पोखरा:   पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गो...

काठमाडौं:    बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ ।       कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो ।   नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो । 

ताप्लेजुङः     ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार  फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो । आज बिहान उप–डिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ ।  लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।  जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको जिउधनको सुरक्षालाई  प्राथमिकतामा राखेर विभागले सेवा  प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो । “जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,”– मन्त्री खड्काले भन्नुभयो ।  उहाँले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गर्नुभयो ।  विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनैपनि नीति नबनेको बताउनुभयो । उहाँले जल तथा मौसम विज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताउनुभयो । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले स्थान र समय विशेषको मौसम पूर्वानुमानको माग जनस्तरबाट आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको बताउनुभयो । विसं २०१९ मा जलस्रोत सर्वेक्षण एकाइमार्फत देशको मौसमका बारेमा जनतालाई सुसूचित गर्न थालेको विभागले हाल हवाई मौसम पूर्वानुमान, तीन दिने मौसमी विवरण, प्रत्येक साता कृषि बुलेटिन, बाढी पूर्वानुमानका साथै प्रभावमा आधारित मौसम पूर्वानुमानसमेत गर्दै आएको छ ।

काठमाडौं:    नेपाली सेनाले विशिष्ट व्यक्ति एवं महत्त्वपूर्ण संरचना र प्रतिष्ठान गरी एक सय ५५ स्थानमा सेवा प्रवाह गर्दै आएको छ । गत आर्थिक वर्षमा सेनाको बम डिस्पोजल टोलीले एक सय ५८ शङ्कास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ सेनाले राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकायसँगको समन्वयमा सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका गढी र किल्लाको संरक्षण गर्दै आएको छ ।  राष्ट्रिय एकीकरणका बेला प्रयोग भएका ऐतिहासिक पदमार्गको पहिचान गरी तिनको सम्भार र संरक्षण पनि सेनाले गरिरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो ।   विपद् व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उहाँले सुनाउनुभयो ।  सङ्घ र प्रदेशमा अभ्यास हातेमालो र देशका सबै जिल्लामा सरोकारवाला र सुरक्षा निकायको समन्वयमा प्रत्येक वर्ष ‘अभ्यास मनसुन’ सञ्चालन गरिरहेको छ ।  त्यस सिलसिलामा एक सय २५ सामुदायिक विपद् प्रतिकार्य तालिम र अभ्यासमार्फत एक वर्षमा तीन हजार तीन सय ९० जनालाई प्रशिक्षण दिएको उहाँले बताउनुभयो । विपद् प्रतिकार्य योजनाअनुसार अत्याधुनिक स्रोत साधनसहित एक हजार एक सय २६ जनालाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिमप्राप्त जनशक्ति मुलुकका २२ स्थानमा परिचालन भएका छन् ।  प्राकृतिक र मानव सिर्जित डढेलो, पहिरो, बाढी, डुबान र दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति कम गर्न चार हजार चार सय ३८ जना परिचालन भएका छन् ।  एक सय ५४ सुत्केरीको उद्धार नेपाली सेनाको हवाई साधनबाट भएका उडानमध्ये ८५ प्रतिशत उद्धारमा प्रयोग भएका छन् गत आर्थिक वर्षमा गैरसैनिक नागरिक उद्धार एक सय ५४ वटा भएका थिए ।  सेनाले राष्ट्रिय सुरक्षासँगै विपद् व्यवस्थापन, राष्ट्रिय विकास, आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति कार्य, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकता प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारमा आफूलाई समर्पित गर्दै आएको छ । मुलुकको प्रमुख राष्ट्रिय सुरक्षा सङ्गठन नेपाली सेनाले नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सिलसिलामा निःशुल्क स्वास्थ्य शिविर, सचेतानामूलक कक्षा, रक्तदान, सर्पदंश उपचार र श्रमदान कार्यमा समेत सहयोग पुर्याइरहेको छ ।  सेनाले वन तथा वन्यजन्तु संरक्षणका लागि आठ हजार एक सय ३६ फौज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको सुरक्षामा खटाएको छ । त्यसक्रममा हालसम्म एक सय १६ जनाले वीरगति प्राप्त गरेका छन् । १६ लाख वृक्षरोपण सेनाले वन तथा पर्यवारण संरक्षण गर्ने क्रममा हालसम्म १६ लाख १८ हजार पाँच सय ७५ विरुवा रोपिसकेको छ । देशको महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेका हिमालको सौन्दर्य कायम राख्न सेनाले प्रत्येक वर्ष सफा हिमाल अभियान  सञ्चालन गरी त्यस क्षेत्रबाट फोहर सङ्कलन गर्दै आएको छ । पछिल्ला वर्षमा सेनाले ऐतिहासिक तालतलैयाको संरक्षण र संवर्द्धनमा पनि नागरिकसँग हातेमालो गर्दै आएको छ ।

