काठमाडौं: गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताउनुभयो । नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उहाँले यस विषयमा समर्थन गर्न आग्रह गर्नुभयो । राजदूत थम्पसनले गृहमन्त्री पदमा नियुक्त हुनुभएकामा लेखकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उहाँले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो ।
मनाङ: हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो । उहाँले भन्नुभयो, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।” प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताउनुभयो । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उहाँले जनाकारी दिनुभयो ।
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो ।
काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ । फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।” फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ । फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडितले प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ । अदालतले मिसिल संलग्न सिसिटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ । फैसलामा भनिएको छ, “प्रतिवादीलाई पीडित बालक ठहर गरी जबर्जस्ती करणी गरेको ठहर्याइ काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।” फैसलामा पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई ‘स्न्याप च्याट’मार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्नेभन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले लामिछानेमाथि जबर्जस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ । फैसलामा लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइबसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी ९सन्दीप०ले ‘बुक’ गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको उल्लेख छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने र गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटन जानुभएको थियो । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो । गौशाला २६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि उहाँलाई गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा लामिछानेलाई अदालतले सफाइ दिएको छ ।
म्याग्दी: गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् । पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गर्नुभएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियाल्नुभयो । सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन् । वर्षासँगै म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेसिन र जनशक्ति परिचालन गरेर पटकपटक पहिरो पन्छाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताउनुभयो । यसले पश्चिम म्याग्दीका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको उहाँले बताउनुभयो । यातायात सञ्चालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौँ यात्रु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुङ्गे पुल हुँदै सिमलचौर निस्केपछि अर्को गाडीमार्फत गन्तव्यमा जाने गरेका छन् । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि आवागमन अवरुद्ध हुने समस्याले स्थानीयले सास्ती खेप्दै आएका यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिनुभयो । उन्नाइस वर्षअघि सडकको मार्ग खोल्नुपूर्व यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथाम गर्न दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । “बेनी–दरबाङ खण्ड पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा ढुङ्गा र ग्रेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ, ठूलो पहिरो भएकाले लगानी पनि बढी लाग्छ ।” बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गत बेनी–दरबाङ्ग खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभयो । पहिरोको दीर्घकालीन समाधान गर्न वैकल्पिक मार्ग र बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्ग निर्माणमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “वर्खाको समयमा वैकल्किप मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ”, उहाँले भन्नुभयो, “अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ ।”
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उहाँहरूबीच नेपाल(अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्याङ्जा: स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स सेवा उपलब्ध गराउन गालिएको बताउनुभयो । “गाउँपालिकावासी सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यकाबारेमा रेखदेख र आवश्यक परामर्श दिन पनि सहज भएको छ”, उहाँले भन्नुभयो । गत आर्थिक वर्षबाट सेवा उपलब्ध गराउने कार्यविधि बनाएर कार्यान्वयनमा लगिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँ रहेका बर्थिङ सेन्टर तथा गाउँपालिकाद्वारा सञ्चालित कालीगण्डकी अस्पताल मिर्मीमा गर्भवती तथा सुत्केरी महिलालाई आउन जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको हो । वडा नं ७ मिर्मीमा रहेको अस्पताल, वडा नं १ मा रहेको चण्डीभञ्ज्याङ बर्थिङ सेन्टर, वडा नं २ को आलमदेवी बर्थिङ सेन्टर र वडा नं ४ को विर्घा बर्थिङ सेन्टरगरी चार ठाउँमा आउन जान सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले बताउनुभयो । पालिकासँग चारवटा एम्बुलेन्स रहेका छन् । “गत आवको अन्तिममा भए पनि कार्यविधि बनाउर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ, हालसम्म नौ जनाले सेवा लिनुभएको छ । यसको प्रचारप्रसार र सेवाका बारेमा टोलटोलमा जानकारी दिएर अझै प्रभावकारी ढङ्गले अगाडि बढाउने योजनामा छौँ”, स्वास्थ्य शाखा प्रमुख थापाले भन्नुभयो । कालीगण्डकी पालिकावासीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमासमेत सञ्चालनमा छ । यहाँ सञ्चालित कालीगण्डकी अस्पतालका सेवामा पनि गाउँपालिकावासी निकै सहयुलियत दिइएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाई गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिनुभयो । सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गर्नुभयो । खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।
पर्वत: पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो । गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् । जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् । वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिनुभयो । केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उहाँको भनाइ छ । यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिनुभएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिनुभएको छ । बस्ती माथिकोे जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताउनुभयो । गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यकपर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिमा रहेका पालिका कार्यालयले जनाएको छ । यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ । यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन् ।