काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभएको छ । बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पु¥याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताउनुभयो । सोही कारण बिपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उहाँले सुनाउनुभयो । “झूटा आरोप र मुद्दाका आधारमा बिपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बिपीलाई बिनाकारण जेल हाले, बिपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो । जनताले लगाएको कपडाका साथै जनताको अवस्था देखाउँदा बिपीका पिता कृष्णप्रसाद र माता दिव्या कोइरालालाई पनि राणा शासकले सर्वस्व हरण गरी निर्वासनमा पठाएको उहाँको भनाइ छ । बिपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । बिपीले विसं २०३५ मा बिबिसीलाई दिनुभएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रुपमा राष्ट्रिय एकताको सवाल उठाउनुभएको उहाँले सुनाउनुभयो । अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बिपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “जीवनमा सङ्घर्ष गरेरै बिपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो, बिपीका बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ, त्यस्तै सङ्घर्ष गरेकैले बिपी कालजयी व्यक्तित्व बन्नुभयो,” उहाँले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले विसं २०८० को बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाललाई पुरस्कृत गर्नुभयो । संयुक्त रुपमा प्रदान गरिएको पुरस्कारको राशि रु दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला छ । यसैगरी, साहित्यिक विधातर्फको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादव र प्राडा हरिप्रसाद शर्मा पराजुलीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशि रु दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । मन्त्रालयले विसं २०७८ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
काठमाडौं: सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।
चितवन: नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई बताउनुभयो । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।”
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।” प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
काठमाडौँ: यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।
काठमाडौं: मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु¥याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । उहाँले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिनुभयो । यसपाली बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताउनुभयो । “राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उहाँले भन्नुभयो । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उहाँको भनाइ थियो । तेइस वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको बताउनुभयो । “सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ”, उहाँले भन्नुभयो । निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताउनुभयो । “सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ”, उहाँले भन्नुभयो । सीमित साधन स्रोतका बीचमा सशस्त्र प्रहरी बलले सीमासुरक्षामा तदारुकता देखाएको उहाँले बताउनुभयो । उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले निर्देशन दिनुभयो । विपद्का समयमा अहोरात्र खट्न उहाँले आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताउनुभयो । सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उहाँले उल्लेख गर्नुभयो । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो ।
काठमाडौं: नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।