काठमाडौं: मुलुकका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद मनबहादुर गुरुङले बर्सातका कारण देशैभरिका अधिकांश सडक अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कास्की निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिकाका सडक अवरुद्ध छन्, गाउँको सदरमुकामसँग सम्पर्क टुटेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।” सांसद महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै तीव्र गतिमा काम गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद महेश बस्नेतले वर्षाका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोबाट स्थानीयले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद माधव सापकोटाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा वर्षाका कारण बस्ती नै जोखिममा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसीले वर्षाका कारण मुुलुकका धेरै भूभाग बाढीबाट डुबानमा परेका, काठमाडौँ उपत्यकाको ग्रामीण भेगमा पहिरोका कारण खाद्यान्न बालीनाली तहसनहस भएको तथा दक्षिणकाली वडा नं १ चाल्नाखेलदेखि विद्युत्गृहसम्म पुग्ने सडक २० दिनदेखि अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेनकाकुमारी पोख्रेलले वर्तमान सरकारले मुलुकमा रहेको भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद मुक्ताकुमारी यादवले वर्तमान सरकार महिला, मधेसी, दलितसहितको समावेशी बनाउनुपर्ने माग गर्नुभयो ।
काठमाडौं: मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिनुभयो । परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन् । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कार्कीले साइबर तथा बैङ्किङ अपराध बढेसँगै प्रहरीले आफ्नो अनुसन्धान पद्धतिलाई पनि विकास गरिरहेको बताउनुभयो । कतिपय अनुसन्धानमा सफलता नपाए पनि धेरै अनुसन्धान सफल भएका उहाँको दाबी छ । “निर्मला पन्तको बलात्कारपछि हत्यालगायत घटनाको अनुसन्धानमा प्रहरीले निरन्तर खोजी गरे पनि सफलता पाएका छौनौँ, तर त्यस्तै प्रकृतिका र अन्य ठूला अपराधमा भने सफलता पाइरहेका छौँ”, उहाँले भन्नुभयो । गएको एक वर्षमा प्रहरीले केही ठूला आपराधिक घटनाको अनुसन्धानमा सफलता प्राप्त गरेको छ । यी नौ घटना, जसमा प्रहरीलाई सफलता प्राप्त गरेको छ । तीनकुने सामूहिक हत्या प्रकरण विसं २०८० भदौ २९ गते तीनकुने सामूहिक हत्या प्रकरण भएको थियो । काठमाडौँको तीनकुनेस्थित दिव्य स–मिलमा रातिको समयमा धारिलो हतियार प्रहार गरी चारजनाको हत्या भएको घटनाको प्रहरीले छोटो समयमा नै सफल अनुसन्धान गरेको थियो । दोलखा कालिन्चोक गाउँपालिका–८ घर भई सोही स–मिलमा काम गर्ने कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुर भुजेलकी आमा सुभद्रा भुजेल र सोही मिलमा बस्ने नवीन भन्ने विशाल राईको हत्या भएको थियो । अनुसन्धानका क्रममा उक्त घटना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीले गराएको खुल्यो । मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसइबीले घटना भएको पाइएको प्रहरीले जनाएको छ । सञ्जय भण्डारीले मोटरसाइकल ठोक्किएको विवादमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरूको पनि हत्या गरेको स्वीकारेका प्रहरीको अनुसन्धान टोलीद्वारा अनुसन्धानका क्रममा सार्वजनिक गरिएको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । किशोरी हत्या गरी शिवपुरी जङ्गलमा गाडेको घटना विसं २०८० माघ २२ गतेको हो । उक्त दिन अन्दाजी ५ बजेको समयमा तारेभिरस्थितमा सुष्मा लामाको शव गाडेको अवस्थामा भेटियो । उक्त घटनाको अनुसन्धानमा प्रहरी टोली खटियो । अनुसन्धानका क्रममा उनलाई आफ्नै प्रेमीले प्रेम प्रस्ताव अस्वीकार गर्दा पूर्वयोजनाअनुसार नै हत्या गरेर खाल्डो खनी गाडेको खुल्यो । प्रहरी प्रवक्ता कार्कीले प्रतिवादी रूपेन्द्र लामाले मन पराई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेकाले उनले पूर्वयोजना बनाई हत्या गरेर घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जमा लगि खाल्टो खनी गाडेको पत्ता लागेको जानकारी दिनुभयो । निजलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । महोत्तरी बैङ्क लुटपाट विसं २०८० जेठ १६ गते अन्दाजी १२ः२५ बजेको समयमा महोत्तरीमा रहेको एनएमबी बैङ्कमा अपरिचित नकाबधारी चाररपाँचजनाको हतियारधारी समूहले बैङ्क लुटपाट गर्यो । उनीहरु बैङ्कमा प्रवेश गरी बैङ्कका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई बैङ्कबाट तत्काल रु १५ लाखभन्दा बढी लुटेर लगे । उनीहरुले बैङ्कका कर्मचारीको मोबाइलसमेत लुटी डाँका गरी नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा चढेर भागेका थिए । घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा भारतीय नागरिक अजय कुमार, धनुषा मुजर्निया मुखियापट्टी–२ बस्ने वर्ष २२ को अनर्जित राम र अर्का एकजना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । आमाछोरीको आगो लगाएर हत्या