काठमाडौं: त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता सशस्त्र शैलेन्द्र थापाले सशस्त्र प्रहरी नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदिसम्म खोजी कार्य गर्ने जानकारी दिनुभयो । त्यस्तै, अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरुको प्रयोग गरी घटनास्थलदेखि एक किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजी कार्य गर्नेछ । त्यसैगरी, नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदि किनारामा पैदलगस्ती गर्दै खोजी कार्यका लागि परिचालन भएको छ । डिएसपी थापाले अविरल वर्षाका कारण नदिमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाईसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको जानकारी दिनुभयो । यि डिभाईसहरुले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजी कार्यका लागि प्रयोग गरिन्छ । असार २८ गते बेपत्ता भएको बस तथा यात्रुहरुको खोजीका लागि खटिएको सुरक्षा फौजले तीन वटा शव फेला पारेको थियो । खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुलि नदिमा खसेको थियो ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोले बगाएको बसका बेपत्ता यात्रुमध्ये तीनजनाको शव भेटिएको छ । तीन शव भेटिएको र दुईजनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहारका २८ वर्षीय ऋषिपल साहको पहिचान खुलेको हो । साहको शव शनिबार बिहान ११ बजे भेटिएको थियो । माझीको शव साँझ भेटिएको हो । माझीका बुवा रवीन्द्रकिशोर र साहका दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट रौतहटको गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । सुरुकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ । तर, अँध्यारो भएकाले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार बिहान ७ बजेदेखि पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार, आइतबार गृहसचिवसहितका सुरक्षा निकायका प्रमुखले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ । शुक्रबार (हिजो) काठमाडौंबाट गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र पर्साको वीरगन्जबाट काठमाडौंतर्फ जाँदैै गरेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । गौर जान आउँदै गरेको बसमा २७ र काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।
चितवन: चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव भारतीय नागरिकको पहिचान खुलेको छ । बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उनको पहिचान खुलेको हो । यो पनि पढ्नुहोस त्रिशूलीमा खसेको बसका एक यात्रुको शव नारायणीमा भेटियो जिल्ला प्रशासन कार्यालय चितवनले मृतकको पहिचान भएको र उनी बसका यात्रु भएको जनाएको छ । साहको शव दुर्घटना स्थलभन्दा करिब ५० किलो मिटर टाढा नारायणी नदी किनारमा भेटिएको हो ।
म्याग्दी: दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ । दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर दुई दशमलव ५० का दरले अनुदान उपलब्ध गराउन प्रदेश सरकारले केन्द्रलाई चालु आर्थिक वर्षका लागि २४ लाख बजेट विनियोजन गरेको थियो । अनुदान कार्यक्रमका लागि दोनान, बास्कुना, शुभकामना कृषि र सिमलचौर बीउबिजन कृषि सहकारी संस्थाले केन्द्रमा आवेदन पेस गरेका थिए । शुभकामना कृषि सहकारी संस्थामा आबद्ध कृषकले मात्र दुई लाख एक हजार पाँच सय अनुदानबापतको रकम पाएका बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेको ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो । बाँकी २१ लाख ९८ हजार पाँच सय फिर्ता भएको हो । कार्यविधिअनुसार सबै प्रक्रिया पूरा गरेर तोकिएको कागजात पेस गरे पनि कार्यालयका केही कर्मचारीको बेवास्ताका कारण कृषक अनुदानबाट वञ्चित भएका उहाँले गुनासो गर्नुभयो । “हरेक चौमासिकरुपमा वितरण गर्नुपर्ने अनुदान कर्मचारी अभाव भएको भन्दै एकै किस्तामा आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने प्रतिबद्धता जनाएका भेटेरिनरी कार्यालयका कर्मचारीले आवको अन्त्यमा बेवास्ता गर्दा अनुदान रकम फिर्ता गएको हो”, ढुङ्गानाले भन्नुभयो, “यही असार २४ गते सम्म भुक्तानी आउने आश्वासन पाएका किसान अनुदानबाट वञ्चित भएका छन् ।” बेनी बजारमा दैनिक एक हजार पाँच सय लिटर दूध आपूर्ति गर्ने ढुङ्गानालगायत १८ जना कृषकले दोभान कृषि सहकारी संस्थामार्फत अनुदानका लागि आवेदन पेस गरेका थिए । दैनिक दुई सय लिटरभन्दा बढी दूध निकासी गर्ने बास्कुना, तातोपानी, बरङ्जा क्षेत्रका कृषकले सिमलचौर कृषि सहकारीमार्फत आवेदन दिएको जनाएका छन् । बेनी–७ का कृषक कृष्णप्रसाद शर्माले विगतका वर्षमा सहज तरिकाले अनुदान पाए पनि यसपाली कर्मचारीले सहयोग नगरेका गुनासो गर्नुभयो । “यसअघिका वर्षमा हामीले पेस गरेका कागज र प्रक्रियाबाट अनुदान पाउने गरेका थियौँ । यस वर्ष पनि सोहीअनुसार कार्यालयले मागेका सबै कागजात पेस गरेका हौँ”, उहाँले भन्नुभयो, “केन्द्रका कर्मचारीले अनुदान दिने प्रतिबद्धता जनाएर कृषकलाई झुक्काउने र निराश बनाउने काम गरेका छन् ।” केन्द्रका प्रमुख डा भरत रेग्मीले कार्यालयका योजना प्रमुख सुवास रेग्मी नेतृत्वको समितिलाई अनुदान वितरणको जिम्मेवारी दिइएको बताउनुभयो । अनुदानका लागि तोकिएको मापदण्ड र प्रक्रिया पूरा नभएकाले अनुदान उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । “योजना