काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

जुम्ला:    जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।  बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् ।  तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ । प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०र७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् ।  विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।  विसं २०८० भदौ २१ गते कर्मचारीले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवापत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् । 

गण्डकी:      पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ ।  चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।  आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गर्नुभयो ।  “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्र्छौँ ।” पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।  आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन् ।  शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामेरा पनि प्रयोग गर्न पाइँदैन ।  कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामेरा जफत गरिने उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।  अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो ।  आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ ।  मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न सुरु गरिएको उहाँको भनाइ छ । होटल व्यवस्थापन समिति, आमा समूहलगायत परिचालित गरेर फोहर व्यवस्थापनको काम अगाडि बढाइएको हो । पर्यटकीय क्षेत्रमा सङ्कलन भएको फोहरलाई पोखरामा ल्याइ प्रशोधन गर्ने योजना ‘एक्याप’ले बनाएको छ ।  अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । “पर्यटकीयस्थलमा जथाभावी फोहर हुँदा राम्रो सन्देश नजाने हुँदा फोहर व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरिएको हो”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो ।  सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।  अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् ।

बागलुङ:   पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् ।  यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार  बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिनुभयो । तत्कालीन गलकोट र पर्वत राज्यका सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले जानकारी दिनुभयोयोे । “बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराईलगायत पौंदीवासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुठी लिने (धान काट्ने)र न्वागी खाने मिति हेराइने चलन छ”, स्थानीय रामबहादुर कुँवरले भन्नुभयो । यस वर्षको मुठी लिने (धान काट्ने)दिन भने गत कात्तिक ११ गते ९ः३३ बजे पूर्व फर्केर परेको उहाँले सुनाउनुभयो । न्वागी खाने समय र कुन दिशातर्फ फर्केर न्वागी खाने भन्ने यकिनचाहिँ मङ्सिर लागेपछि मात्र तोक्ने चलन रहेको कुँवरले सुनाउनुभयो । कात्तिक पहिलो हप्ता सबैसँगबाट मुठी लिई धान काटेर स्याहार्ने र न्वागीलाई घरघरमा हवन गरेपछि थानपति, छत्रभूमि, सिद्धका नाममा देवतालाई चढाई मङ्सिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन छ । यसपटकको न्वागी मेला पनि सोमबारबाटै ८ गतेसम्म बडिगाड गाउँपालिका–५ खारमा सुरु भएको छ । स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका सबैले खाने प्रचलन छ । खेत भएकाहरूले खेत नभएकाहरूलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ ।  परापूर्वकालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बूढापाकाले गुनासो गर्ने गरेका छन् ।

तेह्रथुम:    ७ वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।  तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।  प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो ।   सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको बताउनुभयो ।  उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छपटक म्याद थप भइसकेको छ ।पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ ।  यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएकोे प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।   पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङसुरुङका राजेन्द्र सुवेदीले बताउनुभयो । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उहाँको भनाइ छ । उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ । 

चितवन:     नेपाल प्रिमियर लिग ९एनपिएल० टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो ।   कार्यक्रममा एकसिङ्गे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडीले जर्सी लगाएर सार्वजनिक गरिएको थियो । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरिएको छ ।   कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरले खेल र खेलाडीलाई सदैव प्रोत्साहन गर्ने बताउनुभयो । दक्ष र क्षमतावान खेलाडी जन्माउन महानगरले खेलक्षेत्रमा लगानी बढाइरहेको उहाँको भनाइ थियो ।   उहाँले भन्नुभयो, “हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई गति दिइरहेका छौँ । यो रङ्गशाला निर्माण भएपछि दक्ष खेलाडी उत्पादन हुने क्रम अझै बढ्छ ।”   चितवन राइनोजका मार्की खेलाडी मल्लले खेल जित्ने उच्च मनोबलका साथ लागिरहेको बताउनुभयो । चितवन राइनोज क्लबका अध्यक्ष न्यौपानेले टिमले क्षमतावान खेलाडीलाई समावेश गरेकाले खेल जित्ने दाबी गर्नुभयो ।   यो टिममा कुशल मल्ल, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । टिमले विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ ।   चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो ।

म्याग्दी:    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग)खुलेको छ ।  अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताउनुभयो ।  गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु २–२ करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो ।  तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नम्बर २ लुलाङसम्म सडक पुगिसकेको थियो ।  आव २०७९÷८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।  देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दा गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।  लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा ३ देखि ४ घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।  जिप, ट्रयाक्टर, मोटरसाइकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको छ । देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा सङ्घीय सरकारले २ वटा शीर्षकमा रु १ करोड ३५ लाख, प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ३५ लाख विनियोजन गरेका छन् ।  सो योजनाको पनि ठेक्का आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।  एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या १ हजार ५ सय ५ जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ ।  सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

भक्तपुर:    भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ ।  अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गर्नुभएको थियो । अस्पतालका निर्देशक डा चालिसेले भन्नुभयो, “सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक गत २ गतेदेखि यो सेवा सुरु गरेका छौँ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ ।” अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यासर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताउनुभयो ।  उहाँले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको बताउनुभयो । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो ।  नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।  नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताइएको छ । क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो ।  

काठमाडौं:    यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।   सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ । सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ ।  आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुनुहुन्छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।  यही नेतृत्वका कारण महासचिवमा  दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक  रहेको बताइएको छ ।   आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।  आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार  ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताउनुभयो ।  सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

काठमाडौं:    धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन्।  मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए। ‘दुर्घटना स्थलबाट चालकसहित तीन जनालाई उद्धार गरेर हामीले मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छौँ,’ सिलवालले भने, ‘नवलपरासीबाट सामान लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा परेको हो।’  दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्।   दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ।