रिंजे नाँसा ब्यूताउन कस्सिएका शमशेर, जाे घरमा तितेपाती उम्रेको देखेपछि शहर फर्किएनन्
पाेखरा | माघ ८, २०८०
पोखरा: वर्षदिनको मेसो पारेर शमशेर गुरुङ गाउँ फर्किरहन्थे । गाउँघरमा आफ्ना इस्टमित्र भेटेपछि फेरी उही काठमाडौं नै फर्कन्थे ।
काठमाडौंमा विभिन्न पेशा व्यवसाय सञ्चालन गरेर उतै भुलिरहेका थिए गुरुङ । तर अहिले उनै गुरुङ पोखरा महानगरपालिका १६ को रिंजे नाँसा (रन्जित गाउँ) मै भेटिन्छन् ।
यतिबेला उनलाई गाउँ ब्यूताउने मात लागेको छ । बसाइसराईले रित्तिएको गाउँमा पर्यटकको ओइरो लगाउने भुत चढेको छ । त्यसैले उनी अहिले रिंजे नाँसा होमस्टेको मालिक भएर दौडधुप गरिरहेका छन् ।
हरेकवर्षझैं उनी २०७५ सालमा गाउँ पुगेका थिए । त्यसपछि गुरुङलाई काठमाडौं फर्किन मन लागेन । घरको आँगन सिस्नु र तितेपातीले ढाकेको थियो जहाँ गुरुङ सानो छदा घाम तापेर पढ्ने गर्थे ।
‘बसाइसराइले गाउँ रित्तो बनाएको सुनिन्थ्यो । अहिले रन्जित गाउँ पनि अछुतो रहन सकेन, गुरुङ भन्छन्, ‘पेशा व्यवसायकै कारण म पनि काठमाडौमा एक दशक बढी बिताए । हरेक वर्ष गाउँमा आइरहन्थे । त्यै २०७५ सालको कुरा हो, घरको आँगनमा पुरै पाती र झाँडीले कब्जा जमाएको देखे । त्यसपछि म गाउँघर ब्यूताउन भनेर यही बसे ।’
गुरुङले अहिले रिंजे नाँसामा होमस्टे सञ्चालन गरिरहेका छन् । पोखरा महानगरपालिका भित्रै पर्ने यस गाउँमा गुरुङ र तामाङ जातिको बसोबास छ । \
उनले गाउँ फर्किएपछि प्रचारप्रसार गर्ने लक्ष्यसहित गाउँ चिनारी गीत र चलचित्र समेत निर्माण गरे । यद्यपी सोचेजस्तो प्रतिफल पाइनन् । त्यसपछि होमस्टे सञ्चालन गरेको उनी बताउछन् ।
‘गाउँबाट पैसा कमाउन म पनि शहर पसेको हो, पोखरादेखि काठमाडौंसम्म विभिन्न पेशा व्यवसाय सञ्चालन गरे । अलिअलि पैसा पनि कमाएर गाउँ फर्किए, उनी भन्छन्, ‘हामी विभिन्न देश विदेश गएर पैसा कमाउछौं अनि शहर नै रोज्छौं । अब पैसा कमाएर गाउँमा उत्पादनको स्रोत खोज्नु पर्छ भनेर होमस्टे सञ्चालन गरेको हुँ । पछिल्लो समय रिंजेनाँसाको प्रवद्र्धनमा यसले निकै सघाएको छ ।’
उनले होमस्टेसँगै बाँझो रहेको खेतबारीमा स्थानीय स्तरमा उत्पादन हुने अन्नवालीसमेत लगाउँदै आएका छन् । त्यहीबाट बनेका परिकारहरु होमस्टे पुगेका पाहुनालाई पस्किने गरेको उनी सुनाउछन् ।
‘गाउँ रित्तिएपछि खेतबारी जम्मै बाँझो बन्यो, अहिले त्यहाँ कोदो, मकै, सागहरु रोप्ने गरेको छु, होमस्टेमा आउने पाहुनाहरुलाई त्यहीबाट बन्ने लोकल परिकारहरुको स्वाद चखाउने गरेको छु,’ उनले भने ।
युवाहरुलाई उत्पादनमा जोड्न कफी र किवी खेती
बसाइसराईको कारण गाउँको खेतबारी सिस्नो र झाँडीले भरिन थालेपछि युवाहरुलाई उत्पादन र रोजगारमा जोड्न कफी र किवी खेतीको सुरुवात गरेको शमशेर बहादुर गुरुङ सुनाउँछन् ।
‘युवाहरु विदेशीएसँगै शहर झर्दा गाउँको खेतबारी बाँझो पल्टिएको छ । युवाहरुलाई गाउँमै उत्पादन र रोजगारसँग जोड्न कफी र किवी खेतीको सुरुवात गरेका छौं, गुरुङ थप्छन्, ‘विदेशमा मास्टर डिग्री गरेर छोरो पनि यसै कफी र किवी खेतीमा जोडिएको छ ।’
गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय युवाहरुलाई रोजगारसँग जोड्न विभिन्न व्यवसायकोसमेत सुरुवात गरेको उनी बताउँछन् ।
‘होमस्टे भनेको गाउँलाई उत्पादन र विकाससँग जोड्ने माध्यमको रुपमा बुझेको छु, उनी भन्छन्, ‘गाउँका युवाहरुलाई रोजगारसँग जोड्नका लागि बाख्रा पालनदेखि विभिन्न व्यवसायमा जोड्न प्रेरित गरेको छु ।’
गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनका लागि झरनामा क्यानोनिङ, गाउँमा साइकल लेनकोसमेत योजना रहेको छ ।
रिंजे नाँसा कसरी जाने ?
पोखरा महानगरपालिका–१६ महेन्द्रगुफा बाट माथि उक्लेपछि रिंजे नाँसा पुग्न सकिन्छ ।
धार्मिक आस्था राख्ने र नयाँ पर्यटकीय ठाउँमा रमाउन चाहाने पर्यटकहरुका लागि रिंजेनाँसा नयाँ गन्तव्य बन्न सक्छ । जहाँ जान महेन्द्र गुफाबाट आधा घण्टाको बस यात्रापश्चात रिंजेनासा पुग्न सकिन्छ भने पैदल पनि जान सकिन्छ ।
पर्यटकका लागि सो गाउँमा मुलकोट भूमी मन्दिर र पार्केडाँडा नाँगीडाँडाबाट हिमशृङ्खलाको अवलोकन, मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।
यस्तै धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि होमस्टे नजिकै रहेको नौधारे सिद्ध बराह मन्दिरको पनि दर्शन गर्न सकिन्छ । जहाँ माघेसंक्रान्तिको दिन मेला र पुजासमेत हुने गर्छ ।
चितवन: चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ। ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो। ...
तनहुँ: जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री श...
चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने &ls...