सर्लाही:     गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप¥यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ ।       सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो ।       जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । करिब आठ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षका उनको श्रीमती दुई छोरी र एक छोरा छन् ।       आर्थिक सङ्कटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुबा, ठूलोबुबा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुबा सरपलाल महरा सम्झन्छन् ।       पीडित परिवार अझै उनीहरु फर्किने आशमा बसिरेका छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका–३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका–३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन् । यतिका दिन भइसक्दासमेत फेला नपरेका उनीहरु जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् ।       बेपत्ता रामा दासको बुबा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा हुनुहुन्थ्यो भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्र्याक्टर जोत्ने लगाएको काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाईको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए ।            उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौँ बोलाएको आमा बताउनुभयो । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा पर्नुभएकी उहाँले मलीन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गर्नुभयो । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको परिवार जितेन्द्रको मृत्युपछि थप सङ्कटमा परेको छ ।      बरहथवा नगरपालिका–३, रमित कुश्वार माझीको परिवारमा पनि आँखा ओभानो छैन । परिवारका जेठा छोरा गुमाउनु पर्दा असह्य पीडा भएको बुबा रवीन्द्र कुश्वार माझीले बताउनुभयो । गाउँमा मेलापात गरेर बसिरहेका रमित गत तिहार पछिमात्र साथीको पछि लागेर काठमाडौँ गएका थिए । त्यसपछि पनि उनी धेरै पटक घर आउनेजाने गरेका थिए । त्यस दिन पनि गाउँमा आफन्त पर्नेको विवाहमा सरिक हुन भनेर रमित बस चढेका थिए ।      सुरुमा सर्लाहीका लागि टिकट काटेका कविलासी नगरपालिका–८, निवासी २४ वर्षका रवीन्द्र साहलाई पनि काउन्टरवालाले रौतहटको बसमा चढाई दिएका थिए । रवीन्द्रका परिवार अझै बेहोसमै बरबराइरहेका छन् । परिवारका केही सदस्यले चितवनको अस्पताल कुरेको हप्तादिन बढी भइसक्यो । यता सास वा लासको अत्तोपत्तो नहुँदा परिवारमा थप पीडा भएको छ ।        गत असार २८ गते झिसमिसेदेखि एकनासले सामाजिक सञ्जालमा पहिरोसँगै त्रिशूलीमा बस खसेको समाचार आइरह्यो । जितेन्द्रको परिवारको कानमा पनि उक्त घटनाको सूचना प¥यो । पहिले उनीहरु अन्योलमा परे । पछि सोधीखोजी गर्दा जितेन्द्र सवार बस पनि खसेको पुष्टि भयो ।       घरमा रुवावासी सुरु भयो । के गर्ने न कसो गर्ने अन्योलबीच जितेन्द्रका ठूलोबुबा सरपलाल महरा चितवन दुर्घटनास्थलतर्फ लागे । घटनाको दोस्रो दिन जितेन्द्रको शव त्रिशूलीमा फेला परेको खबर उनले पाए । लगत्तै उनीहरु लास राखेको भरतपुर अस्पताल पुगे । दुई दिनसम्म पानीले ढाडिएको लास चिन्न गाह्रो हुने अवस्था भइसकेको थियो ।       जितेन्द्रको हुलियासँग मिल्दोजुल्दो हुलियाको रौतहटकै एक युवकको समेत ‘रेकर्ड’ भएपछि प्रहरीलाई समेत शव चिन्न गाह्र्रो भयो । त्यसपछि उताको समेत परिवारलाई प्रहरीले अस्पताल झिकायो । त्यसबेला जितेन्द्रका ठूलोबुबाले आफ्नो भतिजो र रामा दासले २७ गते राति बनाएको अन्तिम टिकटक भिडियो प्रमाणका रुपमा पेस गरे ।       प्रहरीले समेत भिडियोमा भएको कपडा तथा जुत्ताबाट जितेन्द्रको शवको यकिन सनाखत ग¥यो । प्रहरीले शव दिएपछि उनलाई अर्को आपत् आइलाग्यो । भतिजोको शव ल्याउन शववाहनले रु १७ हजार मागेपछि उनी छाँगोबाट खसेजस्तै भए । गोजीमा एक बोतल पानी किन्ने पैसा नभएका उनका लागि त्यति ठूलो रकम पहाड बनेर उभियो । शवसँगै बसेर रुँदै गुहार मागेको सरपलाल बताउनुहुन्छ ।  एक व्यक्तिले शववाहनलाई सर्लाहीसम्म आइपुग्नका लागि तेल हाल्न भनेर रु आठ हजार दिएपछि उनी रातारात भतिजोको शव लिएर सर्लाही पुगेका थिए । अब काजक्रिया कसरी गर्ने चिन्ताले परिवारलाई सताएको छ ।  