शाखाका प्रमुख, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिसअनुसार सहकारी संस्था छनोट र अनुदान वितरण भएको हो”, प्रमुख रेग्मीले भन्नुभयो, “जुन सहकारीले कार्यविधि र मापदण्ड पालना गरेका छन्, ती सहकारीमा आबद्ध कृषकले अनुदान पाएका छन् । कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले अन्यले अनुदान नपाएका हुन् ।” केन्द्रका योजना शाखा प्रमुख सुभास रेग्मीले शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकबाट दूध सङ्कलन गरेर बजारमा पठाउने र सहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले उक्त सहकारीलाई मात्र अनुदान दिएको बताउनुभयो । “विगतका वर्षमा केकसरी अनुदान रकम उपलब्ध गएिको थियो सोबारे अध्ययन गर्नेछौँ”, उहाँले भन्नुभयो “यस वर्षदेखि निश्चित मापदण्ड र कार्यविधि बनाएका छौँ । सोहीअनुसार अनुदान दिएका हौँ ।” कृषक भुवन आचार्यले केन्द्रका प्रमुख र योजना शाखा प्रमुख रेग्मीद्वयको भनाइ खण्डन गर्दै केन्द्रका कर्मचारीको बेवास्ताका कारण राज्यले दिएको सुविधाबाट कृषक वञ्चित भएका गुनासो गर्नुभयो ।
ललितपुर: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ । ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पसभाको उदघाटन गर्दै प्रमुख महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने जानकारी दिनुभयो । “सङ्घीय सरकारसँग खर्च लिएर पुरातात्विक शैलीको मठमन्दिर, देवालय, शिवालय निर्माण गर्दा प्रक्रिया लामो हुन्छ । ठेकेदारले पनि लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरु पुरानै शैलीमा निर्माण गर्दैनन्”, उहाँले भन्नुभयो, “पाटन दरबारको भीमसेन मन्दिर, देगु तलेजु, बालकुमारीको बालकुमारी मन्दिर महानगरले उत्कृष्ट तरिकाले निर्माण गरेको छ । कुनै समस्या भएको छैन ।” मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो । सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचार प्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँको भनाइ छ । महायज्ञ सम्पन्न भएपछि मात्रै निर्माण सुरु हुने गरी तालिका सार्वजनिक गर्नुपर्ने बताउँदै महानगर प्रमुख महर्जनले पुनःनिर्माणका लागि खर्च अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो ठाउँ मुलुकको भ्रमण गर्नैपर्ने ठाउँ हो भनेर प्रचारप्रसार गर्न जरुरी छ । प्रभावकारी निर्माणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो । महायज्ञका कथा वाचक प्रविण पण्डित दीनबन्दु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वोच्चस्थल हो भन्नुहुँदै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । “आध्यात्मिक साधनाका लागि नेपाल सर्वोच्चस्थल हो । यहाँ विश्वले भ्रमण गर्नैपर्ने स्थान छन् । सांस्कृतिक हिसाबले ललितपुर उत्कृष्ट छ, सुनाकोठीको यो भृङ्गारेश्वर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियरुपमा विकास गराउनुपर्छ । महायज्ञका लागि विश्वास गरी शुभअवसर प्रदान गर्नुभएकामा गौरवान्वित छु”, पण्डित पोखरेलले भन्नुभयो । ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझै बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । प्राचीनकालमा निर्मित भृङ्गारेश्वर वि.सं.१९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रिया अघि बढेको छ । ऐतिहासिक सम्पदाका रुपमा रहेको भृङ्गारेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरेर यहाँका पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा बुद्धसेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार यहाँ बालकुमारी त्रिपुरासुन्दरी, जगन्नाथ, गणेश र भृङ्गारेश्वर महादेव मन्दिरलगायत ऐतिहासिक सम्पदा रहेका छन् । वि.सं.२०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।
स्याङजा: स्याङजामा मृत अवस्थामा चितुवा फेला परेको छ । स्याङजाको गल्याङ नगरपालिका १ भेडावारीमा शनिवार बिहान मृत अवस्थामा चितुवा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । चितुवालाई डिभिजन बन कार्यालयको जिम्मा लगाइएको राम्दि प्रहरीले जनाएको छ। घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
चितवन: चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यद्यपि, उक्त शव बस दुर्घटनामा परेकाे यात्रुको हो होइन भन्नेबारे यकिन भइसकेको छैन । शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल भेटिएको हो।
सिरहा: सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङ्ग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो । चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई चोहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार शुक्रबार दिनभर भएको खोजी कार्य साँझ रोकिएकोमा आज बिहानैबाट फेरि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गरिरहेको हो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या भएपछि शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी भइरहेको बताए । उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।’ काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँका आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएको प्रजिअ यादवले जानकारी दिए । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।