काठमाडौं: दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई १११२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । रिट्रिटका क्रममा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ । सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र सचिवको साथमा मन्त्रालयका एक वरिष्ठ अधिकारी पनि भारत जाने र १३ जुलाई २०२४ मा काठमाडौँ फर्कने तालिका रहेको परराष्ट्रले जानकारी दिएको छ ।
लमजुङ: पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका- १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।
तनहुँ: बाढीले बगाएर ल्याएको दाउरा सेती नदीबाट झिक्ने क्रममा आज बिहान एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गग्छ ।
काठमाडौं: अर्क्स ग्रुप प्रालिले चीनको विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्र्यागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ । भ्यानमा विश्वको उत्कृष्ट ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने कम्पनीको दाबी छ । भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडित छ । गोल्डेन ड्र्यागनका भ्यानहरू विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको छ । नेपालमा अर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धतासहित भ्यान उपलब्ध गराउने जनाएको छ । अर्क्स ग्रुपले यस भ्यानको ५७ लाख रुपैयाँ तोकेको छ । यसैबीच, अर्क्स ग्रुपले गोल्डेन ड्र्यागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने तयारी गरेको छ । गोल्डेन ड्र्यागनको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ । भ्यान र माइक्रोबस लामो दुरी र छोटो दुरीका विभिन्न यातायात सञ्चालक, एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालयलगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ ।
पोखरा: विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ । सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले सयुँक्त रूपमा शिलान्यास गर्नुभएको हो । सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । “बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, यो बाटो पोखरा जोड्ने अर्को लाइफ लाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनै पनि प्रकारका स्थानीय अवरोधहरू तत्काल समाधान गरिनेछन्, आचार्यले भन्नुभयो, यसको समय पनि छोटो छ, स्थानीयहरूले यसका आवश्यक सहजिकरण गरिदिनुहुनेछ ।” उक्त क्षेत्रको सहरी पूर्वाधार निर्माण गर्दै जनजीवनलाई विकाससँग जोड्ने कुरामा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । यो पोखरा महानगरपालिकाको परियोजना भएकाले दायित्व पनि महानगर कै हुने र आवश्यक परेका बखत मन्त्रालयले आवश्यक सहजिकरण गरिदिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिनुभयो । विश्व बैंकका टास्क टिम लिडर आवेवाओले समय छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन अनुरोध गर्नुभयो । पोखरा महानगरपालिका वडा नं.३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडामा निर्माण हुन लागेको सडक निर्माण कार्यको निरन्तर निगरानी गरी आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । सडकको निर्माण कम्पनी आसिस निर्माण सेवा प्रा।ली भरतपुरसँग सम्झौता भएको छ । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा नं.३३ को कार्यालय देखी उपल्लो पुँडीटारसम्म ९.६२७ कि.मी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखी तल्लो गगनगौडाँ (पृथ्वीराज मार्ग) सम्म २.८१३ कि.मी सडक निर्माण हुनेछ । परियोजना अन्तरगत करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २÷२ मिटरको फुट ट्र्याक हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्ट सर्वेको काम सुरु भइसकेको छ । रु.३ अरब आर्थिक सहायता मध्ये तालचोक बेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व बैङ्कले परियोजना प्रस्ताव गर्न आग्रह गरे बमोजिम नगर प्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु भएको थियो । विश्व बैङ्क कै सहयोगमा शिशुवा–शिशाघाट सडकको समेत काम थालिएको छ ।
काठमाडौं: तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
काठमाडौं: आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा असार १६ गते भएको उक्त समारोहमा ३ सय ९० जना विद्यार्थीहरू दीक्षित भएका छन्। सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अभिभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी (सिएसइ) मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।
लमजुङ: वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।
म्याग्दी: पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बांगे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो । यसैबीच बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । ‘यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ’, सांसद गर्बुजाले भने, ‘पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।’