धादिङ: बेनीघाट रोराङ्ग गाउँपालीका स्थित पृथ्वी राजमार्गको जवाङ्ग खोला नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण विहानैदेखी राजमार्गको विभिन्न स्थानमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएकोममा पटक पटक खुलाएकोमा पुन बन्द भएको हो । चितवनको ईच्छाकामना गाउँपालीकाको फिस्लिङ् नजिकै खसेको पहिरो हटाई सवारी सुचारु गरिएकोमा जवाङ्ग खोला नजिकै पुन पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो हटाउनका लागी जिल्ला प्रहरी टोलि खटि सकेको छ भने चट्टान खसेकोले हटाउनको लागि केही समय लाग्ने प्रहरी चौकी जोगिमाराले जनाईएको छ । अवरुद्ध राजमार्गका कारण राजधानी प्रवेशकालागि आएका र राजधानीबाट बाहिरिने सवारीका साधनहरु रोकिएका छन् ।
बारा: बाराको पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो । केही बेर अगाडि सवारी दुर्घटना हुँदा सात जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका निम्ति सिमरा अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसक्नुभएको छ । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो । त्यसको झण्डै साढे दुई महिनापछि एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिनुभएको थियो भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो । प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत तटस्थमा परेको थियो । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिनुभएको थियो भने एकजना सांसदले तटस्थ मत जाहेर गर्नुभएको थियो । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए । नेपालको संविधानपछि पनि भएन राजनीतिक स्थिरता मुलुकमा गणतन्त्र स्थापनापछि राजनीतिक स्थिरता, सुशासन र समृद्धि हुने अपेक्षासहित संविधानसभाबाट नेपालको संविधान विसं २०७२ असोज ३ गते जारी भएको थियो । संविधानमा राजनीतिक स्थिरताका लागि विभिन्न प्रावधान राखियो पनि । तर संविधान जारी भएको आठ वर्षमै सात प्रधानमन्त्रीले पद सम्हाल्नुभयो भने दर्जनौँपटक मन्त्रिपरिषद् हेरफेर भएको छ । संविधानको धारा १०० को उपधारा (४) मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सकिने व्यवस्था छ । सोही उपधारामा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन भनी उल्लेख छ । उक्त व्यवस्था राजनीतिक स्थिरताका लागि राखिए पनि गणतन्त्र स्थापनापछि संसद्मा कुनै पनि दलको एकल बहुमत नहुँदा पूरा कार्यकालसम्म सरकार चलाउन सकेका छैनन् । विसं २०७२ मा संविधान जारी गर्दा कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई–दुईपटक प्रधानमन्त्री भइसक्नुभएको छ ।
काठमाडौं: नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताउनुभयो । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताउनुभयो । प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।” प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । यता जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि तीन दिन देशभर मौसम बदली भई ठाउँठाउँमा वर्षा हुने सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क।सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवम् माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवम् नागरिकको उपस्थिति थियो । क।सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । क।सीता परिवर्तनका योद्धाका रूपमा सधैं स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गर्नुभयो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहनुभएकी क.सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी हुनुभएको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) का कारण दाहालको गत वर्षको असार २७ गते निधन भएको थियो ।
पर्सा: मधेश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसँग यथेष्ट मल मौज्दात रहेको जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गरे । ‘गत आवमा भन्दा चालु आवमा आठ हजार आठ सय ४५ दशमलव १५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ’, उनले भने । कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेश प्रदेशमा युरिया, डिएपी र पोटास गरी कूल ५२ हजार छ सय ५२ दशमलव ३५ मेट्रिक टन रासायनिक मल मधेश प्रदेशका आठ जिल्लामा वितरण गरिसकेको छ । यसमा युरिया मलको हिस्सा २७ हजार छ सय १४ दशमलव २५ मेट्रिक टन, डिएपी मलको हिस्सा २३ हजार छ सय ८७ दशमलव ७० मेट्रिक टन र पोटास मलको हिस्सा भने १३ सय ६१ दशमलव ४० मेट्रिक टन रहेको छ । गत आर्थिक वर्षमा प्रादेशिक कार्यालयले तिनै थरिका मल ४३ हजार आठ सय ७ दशमलव २० मेट्रिक टन वितरण गरेका थियो । यसमा युरिया मल ३१ हजार पाँच सय ८३ दशमलव ५५ मेट्रिक टन, डिएपीमा मल १२ हजार दुई सय एक दशमलव ३० मेट्रिक टन र पोटास मल २२ दशमलव ३५ मेट्रिक टन वितरण गरिएको थियो । कार्यालयले मधेश प्रदेशका एक हजार दुई सय ७० वडामा एक हजार २९ डिलरमार्फत मल उपलब्ध गराउँदै आइरहेको छ । साल्ट ट्रेडिङले देशभरिका लागि खरिद गर्ने कूल मलमध्ये मधेश प्रदेशका लागि २६ दशमलव ५० प्रतिशत मल वितरण गर्ने गर्दछ । त्यस्तै कोशी प्रदेशका लागि २१ दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशका लागि २० दशमलव ६ प्रतिशत, बागमती प्रदेशका लागि १४ दशमलव ८० प्रतिशत र सुदूरपश्चिम प्रदेशका लागि ९ दशमलव ७० प्रतिशतको कोटा निर्धारण गरेको छ । त्यस्तै कर्णाली प्रदेशको लागि दुई प्रतिशत कोटा तोकिएको छ । यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका कायममुकायम प्रमुख दुर्गाप्रसाद पाण्डेयले गत आर्थिक वर्षको तुलनामा चालु आवमा मलको आयातमा वृद्धि भएकाले पनि मधेश प्रदेशमा रासायनिक मलको समस्या नहुने दाबी गरे । कार्यालयले चालु आवको असार ११ गतेसम्मको अवधिमा युरिया, डिएपी र पोटास गरी कूल ९५ हजार दुई सय तीन दशमलव ४० मेट्रिक टन रासायनिक मल प्राप्त गरिसकेको छ ।
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ । उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले बुधबार मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो । असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।
बागलुङ: अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।