विद्युत् ट्रिपिङले बढायो लागत
काठमाडाैं | चैत २७, २०७८
भैरहवा, चैत २७ गते । भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूमा विद्युत् ट्रिपिङका कारण उत्पादन लागत बढ्न थालेको छ । उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीले बताएका छन् ।
भैरहवा–बुटवल कोरिडोरमा रहेका उद्योगमा केही दिनयता अनियमित विद्युत् कटौती, भोल्टेज घटबढ हुने र ट्रिपिङ हुने गरेको छ । लामो समयसम्म कोभिड–१९ को महामारीबाट थलिएर भर्खरै उठ्दै गरेका बेला फेरि विद्युत् ट्रिपिङको समस्या भोग्नुपरेको गुनासो उद्योगीको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बढ्दो गर्मी, उच्च माग र भारतबाट आउने विद्युत् अनियमित भएका कारण ट्रिपिङको समस्या आएको हो । विद्युत् ट्रिपिङका कारण उद्योगमा औद्योगिक मेसिनरी सामान बिग्रिनुका साथै उत्पादन लागतसमेत बढेकाले बजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको उद्योगीको गुनासो छ ।
एक सातादेखि विद्युत् ट्रिपिङ बढेको भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा रहेको एसआर फुड्सका सञ्चालक सुमन भुसालले बताउनुभयो । “पटकपटक बिजुली जाँदा उत्पादन लागत बढेको छ, जसका कारण बजारमा प्रतिष्पर्धा गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।
विद्युत् ट्रिपिङले जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्नुपर्ने र डिजलको मूल्य आकाशिएका कारण औद्योगिक उत्पादन लागत बढेको भुसालले बताउनुभयो ।
उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय र भैरहवा वितरण केन्द्रमा बिजुलीको समस्या समाधानका विषयमा छलफलसमेत गरेका छन् । गोयन्का स्टिल्सका सञ्चालक अमित गोयन्काले दैनिक रूपमा १७–१८ पटकसम्म हुने बिजुलीको ट्रिपिङका कारण उद्योग नै बन्द गर्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले ट्रिपिङ समस्या समाधानका लागि उद्योगले एक दिन उद्योग बन्द गराएर भए पनि लोड मिलान गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।
घराना फुड्सका प्रबन्ध निर्देशक विकासकुमार गोयन्काले विद्युत् ट्रिपिङले निकै समस्या पारेको बताउनुभयो । ट्रिपिङको समयमा पाइपलाइनमा रहेको कच्चा पदार्थ खेर जाने गरेको बताउँदै उहाँले स्वदेशी उद्योगसँग पनि प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गर्नुभयो । एक पटक ट्रिपिङ हुँदा कच्चा पदार्थका साथै १५ मिनेट मेसिनले काम गर्न खर्चिनुपर्ने गोयन्काको भनाइ छ ।
लुम्बिनी प्रदेश सभाले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गर्दा रुपन्देहीलाई औद्योगिक राजधानी बनाउने भनेर घोषणा गरिएको थियो । उद्योगीले बिजुलीकै कारण औद्योगिक राजधानी बनाउने लक्ष्यमा बाधा पुगेको उद्योगीको भनाइ छ ।
ट्रिपिङका कारण भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी औद्योगिक कोरिडोर तथा भैरहवा आसपास क्षेत्रका उद्योग समस्यामा परेका छन् । त्यसमा पनि सबैभन्दा बढी ३३ केभीए फिडरअन्तर्गतका १७ वटा उद्योग मारमा परेका छन् ।
यस क्षेत्रमा पुरानो, न्यु वान र न्यु टु गरी तीनबटा ३३ केभीए फिडर रहेका छन् । प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले मागअनुसारको आपूर्ति नहुँदा ओभरलोड हुने र ड्रप कन्ट्रोलमा समस्या आएको बताउनुभयो । एकातिर माग बढेर आपूर्ति कम भएको छ भने अर्कोतर्फ आयातित बिजुली कम भोल्टको भइदिँदा ट्रिपिङ, भोल्टेज अपडाउनजस्ता समस्या देखिएको बताउँदै उद्योगीहरुसँग समन्वय गरेर समस्या समाधान गरिने उहाँले बताउनुभयो । उहाँले उद्योगी सबैले एकैपटक उद्योग चलाउँदा समस्या आएको भन्दै केही दिनभित्रमा सम्पूर्ण समस्या समाधान गर्ने बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

