काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुल्क र छात्रवृत्ति व्यवस्थापन गर्न राय परामर्श गरिएको थियो । स्वदेशभित्रै सहज र गुणस्तरीय रूपमा चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । यस्तै नर्सिङ शिक्षामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त सबै संस्थामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीले चासो दिनुभएको थियो । उहाँले आयोगको बैठक छिट्टै राखेर आवश्यक निर्णय लिने र चिकित्सा शिक्षामा सहजताका लागि विद्यमान ऐन–नियममा सामयिक संशोधनको गृहकार्य गर्ने विषयमा परामर्श गर्नुभएको थियो । “हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ”, आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै लहड, स्वार्थ वा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्नु हुँदैन ।” राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२ मा विद्यार्थीको पढाइ र अभ्यासका लागि मेडिकलतर्फ कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङतर्फ एक सय शय्याको अस्पताल सञ्चालन नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने भन्ने व्यवस्थाका कारण नर्सिङ शिक्षा सञ्चालनमा असहजता देखिँदै आएको छ । आयोग र परिषद्को वार्षिक क्यालेन्डरमा एकरुपतामा ल्याउन पनि कठिनाइ हुँदै आएको छ । आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झाले अब बस्ने आयोगको बैठकबाट सात नयाँ संस्थालाई आशयपत्र र २८ संस्थालाई विद्यार्थीको कोटा निर्धारणलगायत कार्यसूची हुने अवगत गराउनुुभयो । आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको छ । यसैबीच प्रधानमन्त्री ओलीले आजै काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्वउपलकुलपतिहरु डा सुरेशराज शर्मा, डा रामकण्ठ मकाजु श्रेष्ठलगायतसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले दुवै संस्था अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त भएकाले एकापसमा मिलेर जाँदा उचित हुने भएकाले आपसी गृहकार्य गरी समाधानको उपाय ल्याउन यसअघिको सिनेट बैठकमा निर्देशन दिनुभएको थियो । उक्त विवाद मिलाउन नेपाल सरकारका प्रतिनिधि, दुवै संस्थाका पदाधिकारी र जनप्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत गरिनेछ ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडौंबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नंको बस एकापसमा ठक्किएका थिए । दुर्घटनामा जिएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बाँके बैजनाथका २४ वर्षीय किरण बुढा, बाँके कोहलपुर नगरपालिका–६ का १३ वर्षीया रिजु बाठा मगर, बाँके बैजनाथ गाउँपालिका–६ का १५ वर्षीया ज्ञानु थारू, सोही ठाउँका १६ वर्षीय ललित खत्री, सोही ठाउँकी मायास सिंजापती मगर, सोही ठाउँका ६ वर्षीया गुरास घर्ती मगर, १८ वर्षीय निखिलनाथ योगी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो पनि पढ्नुहोस पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते यस्तै, भे१ख ३४८७ नंको बस चालक बाँके कोहलपुर नगरपालिका–१० का ३७ वर्षीय किशोरजङ्ग शाही, तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ३० वर्षीय रमेश रानाभाट, म्याग्देकै ५१ वर्षीया उजेली रानाभाट, बाँके बैजनाथ गाउँपालिका–६ बस्ने १४ वर्षीया विद्या पुन मगर, गोरखाको गोरखा नगरपालिका–८ बस्ने २० वर्षीय विवेक कँडेल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ३५ वर्षीया बबिता थापा, कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ४३ वर्षीय लक्षिन गुरुङ, पोखरा महानगरपालिका–१७ बस्ने ३६ वर्षीया दुर्गा रोका घाइते हुनुभएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा महानगरपालिका–१२ बस्ने ४४ वर्षीया बिजुली गुरुङ, सोही ठाउँकी २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया वसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गङ्गा गुरुङ, ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योति गुरुङ, पोखरा महनगरपालिका–१७ बस्ने ४१ वर्षीय सञ्जय गुरुङ, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ बस्ने ५५ वर्षीया चन्द्रकुमारी गुरुङ, बाँकेका ४४ वर्षीय शिवलाल न्यौपाने, कोहलपुर नगरपालिका–६ बस्ने १६ वर्षीया निर्मला शाही, २१ वर्षीया विनिता विक, स्याङ्जा पुतलीबजार नगरपालिका–१३ बस्ने २५ वर्षीय सुरज तिवारी, कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४९ वर्षीय निर्मल भुजेल घाइते हुनुभएको छ । ठेगाना नखुलेका १८ वर्षीय रियाद केसीलाई टाउकामा गम्भीर चोट लागेका कारण थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक फुलिवाङ स्थित जनसेवा आधारभुत विद्यालयमा अध्ययनरत २५ जनालाई विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुक र एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई करिव ५० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । ‘घान्द्रुकको कोँड नास डकुमेन्ट्री प्रदर्शनको लागि म जापान गएको थिए, जापानमा एच एस वि जापानका विनोद शेरचनसँग भेटघाट भयो’ गुरुङले भने, ‘डकुमेन्ट्री प्रदर्शन पश्चात शैक्षिक सामग्रीका लागि उहाँले सहयोग गर्नुभयो, आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको हो ।’ लामा अमृत फाउण्डेशन घान्द्रकले कास्की लगायत विभिन्न विद्यालयमा विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ । यस्तै फाउण्डेशन सामाजिक कार्यमा समेत क्रियाशिल रहँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै जिर्ण अवस्थामा रहेको विद्यालय पुनः निर्माण गर्न पहल गर्ने बताए । जनसेवा आधारभुत विद्यालयका प्रधानाध्यापक अनिता विकले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै लामा अमृत फाउण्डेशन र एच एस वि जापानलाई धन्यवाद दिईन् । २०७२ सालको भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालन गरेपनि वर्खा याममा परेको अविरल वर्षाका कारण पुनः विद्यालयमा क्षति पु¥याएको बताईन् । ‘भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालनमा ल्याएका थियौ, केही महिना अगाडि परेको अविरल वर्षाले पुनः विद्यालयलाई असर पु¥याएको छ’, विकले भनिन्, ‘विद्यालयको भवन बनाउन रक्षा बहादुर गुरुङले फुलिवाङमा ३ रोपनी जग्गा दिनुभएको छ, अब चाँदै नै उक्त जग्गामा भवन निर्माण गछौं ।’
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्राडा कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो । यसैबीच राष्ट्रपति पौडेलले विभिन्न छ देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शैल रुपाखेतीलाई जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य, डा नरेशविक्रम ढकाललाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्नुभएको छ । यस्तै थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई क्याम्बोडिया र गणतन्त्र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् । गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहनुभएका परिवारमा समवेदना प्रकट गर्नुभएको छ । “पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु्”, राष्ट्रपतिले भन्नुभएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उहाँको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।
काठमाडौं: नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारवाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्तो ठगीमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर प्रविधिमा आधारित ठगीसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ । यसैगरी, अधिकांश शड़कास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार तथा तथा पार्सल ठगी, सामाजिक सञ्जालका माध्यामबाट हुने ठगी, अनलाईन व्यापारसम्बन्धी झुटा प्लेटफर्म, ओटिपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको छ । प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । साथै यस्तो ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । “विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु”, प्रधानमन्त्रीले भन्नुभएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उहाँको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।
काठमाडौं: पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज ८३ वर्षको उमेरमा उहाँ दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख हुनुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । ढुङ्गानाको भोलि अन्त्येष्टि स्वकीय शर्माले जानकारी दिनुभयो ।