पोखराः   पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर)  पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि  जितेका छन् ।   &ls...

पोखरा: पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ ।  १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । उनले २९ बलमा ९ चौका प्रहार गरे ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो ।  ओपनर इशान पाण्डे शुन्यमै पेभिलियन फर्किए । कृष कार्की ४ रनमा क्याच आउट भए । उत्तम रंघु थापा मगर १८ रनमा क्याच आउट भए । उनले १७ बलमा ४ चौका प्रहार गरे । दिनेश बुढामगर ४ र अभिषेश थापा १४ रनमा आउट भए । अशोक पौडेल ६ रन बनाउँदा दिपक केवत १७ रनमा बोल्ड भए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । चन्द्रकान्त पौडेल १ रनमै एल्बी डब्लु भए । सन्दिप पराजुली ७ रनमा आउट भए ।  गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३.४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदिप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो ।  यस अघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यस अघि हिमालयन क्रिकेट एकेडेमीसंग २ विकेटको हार व्यहोरेको थियो ।  सोही समूह तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ ।  ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो ।  हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर दिपक बोहोरा ‘बि’ १० रनमा आउट भए । खडक बोहोराले १२, सोनु देवकोटाले २ र हिमाल दौल्याल १० रनमा आउट भए । अर्का दिपक बोहोरा शुन्यमा नटआउट रहे । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । ओपनर गोविन्द विक ७ रनमा बोल्ड भए । सुर्यान्सु कोइराला १ रनमा क्याच आउट भए । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेल्दै क्याच आउट भए ।  उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्धमा अर्धशतक बनाए । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगर ५ र गौतम केसी १ रनमा क्याच आउट भए । रोशन झा २, दिपेश श्रेष्ठ ३, कमल परियार ८, विशाल खत्री १ रनमा आउट भए ।  हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । दिपक चन्दले ३ तथा प्रतिश जिसी र दिपक बोहोरा ‘बि’ ले १÷१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो ।  समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमीफाइनल प्रवेशका लागि भोलि यि दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बिच प्रतिष्ठाको खेल हुनेछ ।   

पोखरा:   भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ ।   गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको हाे ।   प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।   यो रकम हालसम्मकै उच्च बचत रहेको बरुवालको भनाई छ । उक्त रकम मञ्चको अक्षयकोषमा जम्मा गरिएको छ ।   म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले अक्षयकोष सञ्चालन गरिएको छ ।   कोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ जम्मा भएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । 

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला जारी छ ।    सो मेलामा महिला भलिबलतर्फ हिमशिखर युवा क्लब धम्पुस र बौद्ध सिर्जना युवा क्लब घलेल उपाधिका लागि भिड्ने भएका छन् ।   आज भएको पहिलो सेमिफाइनल खेलमा धम्पुसले आयोजक ल्वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए  ।   उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई बौद्ध सिर्जना युवा क्लब धलेलले २–० को सोझो सेटमा हराउँदै फाइनलमा धम्पुससँगको भेट पक्का गर्याे । अब फाइनल खेल आगामी २७ गते बुधबार सम्पन्न हुनेछ ।   यस्तै सोही दिनदेखि पुरुषतर्फको खेलपनि सञ्चालन हुनेछ । पुरुषतर्फ आजसम्म कुल १८ टिमको दर्ता भएको छ ।   बेलुन फुटाउने प्रतियोगितमा आयान गुरुङ प्रथम, वानयान पुन द्वित्तिय र कृजल परियार तृतीय बनेको खेल संयोजक अनोद गुरुङले बताए ।   उनका अनुसार मेच घुमाईतर्फ प्रिया परियार प्रथम र मनिसा विक द्वित्तिय बनिन् ।    पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।   उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ  ।   २६ गतेका कार्यक्रम पोस्टपोन्ड   आयोजक संस्थाका निवर्तमान अध्यक्ष दिपक गुरुङका बुबाको निधन भएपछि २६ गते हुने भनिएको कार्यक्रम २७ गतेका लागि पोस्टपोन्ड गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।    ‘आज हाम्रो क्लबका निवर्तमान अध्यक्षज्यूको पुजनीय बुबाको निधनले हामी सबै स्तब्ध भएका छौ, उनले भने, ‘त्यसैले हिजोबाट सुरु भएको मेलाका २६ गते हुने भनिएको सबै कार्यक्रम एक दिन पोस्टपोन्ड गरेका छौ । अब हाम्रो मेला पर्सीबाट निरन्तर हुनेछ ।’  

पोखरा:  राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौंसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ । पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप पुरुष राष्ट्रिय टि२० क्रिकेटमा तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौ ९ विकेटले बिजयी भएको हो ।  जित संगै लिगमा अपराजित रहँदै कुल ६ अंकका साथ उसले सेमीफाइनल यात्रा सुरक्षित गरेको छ । पोखराले आफ्ना लिग चरणका तीन खेलमा नै पराजयको सामना गरेको छ । पोखरा महानगरले टस जितेर व्याटिङको सुरूवात गर्दै १७.२ ओभरमा १० विकेटको क्षतीमा ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्ता पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।  दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २र२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे । ५४ रनको झिनो लक्ष्य पछ्याएको टिमको कप्तानी सम्हालेका रित गौतमले आक्रमक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए ।  त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए । समुह एको अन्तिम लिग खेल हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक–एक खेल जितेका छन् । 

पोखरा:   केपी ओली कप राष्ट्रिय खुल्ला टि–२०  पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा महानगर क्रिकेट कलबविरूद्धको खेलमा हेटौडा विजयी बनेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले विजयी बनेको हो ।   जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङजासँग पराजित भएको थियो ।   समुह ‘ए’को खेलमा पहिलो दिन एक खेल गुमाएको हेटौडा पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भयाे ।    यसअघि टस जितेर व्याटिङमा उत्रिएको पोखरा महानगर १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै जोड्न सक्यो ।   पोखराका लागि सुमित श्रेष्ठले ३ चौकाका साथ ३९ बलमा २६ रनको सर्वाधिक पारी खेल्दा प्रमोद बास्तोलाले १६ बलमा ३ छक्काका साथ २२ रन बनाउँदा दिपक बरालले १४ रन बनाउनु बाहेक अन्य व्याटरहरुले दोहोरो रन छुन सकेनन् ।   पोखरालाई सस्तैमा समेट्न अशिम श्रेष्ठ र अखिेलश ठाकुरले समान ३/३ विकेट हात पारे ।   खेलको म्यान अफ दि म्याच समेत रहेका अशिमले ३.५ ओभरमा २२ रन खर्चीएर ३ विकेट लिए भने अखिलेशले ३ ओभरमा १३ डटबल राख्दै ८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सम्सुद अल मन्सुरीले ४ ओभरमा १२ रन दिएर २ विकेट लिए ।   यता ७२ रनको लक्ष्य पछ्याएको हेटौडा १२ ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भयो । हेटौडाको जितमा ओपनर गौरभ खड्काको भूमिका महत्वपूर्ण रह्यो । ३२ बलको सामना गरेका उनले ४ चौका साथ ३२ बलमा ३४ रन जोडे । उनी मार्शल बरालको बलमा प्रमोद बास्तोलाको हातबाट क्याच आउट भए ।     खेलमा पोखराका बलरले भने हेटौडाको मिडल अर्डर ब्याटरहरुलाई क्रिजका लामो समय टिक्न भने दिएन । अर्का ओपनर सुभाष कशांकार तीन बलको सामना गर्दै सुभाष बास्तोलाको एलविडव्लु हुँदै डकआउट भए । तेस्रो क्रमका युविन बुढाथोकी समेत सून्य रनमा पेभिलियन फर्किए ।   दुई बलमात्रै खेलेका उनी समिर भुजेलको बलमा सुभाष बास्तोलाको हातमा क्याच थमाए । त्यस्तै सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बास्तोलाले ४ रन बनाउँदा नट आउट रहेका अखिलेश ठाकुरले ८ तथा राम नरेश गिरीले १४ रनको योगदान दिए ।   पोखराका लागि समीर भुजेलले  ४ ओभरमा मात्र १५ रन खर्चिएर १ विकेट हात पार्न सफल हुँदा ञ्जन केसीले ३ ओभरमा १० रन खर्चेर २ विकेट र मार्शल बरालले १ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।   यो खेलसँगै सिइसी काठमाण्डौ र स्याङजा क्रिकेट क्लबका बीच दोस्रो खेल जारी रहेको छ ।   मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु भएको क्रिकेटमा १६ टिमको सहभागिता रहेको छ । बैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ ।    पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।

