झापा: उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४ः३० बजे नै पुग्नुहुन्छ । पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उहाँले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ । पकाएको भाक्का ग्राहकलाई बेच्न उहाँका श्रीमान भद्रु राजवंशीले सहयोग गर्नुहुन्छ । गोलभेडामा लसुन र अकबरे खुसार्नी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ । उहाँले दैनिक जसो २ हजारदेखि २ हजार ५ सयसम्मको भाक्का विक्री गर्दै आउनुभएको छ । भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरु, विद्यार्थी र गाडीका यात्रुहरु हुन्छन् । पहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्चेहरु आधा दर्जन जति छन् । उनीहरुले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन् ।चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ । धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरुले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन् । प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरुले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरुमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ । पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरुले मात्र बनाउने गर्दथे । तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरुले समेत भाक्का बनाउन थालेका छन् । यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक बर्ष पुस २९ गते झापामा विगत आठ बर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ । भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउनुहुन्छ । राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उहाँ बताउनुहुन्छ ।
काठमाडौं: आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन)बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “ड्रेसकोडको पालना भए÷नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।” परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको डे«सकोड लगाउनुपर्ने नियम बनाएको छ । त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो ।
काठमाडौं: आज सुनको मूल्य प्रतितोला रु १ हजारले बढेर रु १ लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु १ लाख ६३ हजार थियो । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार ९ सय ५० कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते रु १ लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।
पोखरा: कास्की र मनाङको सिमाना अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको थियो।
म्याग्दी: ४ महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयबासी र पर्यटकलाई समस्या भएको छ । स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ । सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतका साथै होटल ब्यवसायीहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडक अन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेको छैन् । वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । सडकको समस्याका कारण सवारी साधन मार्फत यसपालीको सरदयाममा घोडेपानीमा अपेक्षाकृत संख्यामा आन्तरिक पर्यटक भित्र्न नसकेका घोडेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ । १८ किलोमिटर ५ सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत बर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकालेनै मर्मत गर्न लागेको बताउनुभयो ।
काठमाडौं: कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ । सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु ६ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो । पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
काठमाडौं: क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । २ मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिनुभएको थियो ।
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कूल रु दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।” नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।