काठमाडौं: १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ। औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका छन् । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन गएका छन् । प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म ९हर्ट टु हर्ट एट फ्युचर० मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाउ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाउ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट समेतको व्यवस्थापन गरिएको छ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ। एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको यो पहिलो पटक हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।
काठमाडौं: भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । भारत र अस्ट्रेलिया दुवैले एक नम्बर टोली बन्ने मौका पाएका थिए । अस्ट्रेलियालाई पराजित गरेसँगै भारत पहिलो नम्बरको टोली बनेको हो । योसँगै भारत क्रिकेटका तीन वटै फर्म्याटमा पहिलो बनेको छ । भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो । अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकप अघि आईसीसी वरीयतामा नम्बर १ टोली बन्न सक्नेछैन । तर यदि अस्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अङ्क हुनेछ र पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टोली बन्नेछ । वरीयतामा नेपाल भने १५औँ स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवै खेलमा हार ब्यहोरेको थियो ।
पोखरा: विभागीय पुलिस क्लब र घरेलु टोली गण्डकीबीच लामाचौर कपमा उपाधिका लागि घम्साघम्सी हुदै थियो । अधिकांश प्रशंसक गण्डकीको पक्षमा देखिएपनि केही भने नेपाल पुलिस क्लबलाई हौसाउँदै थिए । ‘उमेरले कलिलै भए पनि जिम्मेवारी ठुलो छ । सबैले टर्की–टर्की भन्नेरैछन् । स्पाइक पनि तर्सिने गरी नै हान्ने रैछ, ‘दर्शक दिर्घामा आवाज सुनियो, ‘केटोलाई राष्ट्रिय टिममा देख्न पाइयोस् ।’ अग्लो, पातलो र निकै छरिताे ज्यान, उनको स्पाइकको प्रशंसा सायदै कम हुन्छ । त्यसैले पनि उनीमाथि प्राय दर्शकको नजर थियो । यद्यपी अघिल्लो खेलमा जस्तो आफ्नो कौशल भने देखाउन सकेनन् । उनी रुकुम पश्चिमको सानीभेरी ३ का १८ वर्षीय पहल गहतराज हुन् । मैदानका पहल भएपनि प्रशंसकका भने ‘टर्की’ हुन् । सुर्खेतको खेलमा आफुभन्दा अग्ला खेलाडी थिए। 'उनलाइ टर्की भनिने रहेछ । पछि मलाइ सेकेन्ड टर्की भन्दा भन्दै प्रशंसकबाट मायालु उपनाम टर्की पाए,' उनी सुनाउँछन् । नेपाल पुलिस क्लबका मुख्य ४ खेलाडी एसियन गेम्सका लागि चीन गएपछि पहलले स्क्वाडमा स्थान पाएका हुन् । काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड र किङ्स कपबाट चर्चामा आएका गहतराज ‘टर्की’ ले पोखरामा सम्पन्न लामाचौर कपको उपाधि नजितेपनि दर्शकको काफि मन जिते । नेपाल पुलिस क्लबबाट सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका गहतराजलाई नेपाली भलिबलको उदीयमान खेलाडीको रुपमा हेरिएको छ । रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा उमेरले बल्ल १८ पुगेका पहल गहतराज ‘टर्की’ छोटो समयमा नै भलिबलमा चर्चामा आएका छन् । स्थानीय क्लब र विद्यालयबाट भलिबलको विभिन्न प्रतियोगिता खेलिरहने पहलले पोखरामा सम्पन्न भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलेका थिए । केही महिना अगाडि काठमाडौंमा नै सम्पन्न भएको राष्ट्रपति कपमा कर्णाली प्रदेशलाई भलिबलको उपाधि दिलाउन उनै पहलको प्रदर्शन महत्वपूर्ण रहेको थियो । रुकुम पश्चिमको गहतराज नेपाल पुलिसमा आवद्ध हुनुपछाडि रेफ्री गोपाल गुरुङको हात रहेको उनले बताए । केही महिना अगाडिरुकुम कपमा खेल सञ्चालन गर्न गएका रेफ्री गोपाल गुरुङको सल्लाहपछि नेपाल पुलिसमा स्थान बनाएका हुन् । यद्यपी उनीमाथि नेपाल पुलिस क्लबको नजर परिरहेको थियो । पहल क्लबमा आवद्ध भएको भर्खर २ महिना मात्रै भएको छ । २ महिनामा उनले २ वटा प्रतियोगिता खेलिसकेका छन् । ‘पुलिस क्लबमा आको बल्ल २ महिना भयो । अहिलेसम्म क्लबबाट जम्मा २ वटा गेम खेलेको छु । यहाँ खेल्नु र सिभिलमा खेल्नु धेरै फरक हुनेरहेछ,’ सुनगाभा न्यूजसँग भने । उनले गाउँ, जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको क्लबमा स्थान पाएकाले सपनाको नजिक रहेको बताए । ‘खेलाडीको सपना भनेकै देशको जर्सी पहिरिने नै हुन्छ नी । मेरो पनि त्यही छ, उनले भने, ‘मेहनत गर्दैछु । अहिले उमेर पुगेको छैन । उमेर पुगेपछि भर्ती लाग्ने हो । त्यसपछि बल्ल बाँच्न सक्ने स्थिति पनि बन्छ । गेमको स्किल पनि बढ्दै जान्छ ।’ उनले आफ्नो खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिने बताए । ‘दाईदिदीबाट भलिबल खेल्न कुनै रोकतोक थिएन । परिवारको साथ सहयोग पाए’, उनले भने, ‘कक्षा १२ पास गरिसकेको छु । पढाईलाई र खेललाई सँगै लाने योजना छ ।’ उनले आफु नेपाल पुलिस क्लबबाट खेल्न पाउनु पछाडी राष्ट्रिय खेलाडीका सदस्य भइसकेका रविन चन्द, विशाल विक लगायत पुलिस क्लबको सदस्यहरुको सहयोग रहेको सुनाए । ‘नेपाल पुलिस क्लबबाट खेल्ने सबै खेलाडी तथा दाइहरुको साथ सहयोग पाएको छु’, उनले भने, ‘स्थानीय क्लबबाट खेल्दा र विभागबाट खेल्दा धेरै नै फरक हुने रहेछ ।’
काठमाडाैं: चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । समूह बीचमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका घोरबन्दामा तीजको अवसरमा सम्पन्न घोरन्दा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सराई एफसीले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) लाई ३–० गोल अन्तरतले पराजित गर्दै सराईले उपाधि जितेको हो । सराइलाई उपाधि दिलाउनका लागि फाइनल खेलमा आशिष रानाले २ र राम किशान पौडेलले १ गोलको योगदान दिएका थिए । उपाधिसँगै सराइले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्याे । उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट र सर्वाधिक गोलकर्ताका रुपमा सराई एफसीका आशिष राना पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षक सोही क्लबकै गोबिन रानामगर घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा आयोजकका सन्दिप मगर र मिडफिल्डरका रुपमा सफल आचार्य पुरस्कृत भए । कुल ११ टिमको सहभागिताबाट विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, माथागढी गाउँपालिका ३ का वडाध्यक्ष तेज घर्तीमगर, पुरस्कारदाताहरु तथा आयोजक संस्थाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए । आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई लामाचौर भलिबल कपको उपाधि दिलाउन प्रतियोगिता भर सानदार प्रदर्शन गरेका गण्डकीका ओपन स्पाइकर रवि केसी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी गण्डकी प्रदेशले उपाधि जितेको थियो । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा गण्डकीकै कप्तान हरि पाण्डे तथा गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका कुल बहादुर थापा सर्भर, अभिषेक थापा सेटर र भीम गाहा उत्कृष्ट लिवेरो चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पोखरा: गण्डकी प्रदेश भलिबल संघले पोखरा लामाचौरमा सम्पन्न भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट जितेको थियो । दोस्रो सेटमा सुरुवाती अग्रता बनाउँदै गण्डकीले (९–९)को अवस्थाबाट लगातार पाँच अङ्क जोडेपछि दोस्रो सेटमा हावी हुँदै २५–१९ ले जितेको थियो । यस्तै फाइनल खेलमा तेस्रो सेटमा गण्डकीको २० र नेपाल पुलिस क्लबको २१ अङ्क हुँदा रेफ्रीको निर्णयमा पुलिसले असहमति जनाउँदा खेल केही समय रोकिएको थियो । उक्त सेट गण्डकीले २१–२५ ले गुमाएको थियो । चौथो सेटमा गण्डकी प्रदेश पुलिस भन्दा (२४–२१)को अवस्थामा भएपनि पुलिसले उत्कृष्ट खेल खेल्दै लगातार चार अङ्क जोड्दै २४–२४ को बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक भएको चौथो सेट गण्डकीले २८–२६ ले जितेको थियो । पाँचौ तथा निर्णायक सेटमा गण्डकीले सुरुवाती अग्रता बनाउँदै १५–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । ‘लामाचौर कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता गण्डकीले नगद १ लाख ५० हजार १ सय ११ र उपविजेता भएको नेपाल पुलिस क्लबले १ लाख १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा तेस्रो भएको नेपाल एपिएफ क्लबले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा सम्पन्न भएको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबल एवम् दोस्रो संस्करणको पुरुष भलिबलको आज सम्पन्न भएको हो । असोज २९ देखि असोज १ गतेसम्म सञ्चालन लामाचौर तीज महोत्सवमा आयोजित लामाचौर कपको पुरुष तर्फको फाइनल खेल घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको थियो ।

