काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

काठमाडौं:     नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।            मूल्य समायोजनसँगै डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।  निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।        इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काठमाडौं:    रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्ला नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ । त्यस क्रममा उहाँले गुल्मको कार्य, जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा उहाँले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष र अन्य सुरक्षा निकायका पदाधिकारीसँग त्यस क्षेत्रका गतिविधि र समस्याबारे केन्द्रित रही अन्तक्र्रियासमेत गर्नुभएको जनाइएको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो ।  “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।”  अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्नुहुँदै उहाँले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो । समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताउनुभयो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङ्घर्ष रहेको बताउनुभयो ।  आदिवासी जनजाति अधिकारकर्मी सरु सिङ्गक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गुर्नभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत ९समाजवादी०का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो । 

काठमाडौं:    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्युजीइओ)का अध्यक्ष सईद मोहम्मद अल ताएरसँग भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उक्त सङ्गठनमा सामेल हुने र यसको सामूहिक प्रयासहरूमा योगदान गर्ने सम्भावित लाभका बारेमा आफूहरू उत्साहित रहेको उल्लेख गर्नुहुँदै कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय सङ्लग्नतामा नेपालले स्थापित प्रक्रियाहरू पालना गर्ने र सम्बन्धित मन्त्रालयबाट आवश्यक अनुमोदन खोज्ने उल्लेख गर्नुभयो ।  “हामी संयुक्त अरब इमिरेट्स र डब्ल्युजीइओसँँगको सहकार्यका सम्भावित क्षेत्रहरू विशेषगरी नवीकरणीय ऊर्जा, दिगो कृषि र जलवायु वित्तको क्षेत्रमा प्राविधिक तथा वित्त सहयोग, ज्ञान, सीप तथा हरित वित्तका टुल्स हस्तान्तरण तथा क्षमता अभिवृद्धिलगायतका कार्यहरू अन्वेषण गर्न उत्सुक छौँ”, मन्त्री शाहीले भन्नुभयो । यस सहकार्यले नेपालका जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न र हरित अर्थतन्त्रलाई बढावा दिन महत्वपूर्ण प्रगति हासिल गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरालगायत उपस्थित हुनुहुन्थ्यो ।

बाँके:    नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुग्नुभयो ।  बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आउनुभएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ ।  “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका साइलाले भन्नुभयो, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छभने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।” जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आउनुभएका सर्नाम खाँ यो खेल सौखका लागि हुने गरेको बताउनुहुन्छ । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भन्नुभयो, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।” उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।  भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताउनुभयो ।  मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवकोे भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले बताउनुभयो ।  जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादव प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ । गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ ।  “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उहाँले भन्नुभयो । भेडा जुधाइ शनिबारसम्म चल्नेछ । 

सुदूरपश्चिम:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ ।  आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताउनुभयो ।  परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो, “नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।” उहाँले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताउनुभयो ।  अर्को प्रसङ्गमा नेपाली कांग्रेसकी नेतृसमेत रहनुभएकी डा राणाले ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरुको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो ।” परराष्ट्रमन्त्री डा राणा आफ्नो गृहजिल्ला डडेलधुराको उग्रतारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुन धनगढी हुँदै आज डडेलधुरातर्फ जानुभएको छ । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै हुनुहुन्छ ।