सल्ल्यानमा विसं २०८० भदौ ५ गते ६ः५० बजेको समयमा एउटा घरमा मानिस सुतिरहेका बेला जलेको अवस्थामा आमाछोरी भेटिए । टिनले छाएको एकतले कच्ची घरमा पीडितहरु बिहानसम्म पनि नउठेपछि स्थानीय छिमेकीले ढोका खोली हेर्दा कोठाभित्र आगलागी भई जली मृत अवस्थामा फेला परेका थिए । सल्ल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुङ्गा बस्ने २९ वर्षकी रेवती थापा र उनकी नौ महिनाकी छोरी ऋतु थापाको आगो लगाएर हत्या गरिएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रतिवादीले प्रेम सम्बन्धका कारण आगो लगाई आमाछोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सल्ल्यानको सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँ बस्ने २८ वर्षका कर्णबहादुर बस्नेत र वर्ष २८ की गीता कार्कीलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । परिवारको सामूहिक हत्या मुगुमा विसं २०८० कात्तिकमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा परिवारका सबै सदस्या शव फेला परेको थियो । प्रहरीका अनुसार मुगु छायाँनाथ रारा नगरपालिका–६ का मुन्दुगाउँ बस्ने श्रीदेवी बोहोरा, उनका नाबालक छोराहरू मनोज बोहोरा र रहर बोहोरा तथा नाबालिका छोरी अप्सरा बोहोराको हत्या भएको थियो । त्यस घटनामा छायाँनाथ रारा–६ कोटिला बस्ने वर्ष ३० का गोपाल बोहोरा र वडा नं ७ पिना बस्ने वर्ष ३० का गोर्खराज शाही संलग्न रहेको पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खनुसन्धानका क्रममा खुलेको बताउनुभयो । उक्त घटनाको पनि प्रहरीबाट सफल अनुसन्धान गरी अपराधीलाई पक्राउपश्चात् कानुनी कारबाही भइरहेको छ । पैसा र सम्पत्तिका कारण हत्या गरेको खुल्न आएको उहाँको भनाइ छ । हत्या गर्ने एकजना आफन्त नै रहेका प्रहरीले जनाएको छ । दम्पती हत्या प्रकरण पर्वतमा २०८० साल चैत २० गते जलजला गाउँपालिका–२ राममन्दिर बस्ने श्रीमान् र श्रीमती ढुङ्गा माटोले बनेको आफ्नै घरमा बसिरहेका बेला हत्या भएको थियो । जलजला–२ राममन्दिर बस्ने वर्ष ६९ को सूर्यबहादुर घर्ती र श्रीमती वर्ष ६७ की कमला घर्ती मृत भेटिएका हुन् । दुईतले पक्की घरको भुइँ तलाको आफू सुत्ने कोठाभित्र रगताम्मे अवस्थामा दम्पतीको शव भेटिएको थियो । उक्त घटनाको पनि सफल अनुसन्धान गरी प्रहरीले प्रतिवादी पक्राउ गरेको छ । घटनामा जलजला–२ बस्ने वर्ष ३२ का कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट स्थायी घर भई कास्की बस्ने दीपक दर्जी संलग्न रहेका प्रहरीले जनाएको छ । उनीहरुले सम्पत्ति लुट्ने उद्देश्यले निज दम्पतीको हत्या गरेका पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बोरामा दुईजनाको शव फेला विसं २०८० मङ्सिर ६ गते १२ः५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा दुई शव बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पर्यो । सडक कल्भर्टमुनि दुईवटा जुटको बोरामा एक पुरुष र एक महिलाको शव फेला परेको थियो । भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही ठाउँका अस्मिता भन्ने सञ्जु देवीको शव भएको प्रहरीले पुष्टि गर्यो । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको सिआइबीको अनुसन्धानले पत्ता लागेको थियो । अखिलेष भगत हाल भारतस्थित कारागारमा अपहरण मुद्दामा सजाय काटिरहेका छन् । विवाहपछि भतिजसँगको सम्बन्धका कारण उनले आफ्नै श्रीमती र भतिजको हत्या गरेका थिए । विनोद सुनचाँदी पसल चोरी प्रकरण चितवनको कालिका नगरपालिका खोलेसिममा रहेको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । सिसी टिभी फुटेजमा दुईजनाले झोला भरी राखेर मोटरसाइकलमा सुन लगेको देखिन्थ्यो । उक्त घटनापछि प्रहरीले अनुसन्धान थाल्यो । घटनामा पसल सञ्चालक विनोद सुनुवार आफैँले योजना बनाएर बीमा दाबीका लागि सुन चोरी गर्न लगाएको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । उक्त घटनापछि निजले रु दुई करोड ५५ लाखको बीमा दाबी गरेका थिए । उनले आफ्ना चिनेजानेका र काम गर्ने कर्मचारी प्रयोग गरेर चोरी गर्न लगाएको पाइएको कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले सञ्चालकसहित पाँचजनालाई पक्राउ गरी कारबाही अघि बढेको छ । बलात्कारपछि हत्या गत मङ्सिरमा धनुषामा भएको बालिकामाथिको बलात्कारपछि हत्याको घटनामा पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानमा अपराधीले बलात्कार गरी घाँटी थिचेर हत्या गरेर पोखरीमा शव फालेको स्वीकारेका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उक्त अनुसन्धानका क्रममा प्रहरीले धनुषा सबैला नगरपालिकाका ३१ वर्षीय विनोदकुमार राय र कमला नगरपालिका–६ बस्ने २४ वर्षीय रोशनकुमार मुखियालाई पक्राउ गरी कारबाही गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताउनुभयो । क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।” विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताउनुभयो । पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक–वैचारिक रचना र कार्यक्रमहरूमा