पोखरा:  पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन ।  प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ ।  १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो ।  ओपनर आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि सुमित श्रेष्ठले ५३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे ।  अभिनव शाह ३, धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन केसी ४ रनमा आउट भए । स्याङजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम न्यौपानेले २ तथा मिलन लुटेल र किरण भट्टराईले १÷१ विकेट लिए ।  त्यस अघि टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । स्याङजा कालागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।  किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । इशवर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए ।  विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६, सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान २÷२ विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले १÷१ विकेट लिए ।   दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा १८.५ ओभरमा १४० रनमै अलआउट भयो । हेटौडाका लागि सुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । ओपनर गौरभ खड्का ८ रनमै आउट भए ।  सुमन सुनार ३८ रनमा आउट भए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । युविन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा आउट भए । काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट लिए भने मनोज यादवले २ विकेट लिए ।  टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।  यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे । उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए । रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ, सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १÷१ विकेट लिए ।   

ताङतिङ युवा क्लबले ३१ औं चैत मेलाको अवसरमा गाउँकै पर्यटकीय गन्तव्य क्रपु डाँडाको नाममा आयोजना गरेको म्याराथनमा  नेपाल आर्मीका नरेन्द्रसिंह रावतले उपाधि जितेका छन् ।   ताङतिङ युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका-१३ काहुँखोलादेखि मादी गाउँपालिका-२ ताङतिङसम्म शुक्रबार भएको २४ किलोमिटरको म्याराथन रावतले जितेका हुन् ।   उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेटमा पूरा गरेको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । रावतले ४० हजार रुपैयाँ र मेडल पुरस्कार प्राप्त गरे ।   म्याराथनको विजेतामा आर्मीकै धावकको वर्चस्व रह्यो । उत्कृष्ट ७ मध्ये ५ धावक आर्मीकै रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।   आर्मीकै श्रीकोश राई १ घण्टा ४६ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेर द्वितीय भए । उनले ३० हजार रुपैयाँ र मेडल पाए ।   जुम्लाका दलबहादुर कुँवर तृतीय र रोल्पाका मनकुमार रोकामगर चौथो भए । कुँवरले १ घण्टा ४८ मिनेट ३५ सेकेन्डमा र मगरले १ घण्टा ५० मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे । कुँवरले २० हजार रुपैयाँ, मगरले १० हजार रुपैयाँसहित मेडल पाए ।   आर्मीका सुवास कार्की पाँचौँ, गोविन्द कार्की छैटौं र रिकुलाल सिंजाली सातौं भए ।   सुवासले १ घण्टा ५१ मिनेट ३० सेकेन्ड, गोविन्दले १ घण्टा ५३ मिनेट ३० सेकेन्ड र रिकुलालले १ घण्टा ५५ मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका थिए । उनीहरुले क्रमश: ८ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे । म्याराथनमा ८७ जना धावक सहभागी थिए । 

पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ ।   एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको  शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।   पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् ।   प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।   ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण गराउनेछौं । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ उनले भनिन् ।   एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निशुल्क प्रशिक्षण गराउनेछ ।   प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।   प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् ।   विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।   दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।   हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । टिम दर्ताका लागि चैत २७ गतेसम्मका लागि समय दिइएको छ । खेल हेर्नका लागि प्यारापिट बनाइएको र १२ सयदेखि १५ सयसम्मको दर्शक क्षमता रहेको रोकाले बताए ।   कप्तान शाहीसहित ३ जना मिलेर नदिपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरुले महिला खेलाडीहरुलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।   विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् ।   उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ । पहिलाको जुन साख छ पोखराको । त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो ।’

पोखरा: भोलिबाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् ।  प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ ।  खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब रहेका छन् ।  समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् ।  समूह ‘सी’ मा लुम्बनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् । यस अघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करण मधेश प्रदेशले जितेको थियो ।  चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीका अध्यक्ष धु्रब आचार्यले जानकारी दिए ।  प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ । अध्यक्ष आचार्यले हाल सम्म २९ भन्दा बढि टिमले पत्र पठाए पनि अन्तिम चरणमा १६ टिमको मात्रै सहभागिता गराएको बताए ।  उनले क्रिकेट विकासका लागि अब ग्रासरुट स्तरमा जानुपर्छ भन्ने अवधारणा अनुरुप आफुहरुले यस पटक खुल्ला क्लबस्तरीय क्रिकेटको आयोजना गरेको सुनाए । उनका अनुसार हरेक टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई समेत समावेश गराउन पाउनेछन् ।  उनले भने, ‘‘सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गरेर १६ टिम मात्र सहभागिता गराएका छौं ।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका उनले यूवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए ।  उनले भने–“अहिले धेरै यूवा खेलाडीहरूलाई यस्तो प्रतियोगिताहरूको खाँचो छ । जहाँ बाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्नेछ ।” प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ भने प्रतियोगितामा प्रवेश निशुल्क गरिएको छ ।