काठमाडौं:    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ ।  सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ । वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता, छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो । सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँ बिहीबार नै स्वदेश प्रस्थान गर्नुभएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहनुुभएको छ । मन्त्री शाही र वनसचिव डा दीपककुमार खरालले आज सम्मेलनस्थलमा नेपालका तर्फबाट भइरहेको कामकारबाही र तयारीबारे जानकारी दिन तथा समीक्षा गरी आवश्यक निर्देशन दिन कार्यक्रमको आयोजना गर्नुभएको थियो । नेपालबाट यहाँ आएका सबै सहभागीहरू उपस्थित सो कार्यक्रममा मन्त्रालयले गठन समूहले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।  कार्यक्रममा सहसचिवहरू धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदिर्शतामा अभिवृद्धि, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जीव राईले क्षमता अभिवृद्धि, उपसचिव धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दीपा ओलीले समावेशिताका विषयगत समूहले गरेका कामका बारेमा अवगत गराउनुभएको थियो । त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउनुहुँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गर्नुभयो । सचिव डा खरालले विषयगत समूहले सहभागिताका क्रममा गरेका कामको दैनिक रूपमा अनुगमन र समन्वय भइरहेको जानकारी दिनुहुँदै प्रभावकारिताका लागि जनशक्तिलाई सशक्त रूपमा परिचालन गरिएको उल्लेख गर्नुभयो । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले सम्मेलनमा सहभागी सबै देशको हितमा मात्र बोल्न र काम गर्न आग्रह गर्नुहुँदै सहभागीका लागि आचारसंहिता निर्माण गरिएको जानकारी गराउनुभयो । कोप–२९ मा ७३ हजारको सहभागिता आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ ।  सहसचिव डा ढुङ्गानाका अनुसार नेपालबाट यस सम्मेलनमा आउनका लागि वन मन्त्रालयबाट राष्ट्रपति पौडेल नेतृत्वको टोलीसमेत गरी करिब दुई सय जनाको नाम दर्ता गरिएको थियो । त्यसमध्ये अधिकांश सम्मेलनस्थलमा आइसकेको र केही अझै आउने क्रममा रहेका छन् । कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनफसिसिसीको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले उच्चस्तरीयसत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो । त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रको आयोजना गरिएको थियो । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल ९एनसिक्युजी०’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

काठमाडौं:     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।  ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र जर्मनबीच ऊर्जा  सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले जर्मनीले नेपालको आर्थिक विकासका लागि गरेको योगदानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चिलिमे–त्रिशूली प्रसारण लाइन, लेखनाथ–दमौली प्रसारण लाइन, सौर्य ऊर्जा प्रवर्द्धनजस्ता परियोजनामा जर्मन सरकारले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । मन्त्री खड्काले ऊर्जा क्षेत्रका आवश्यकतालाई सम्बोधन गर्न, क्षेत्रीय सहयोगलाई बढावा दिन र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई प्रवर्द्धन गर्न जर्मन सरकारले  सहयोग गरेका परियोजनाबाट निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।  ऊर्जामन्त्री खड्काले भर्खरै सम्पन्न भएको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामार्फत नेपालमा जर्मनीले गरेको कुल ५६ मिलियन युरो बराबरको प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो । भेटमा नेपालका लागि जर्मनीका राजदूत डा प्रिन्जले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक प्रसारण लाइन र सौर्य ऊर्जाको विकासका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभएको थियो ।  उहाँले नेपाली जनताको जीवनस्तर उकास्नका लागि जर्मन सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  भेटमा मन्त्री खड्कासँगै ऊर्जासचिव आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठ, मन्त्रीका निजी सचिव मनोज पन्थलगायतको सहभागिता थियो ।

काठमाडौं:   गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपनिर्वाचनका लागि सरकारले सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकेको स्पष्ट पार्नुभयो । गृहमन्त्री लेखकले निर्वाचन नजिकिएको समयमा स्थानीय तहको प्रमुख कार्यकारी सरुवा गरिएका विषयमा आफूले समान्य प्रशासनमन्त्रीसँग जानकारी लिएको स्पष्ट पार्नुभयो ।  सांसद गगनकुमार थापाले निर्वाचन प्रभावित पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी सरुवा गरिएको आशङ्कासहित गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।  गृहमन्त्रीले निर्वाचनको निष्पक्षता, स्वतन्त्रालाई सुनिश्चित गर्नेगरी सामान्य प्रशासनमन्त्रीसँग पुनः छलफल गर्ने बताउनुभयो । निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगसँग पनि समन्वय भइरहेको जानकारी दिँदै उहाँले निष्पक्ष र स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “यसका लागि सुरक्षाका आवश्यक प्रबन्ध मिलाइएको छ । उपनिर्वाचन केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सबै सुरक्षा निकायलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकेको अवस्था छ”, गृहमन्त्री लेखकले भन्नुभयो । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।