चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार शुक्रबार दिनभर भएको खोजी कार्य साँझ रोकिएकोमा आज बिहानैबाट फेरि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गरिरहेको हो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या भएपछि शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी भइरहेको बताए । उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।’ काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँका आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएको प्रजिअ यादवले जानकारी दिए । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन् गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उहाँको भनाइ छ । नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ(आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गर्नुभएको छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो । सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।
काठमाडौं: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’ नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपालीभाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
काठमाडौं: मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ। शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा जानकारी गराए। उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए। सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानेले बताए। ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटक पटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए। उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए। बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए।
सिन्धुली: सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शुक्रबार बिहान ११:४० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ सुनकोशी मरीन डाईभर्सनमा विङ्गल हाईस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट पठाइएको छ ।
काठमाडौं: सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राती १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । “आगामी साउन ९ गतेसम्म हरेक दिन राती १० देखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस र नेकपा ९एमाले० मिल्दा प्रतिगमन र निरंकुशताको डर रहेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा आफ्नो धारणा राख्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले संसदको पहिलो र दोस्रो ठुलो दललाई विश्वासले नजोडेको जिकिर गर्नुभयो । उहाँले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने अभ्यास रहेको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको खतरा रहको उहाँले आशंका व्यक्त गर्नुभयो । नियत सफा भएमा पहिलो र दोस्रो दल मिल्न बन्द कोठा नचाहिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्रीमा रहुँला नरहुँला, म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसदको पहिलो र दोस्रो ठलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो ।’ तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन ? उहाँले प्रश्न गर्नुभयो ।
चितवन: अविरल वर्षाका कारण पहिरोमा परी बस त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । सशस्त्र प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । बीरगन्जबाट आएको गाडीमा २०–२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । ढुङ्गा खसी बसमा बस चालकको मृत्यु यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस घटना स्थलमै रहेको बसमा सवार यात्रुहरुलाई केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ । बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।
काठमाडौं: सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार तत्कालका लागि पछि हटेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो। प्रवक्ता शर्माका अनुसार सरकारले नेपाल र चीन सरकारबिच हस्ताक्षर हुने ‘स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिभिटी नेटवर्क’ विषयक समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ। उहाँका अनुसार सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। त्यस्तै स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृत गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णयसमेत सरकारले गरेको छ। प्रवक्ता शर्माका अनुसार सरकारले हुम्लु जातिलाई जनजातिमा सूचिकृत गर्ने निर्णयसमेत गरेको छ।