काठमाडौं:     गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो ।  विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९/८० मा नेपालले रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र रु एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार रु १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।  अघिल्लो आवको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ ।  गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ । भारतबाट रु नौ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा रु एक खर्ब तीन अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा रु आठ खर्ब ९३ अर्ब ५० करोड बराबर छ । नेपालको अर्को छिमेकीमुलुक चीनसँग रु दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ । चीनबाट रु दुई खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा रु २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँं स्थानमा छ । व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट रु ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा रु ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ । जसबाट रु ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो ।  बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा रु ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग रु ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ । गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा रु एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, रु ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र रु ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । रु ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र रु २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ । त्यस्तै, रु २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आवमा नेपालले सबैभन्दा धेरै रु १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र रु सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैँची निर्यात गरेको छ ।

चितवन:     भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ ।  घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।   नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ ।  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताउनुभयो ।   यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत हुनसकेको छैन ।   चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो ।  आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच  भारतीय नागरिकका छन् ।

म्याग्दी:     म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ ।  स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ ।  म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।  “सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उहाँले भन्नुभयो, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तीर्थयात्री सडकको दुरावस्थाका कारण पीडित भएका छन् ।  कतिपय स्थानीयवासी, पर्यटक र तीर्थयात्री मुस्ताङ आवतजावत तथा बिरामी अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिरो छन् ।  पहिरोका अतिरिक्त ठाडो खोलामा आउने बाढी र कालीगण्डकीको कटान पनि बेनी–जोमसोम सडकको मुख्य चुनौती बनेको छ । हिउँदभर स्तरोन्नतिको काम भएको म्याग्दी खण्डको अधिकांश सडकमा पहिराले क्षति भएको छ । गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर क्षति हुने भएकाले पानी परेको र रातको समयमा आवतजावत नगर्न अनुरोध गरिएको छ । गलेश्वर–तातोपानी खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेडका इन्जिनियर सुमन भट्टराईले कालोपत्र गरिएको सडक भत्किएर र पुरिएर क्षति भएको बताउनुभयो ।  “बेगखोला–तातोपानी खण्डको आठ किलोमिटरमा गत हिउँदमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र सडक पहिरो खसेर क्षति भएको छ”, उहाँले भन्नुभयो, “नयाँनयाँ ठाउँबाट पहिरो खस्ने र कुनातर्फ नयाँ पानीको मुल फुटेर नालीभन्दा बाहिरबाट बग्न थालेपछि समस्या भएको छ ।” नागढुङ्गा–घाँसा खण्डको ठेकेदार कम्पनी शर्मा–जगुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले विगतका वर्षमा पहिराले दुःख दिने काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ढलान गरिएपछि यसपालि समस्या नभएको तर अन्य ठाउँमा क्षति भएको बताउनुभयो ।  “यहाँको प्रतिकूल भूगोल र मौसमले डिबिएसडी कालोपत्र गर्ने डिजाइन नै परिवर्तन नभएसम्म काम गर्न सकिने देखिएन”, उहाँले भन्नुभयो, “हिउँभर सडकमा बनाएको संरचनालाई बर्खाको पहिराले छियाछिया बनाएको छ ।”   सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।  सडक विभागको डोजर, लोडर र ब्याकुहोलोडर तथा प्राविधिकलाई तयारी अस्वस्थामा राखेर पहिरो पन्छाएर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाए पनि दीर्घकालीन समाधानका लागि बजेटको अभाव भएको आयोजना प्रमुख झाले बताउनुभयो । 

म्याग्दी:    म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ ।  आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक  कालोपत्र र चार किमी सडक ढलान भएको हो ।  सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र पहुँच विस्तारको काम भएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।  प्रदेश सरकारमार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ सिमबाट तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म तीन किमी सडक डिबिएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’अन्तर्गत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान भएको छ ।  यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङको उपल्लो बजारमा चार सय २४ मिटर सडक कालोपत्र भएको छ । त्यसैगरी मालिकाको केन्द्र दरवाङबाट सोही पालिकाको वडा नं ५ फेदी हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्म छ किमी सडक स्तरोन्नति गर्ने काम यसै वर्ष सकिएको छ ।  नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धवलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बनेको स्थानीयवासी किरण थापाले बताउनुभयो । कार्यालय प्रमुख पौडेलका अनुसार एक वर्षको अवधिमा म्याग्दीमा दुईवटा मोटरेबल पुल, एक झोलुङ्गे पुल, ३१  कल्भर्ट र १२ कजवे निर्माण गरिएको छ । एघार किमी बढी नयाँ सडकको पहुँच निर्माण भएको छ । बाह्र दशमलव दुई सय नौ किमी सडक ग्राभेल, दुई किमी नाली निर्माण र १७ हजार दुई सय ८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा  अधुरा अवस्थामा रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सातवटा रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन गरिएको कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो ।  एक वर्षका अवधिमा क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दा बढी योजना कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।