काठमाडौं: चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव सनाखत भई आफन्तले बुझेका छन् । चितवनको माडी¬ नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका–१० का बस चालक ४३ वर्षीय किशोरकुमार चौधरीको शव सनाखत भएको छ । रौटहटको गरुडा नरपालिका–९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका–६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका–३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ का २८ वर्षीया चन्द्रप्रभा कुमारी र रौतहटको बौधिमाई नगरपालिका–७ का २९ वर्षीया अमृता कुमारीको शव सनाखत भई आफन्तले बुझी लगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् । गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । पछिल्लो तथ्याङ्कअनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेका खुलेको छ । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात् घर फर्केका छन् भने रौतहटका देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ । भारतको चम्पारणमा फेला परे दुई शव दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
ताप्लेजुङ: जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूले भन्नुभयो, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।” बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम तापेथोक छ ।”
काठमाडौं: सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ । प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र विधेयक समितिको संयोजकको जिम्मेवारी गृहमन्त्री रमेश लेखकलाई दिइएको छ । बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ । नयाँदिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन बैठकले अनुमति दिएको छ ।
काठमाडौं: कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।
बागलुङः गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ । विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ ।
महोत्तरी: महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरू ट्याक्टरमा त्यसतर्फ गइरहेका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार आज दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका क्रममा जलेश्वर नपा–९ स्थित परिकौली चौक नजिकै ट्याक्टर दुर्घटना भएको थियो । चालकले तीव्र गतिमा ट्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनापश्चात् चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भन्नुभयो, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्नुभएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताउनुभयो । उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताउनुभयो । ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उहाँले धारणा राख्नुभयो । “राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ”, उहाँले भन्नुभयो । देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिका आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो । सञ्चारमन्त्री गुरुङले अहिले बेजेट आइसकेकाले धेरै ठूलो अपेक्षा नगर्न आग्रह गर्नुभयो । यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउनका लागि सरकारले काम गर्ने उहाँले बताउनुभयो । “सुखी नेपाली समृद्ध, नेपालको अभियानलाई साकार पार्ने कुरामा हामी लाग्छौँ”, उहाँले भन्नुभयो । अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने सञ्चारमन्त्री गुरुङले बताउनुभयो । राजनीतिक अस्थिरताका कारण अवसरवादी गठबन्धन भइरहेकाले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउनका लागि आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।