सर्वहारावादी दृष्टिकोण पाइने बताउँदै उहाँले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गर्नुभएको उल्लेख गर्नुभयो । संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउँदै उहाँले भन्नुभयो, “पुष्पलालले आफ्नो पुस्तालाई मात्र नभएर पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो ।” कम्युनिष्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उहाँले कुशल सङ्गठकको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेको बताउनुभयो । नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) क्रियाशील रहेको भन्दै उहाँले हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्र र जनताको, श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट आफ्नो पार्टीले गरेको बताउनुभयो ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भन्नुभयो, “सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।” काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ । चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०८०÷८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताउनुभयो । गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
चितवन: जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ । बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।
गण्डकी: नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पोखराको फेदीपाटनस्थित पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको जग बसाल्ने प्रमुख नेता पुष्पलालले अघि सार्नुभएका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो । पोखरा महानगरपालिका–२१ फेदीपाटन, पोटेरामा पाँच वर्षअघि निर्माण गरिएको सुविधासम्पन्न भवन अत्यावश्यक संरचनाको अभावमा पूर्णरुपमा सञ्चालन गर्न नसकिएको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवम् नेकपा एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका आदर्श पुरुष पुष्पलालको विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ केन्द्र स्थापना गरिएको हो । करिब रु १० लाखमा खरिद गरेको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकार, विभिन्न सङ्घसंस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको रु एक करोड ५० लाख बराबरको आर्थिक सहयोगबाट भवन निर्माण गरिएको अध्ययन केन्द्रले जनाएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अधिकारीले भन्नुभयो, “तीनतले पक्की भवनमा पुस्तकालय, तालिम कक्ष, पुष्पलालसम्बन्धी अध्ययन–अनुसन्धान गर्न इच्छुक सङ्घसंस्था एवं व्यक्तिका लागि नवीनतम् प्रविधिसहित आवश्यक वातावरण तयार गरिए पनि अपेक्षा गरिएअनुसार भवनको सदुपयोग हुन सकेको छैन, त्यसतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।” पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आज आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेता अधिकारीले यसै क्षेत्र आसपासका करिब एक सय रोपनी सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण गरी जननेता मदन भण्डारी र कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरुको सालिकसहित पुष्पलाल स्मृति वाटिका निर्माण गर्न केन्द्र जुटिरहेको जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१७ र २१ जोडने फुस्रेखोलामाथिको पक्की पुल निर्माण प्रक्रियाअन्तर्गत रु ४९ करोड लागतसहितको डिपिआर तयार भएको जानकारी दिँदै पूर्वमुख्यमन्त्री अधिकारीले पुल निर्माणपछि अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्पmत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गर्नुभएको बताउनुभयो । यसैगरी, केन्द्रीय सदस्य एवम् अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बीजारोपण भएको धारणा व्यक्त गर्नुभयो । एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका पुष्पलालका सहपाठी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरिएको थियो । विसं १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मनुभएका पुष्पलालको नयाँ दिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा २०३५ साल साउन ७ गते उपचारका क्रममा निधन भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत् निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो । “उहाँले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो”, प्रधानमन्त्रीले भन्नुभएको छ । विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय हो भन्नुभयो । “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी छ भन्नुभयो । उहाँले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताउनुभयो । उहाँले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिनुभयो । न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिनको तालिमको आयोजना गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ ।