काठमाडौं: नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहनुभएकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गएराती निधन भएको थियो । उहाँ राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो । गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज १ सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ६२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६० हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९ सय ५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
चितवन: जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका ३ खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उहाँले भन्नुभयो,“अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।” चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको उहाँले बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उहाँको भनाइ छ । विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उहाँले जानकारी दिनुभयो । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उहाँको भनाइ छ । संयोजक विडारीले भन्नुभयो,“अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गर्दन् ।” तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उहाँले जानकारी दिनुभयो । अहिले हाँस प्रजातिका चराहरु आइसकेको जनाउँदै उहाँले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताउनुभयो ।
नुवाकोट: विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु ८ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ । ११ मिटर चौडा भएको २ ‘लेन’को पुल निर्माणको लागि सरकारको रु ८ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।यसअघिको ट्रस ब्रिज ८ मेट्रिक टन क्षमताको १ लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।
तनहुँ: निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उहाँको भनाइ छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
ढोरपाटन: ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । वि।सं।२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो । नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिनुभयो ।
दैलेख: जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताउनुभयो । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ ।
झापा: झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पु(याए । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन । “मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए”, भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भन्नुहुन्छ, “हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।” नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो । त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएको उहाँले बताउनुभयो । झापामा एक दर्जन बढी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन् । उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन् । १५ स्थानीय तहमा हात्तीले नडुलेको कुनै वडा छैन । हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन । प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ । “हरेक दिन दुई केजीसम्म आहारा नखाए हात्तीको पेट भरिँदैन”, चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्नुहुन्छ, “जङ्गलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन । राति गाउँ पस्दा पेट नअघाएपछि दिउँसो गाउँ पस्नु उसको बाध्यता हुनसक्छ ।” जनावरहरुले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उहाँ बताउनुहुन्छ । जङ्गलमा मात्र डुल्ने बाँदरहरु अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याँक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन् । कागलगायत चराहरु मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरुको आनीबानी परिवर्तनका रुपमा लिनुपर्ने खरेल बताउनुहुन्छ । दिउँसो जङ्गलका हात्ती गाउँमा निस्कँदा मानिसमाथि आक्रमणको सम्भावना अझ बढ्ने उहाँको भनाइ छ । “राति मानिस घरभित्र सुतेका हुन्छन्”, अभियन्ता खरेल भन्नुहुन्छ, “दिउँसो बालबालिका र वृद्धवृद्धा घर बाहिर निस्किएका हुन्छन् । खेतमा कामदार आफ्नै धुनमा हुन्छन् । यस्तो बेला हात्तीले अचानक हमला गर्दा ठूलो मानवीय क्षति हुनसक्छ ।” हात्तीले आफूलाई असुरक्षित अनुभूति नगरेसम्म भरसक आक्रमण नगर्ने उहाँले बताउनुभयो । पछिल्लो समय मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीलाई जङ्गलभित्रै पर्याप्त आहार मिल्ने पारिस्थितिक प्रणाली बनाउन मानिसले प्रयास गर्नुपर्ने अवधारणा विकसित भएको छ । झापाको अर्जुनधारा, मेचीनगर, हल्दीबारीलगायतका स्थानीय तहका सामुदायिक वनमा हात्ती, बाँदर र चराका लागि आहार बन्नसक्ने विभिन्न बोटबिरुवा रोप्ने अभियान चलाइएको छ । कोसी प्रदेश सरकारलेसमेत गत वर्ष ‘जसको जङ्गल, उसकै मङ्गल’ अभियानको घोषणा गर्दै पूर्वी नेपालको बाहुनडाँगीदेखि उदयपुरको बेल्टारसम्म हात्तीको बासस्थान र विचरण क्षेत्र पहिचान गरी जङ्गलभित्र आहार हुने बोटबिरुवा रोप्न थालेको थियो । तर, हाल उक्त अभियानले निरन्तरता पाएको छैन । जङ्गलभित्र पेटभरि खान पाउने हो भने जङ्गली हात्ती गाउँ नपस्ने खरेल बताउनुहुन्छ । जङ्गल फँडानी र जङ्गलभित्र पर्यटकीय पूर्वाधारका नाममा भएका गतिविधिले हात्तीलाई जङ्गलमा शान्तले बस्ने वातावरण नभएको उहाँको विश्लेषण छ । वन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार विगत १५ वर्षमा झापामा मानव–हात्ती द्वन्द्वका कारण ६७ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्ती मारिएका छन् । पुरातन सोच र अभ्यासबाट मानव–हात्ती द्वन्द्वको अन्त्य नहुने ठोकुवा गर्दै मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की अब सहअस्तित्व र हात्तीमैत्री सोचबाट अघि बढ्न आवश्यक रहेको बताउनुहुन्छ । “हात्ती त जनावर भइगयो, मानिसले चाहिँ आफ्नो प्रवृत्ति र सोचमा परिवर्तन ल्याउनुपर्छ”, हात्तीमैत्री अवधारणालाई आफ्नो वडामा व्यावहारिक रुपमा लागू गर्दै आउनुभएको कार्की भन्नुहुन्छ, “हात्तीसँग झडपमा उत्रने पुरातन तरिका बन्द गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग गर्दै बाली बिमा लागू गरेर क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्नुपर्छ ।”