काठमाडौं: चार देश सम्मिलित महिला टी– २० शृङ्खलाको खेलमा नेपाल मलेसियासँग पराजित भएपनि फाइनलमा पुगेको छ । आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १/१ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् । नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । मलेसियाले पनि ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।
काठमाडौं: चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् । शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा हङकङलाई ६ विकेटले पराजित गरेको छ । मलेसियामा मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । जितको लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रन, पुजा महतोले १६, रुविना क्षेत्रीले १०, इन्दु बर्माले नौ र सीता रानामगरले अविजित तीन रन बनाईन् । बलिङमा हङकङका इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिईन् । यसअघि बायोमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १९.१ ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको थियो । हङकङको लागि का यिंग चानले सर्वाधिक ३४ रन बनाईन् । अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा नेपालका सीता रानामगरले पाँच विकेट लिईन् । इन्दु बर्माले दुई तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले एक एक विकेट लिईन् । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग र तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल्नेछ । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरव इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ । नेपालले पहिलो खेल ३१ अगष्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।
पोखरा: गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो । विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए । प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ । दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ १६ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका कोषाध्यक्ष जनक गाहामगरले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए । सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, गाहामगरले भने । यस्तै क्लबका अध्यक्ष आशिष झेडींमगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताउदै २०३८ सालदेखि नै खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (१ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८४७०९९१९८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।
पोखरा: तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए । उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित पैयुम फुटसल मैदान सञ्चालन हुनेछ । सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ । यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ ।
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशको पोखरा लगायत आठ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को आय–ब्यय सार्वजनिक गरेको छ । नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो । प्राविधिक र प्रक्रियागत कारणले खर्च सार्वजनिक गर्न केही समय ढिला भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । ‘‘प्रतियोगिता दशैं र तिहारको बीचमा भयो । लगत्यै मंसिरमा भएको निर्वाचनमा राखेप कर्मचारी खटिनुपर्ने अवस्था आयो । विभिन्न शीर्षकको रकम रकमान्तरको प्रक्रिया पूरा गर्न २०८० को असार मसान्तको पहिलो सातासम्म लाग्यो । त्यसपछि खर्चको एकिन विवरण सार्वजनिक गर्न सकिएको हो,’’ सदस्य सचिव घिसिङले भन्नुभयो । घिसिङले नवौं प्रतियोगिता आठौंभन्दा भिन्न हिसावले भएको र कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता थप ब्यवस्थित र संघीयताको मर्मअनुसार आयोजना गरिने दावी पनि गर्नुभयो । ‘‘१०औं को मोडालिटी पूर्ण परिवर्तन हुनेछ । पूर्वाधार निर्माण, खेलाडीको खेल पोशाक, किट्स, बसोबास, खेल स्थलको ब्यवस्थापन जस्ता विषयलाई प्रदेशकै जिम्मा लगाईने छ । यसको विषयमा राखेपले थप अध्ययन गर्नेछ,’’ घिसिङले भन्नुभयो । नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि नेपाल सरकारले ६० करोड १० लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । त्यससँगै राखेपले प्रायोजक, टिकट विक्री र बीमा संस्थानबाट ५१ लाख ५२ हजार सात सय रुपियाँ प्राप्त गरेको थियो । सरकार र प्रायोजक लगायतबाट कूल ६० करोड ६१ लाख ५२ हजार ७०० रुपियाँ प्राप्त गरेको राखेपले प्रतियोगिता सम्पन्न गर्न ५३ करोड ७९ लाख ४ हजार २३९ रुपियाँ खर्च गरेको उल्लेख गरेको छ । ६ करोड ८२ लाख बचत प्रतियोगिता आयोजना खर्च कटाएर ६ करोड ८२ लाख ४८ हजार ४६० रुपियाँ बचत गरेको पनि राखेपले जनाएको छ । राखेपले नवौंमा सहभागी खेलाडीले पाउने रकम सम्बिन्धित खेलाडीको खातामा पठाएको जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला गरी कूल ६ हजार १२७ खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्यसहित कूल एक हजार ३४७ पदका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सात प्रदेश, विभागीय तीन र एनआरएनए गरी ११ टिमले भाग लिएका थिए । जसमा विभागीय टोली त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको थियो । राखेपले पहिलो पटक टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँको छुट्टै च्याम्पियन ट्रफी पुरस्कारको समेत ब्यवस्था गरेको थियो ।
काठमाडौं: भुटानको लिग च्याम्पियन पारो एफसीमाथि कठिन जित निकाल्दै नेपालको मच्छिन्द्र क्लब एएफसी कप-२०२३ को दोस्रो चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३-२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको अन्तिम १५ मिनेट उत्कृष्ट प्रदर्शन गरेको पारोको बराबरी गोल फर्काउने प्रयास सफल भएन । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा लय गुमाएको थियो । मच्छिन्द्रको जितम विमल घर्तीमगर, आयुष घलान र अोलावाले अफिजले गोल गरे । पारोका लागि काजुअो होमा र इभनास असान्तेले गोल गरे । पारोले सातौं मिनेटमै अग्रता काजुओले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा पोस्ट् नजिकबाट गोल गरेका थिए । तर पारोको अग्रता लामो समय टिकेन । १२औं मिनेटमा वीमल घर्तीमगरले उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्र्या । तीन मिनेट लगत्तै आयुश घलानले विमलको पासमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि ओलावाले अफिजले ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई ३–१ अग्रता दिलाए । पारोका इभनासले ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काउने प्रयास गरे । चार हजार दर्शकको साथ पाएको मच्छिन्द्र अन्तिममा अग्रता जोगाउन अत्तालिएको थियो । अन्तिममा मच्छिन्द्रको पोस्ट्मा लगातार प्रहार गरेपनि पारोको बराबरी गोल र्फाउने प्रयास सफल भएन । मच्छिन्द्रले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेताको रुपमा एएफसी कप खेलेको हो । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो । मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै एएफसी खेलेको थियो । तर मच्छिन्द्रको यात्रा दशरथ रङ्गशालाबाट अगाडि बढ्न सकेको थिएन । मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ तारिख खेल्नेछ ।
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखराबाट १ सय ५ जना खेलाडी यू–१९ फुटबलका लागि छनौट भएका छन् । मुख्य प्रशिक्षक किरण श्रेष्ठको टोलिले पोखराको रङ्गशालामा भएको २ दिने छनौट चरणबाट १ सय ५ जना चुनेका हुन् । गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार छनौट हुनेमा कास्कीबाट २६ जना, नवलपुरबाट १६, बागलुङबाट ३, लमजुङबाट १०, तनहुँबाट १७, स्याङजाबाट ११, गोरखाबाट ९, पर्वतबाट १ र म्याग्दीबाट ७ जना छनौट भए । गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाट खेलाडी छनौटमा नपरेको गुरुङले जानकारी दिए । यद्यपी पाल्पा, सुनकोशी, डोल्पाबाट १/१ जना परेका छन् भने नवलपरासीबाट २ जना चुनिएका छन् । ‘हामीले केन्द्रसँग समन्यव गरेर नै काम गरेका छौं, खेलाडीलाई जहाँ पायक पर्छ त्यही छनौट गर्न पाउने व्यवस्था मिलाएका कारण पोखराबाट अन्य प्रदेशका ५ जना खेलाडी भाइहरु पनि छनौट हुनुभाछ,’ गुरुङले भने । अब उनीहरु अन्तिम छनौटका लागि काठमाडौं जानेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अन्तिम छनौट आगामी अगष्ट ११ देखि १५ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ । नेपालका लागि अन्तिम छनौट भएपछि आगामी सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एएफसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङका अनुसार छनौट प्रतियोगितामा २ सय ७२ बढी खेलाडी सहभागि थिए ।

