारिक कार्यक्रम सफल बनाउन उद्घोषकको भूमिका महत्वपूर्ण हुने भन्दै वडाध्यक्ष छन्त्यालले कुशल उद्घोषक बन्न तालिमको सिकाइसँगै अभ्यास अति जरुरी रहेको बताउनुभयो । त्यस्तै, गुर्जा विकास मञ्चका अध्यक्ष क्या. लालबहादुर छन्त्यालले १० दिनको तालिम निकै उपलब्धीपूर्ण रहेको बताउनुभयो । तालिमबाट प्रशिक्षार्थीहरूमा निकै परिवर्तन आएको आफूले पाएको भन्दै उहाँले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गर्नुभयो । नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालले छन्त्याल जातिका व्यक्तिलाई सक्षम बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट जगनारायण छन्त्याल र पुनदेवी छन्त्यालले पनि बोल्नुभएको थियो । नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी गीता छन्त्यालले गर्नुभएको थियो ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए । ‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ’, उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’ बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् । मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सात वटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए । शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । ‘तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ’, उनले भने, ‘तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षती पुर्याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताए । वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका(७ ताकमका शिक्षक जीवन पौडेलले बताए ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । अधिकारीलाई आइतबार अपह्रान्ह प्रदेश प्रमुख भट्टलेसंविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । मुख्यमन्त्री अधिकारीसँगै विनाविभागीय मन्त्रीका रुपमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता हरिबहादुर चुमान र नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका राजीव गुरूङ (दीपक मनाङ्गे) ले पनि शपथ ग्रहण गरे । आज बिहान मात्रै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए । यद्यपी नेपाली कांग्रेसले भने उक्त प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालत जाने तयारी थालेको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए । अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।
पोखरा: शिव मन्दिर आमा समूह पोखरा २० भलामको अध्यक्षमा माया जिसी चयन भएकी छिन् । १४ औँ साधारणसभा तथा चौथो अधिवेशनले जिसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । समूहको उपाध्यक्षमा सीता थापा, सचिवमा सुष्मिता घर्ती, सहसचिवमा सुदिपा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी राना भुजेल चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा हेमा घर्ती, खिरमति सुनार, सिला सुवेदी, गोमा गौतम, जमुना राना, अनिता पौडेल चयन भएकी छिन् । समितिको कार्यकाल तीन वर्षको हुने छ । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी थिईन । उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउदै स्थापनाकालदेखि आमा समुहले गरेका कामको प्रशंसा गरिन् । उनले महिलाले जिम्मेवारी र अवसर प्राप्त गरेर राम्रोसंग सञ्चालन गर्छन भन्ने प्रमाणित भएको बताईन् । ‘महिलाहरु प्रधानन्यायाधिश, राष्ट्रपति भएर सफलता पूर्वक जिम्मेवारी गरेका छन्, महिलाहरुले सञ्चालन गरेका संस्थाहरु सफल भएका छन्’ उनले भनिन्, ‘त्यसैले जिम्मेवारी र अवसर पाए सक्षम छौँ उहाँले भन्नुुभयो,“महिलाहरु राजनीतिक र सामाजिक रुपमा स्थापित हुनुपर्छ र त्यसको लागि आर्थिक रुपमा सबल सक्षम हुनुुुपर्छ ।’ वडा नम्बर २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले वडाको आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएको बताउदै महिला समुहको क्षमता बृद्विका लागि विभिन्न कार्यक्रम संचालन गरेको बताए । कार्यक्रममा उपाध्यक्ष माया जिसीले सामाजिक विकृति विसंगति विरुद्ध काम गर्दै आएको बताईन् ।
काठमाडौं: नेपाली कांग्रेसले उप–निर्वाचनकालागि उम्मेदवार टुंग्याएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ र बझाङ प्रदेशसभा १ कालागि उम्मेदवार टुंग्याएको हो । इलाममा यसअघि कै उम्मेदवार डम्बर खड्का र बझाङ प्रदेशसभा १ अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उप(सभापति धनराज गुरुङले जानकारी दिनुभयो । । यसअघि हिजो बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गर्नुभएको थियो । संसदीय बोर्डको निर्णयलाई आजै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ । वैशाख १५ मा हुने उप(निर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।
तनहुँ: व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना गरिएको दुरा सेवा समाजकी सदस्य दिलु दुराले जानकारी दिइन् । उनले भनिन्, ‘हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ । हामीलाई मातृभाषा बोल्न आउँदैन । तालिम सञ्चालन गरी भाषा सिकाएर यसको संरक्षण गर्न खोजेका हौँ ।’ दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूनाअनुसारको पाठ्यसामग्री समावेश गरिएको छ । दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताए । दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिए । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहेका छन् । तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ ।

