काठमाडौं:  संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्...

काठमाडौं:    विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो। उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ  नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए। आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए। ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,’ उनले भने।   बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ।

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एव्म प्रहरी उपरीक्षक मोहनकुमार थापाले पोखरामा भोलिदेखि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसप र चालकलाई कारवाही गर्ने बताएका छन् । कास्की प्रहरी प्रमुख थापाले आज पोखरामा मोटरसाईकल वर्कसपमा सचेतना मूलक स्टिकर टाँस्ने अभियान शुभारम्भको गर्दै मोडिफाई मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेबापत कारवाही गरिएपनि नियन्त्रणमा नआएको बताए ।  त्यसैले सवारी जरिवाना मात्रै नभएर २५ दिन हिरासतमै राख्ने घोषणा गरे । ‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई भएका केही मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेवापत जरिवाना ग¥यौं, कास्की प्रमुख थापाले भने, ‘मोडिफाई गर्ने क्रम अझै रोकिएको छैन । अब हामी मोडिफाई गर्न संग्लन हुने सबैलाई मुलुकी अपराध संहिता २०७४ मा सार्वजनिक शान्ति भंग गर्न नहुने कसुर छ । त्यसमा कसैलाई दुःख हैरानी दिन नपाईने उल्लेख गरिएको छ । त्यही कानूनलाई प्रयोग गरेर कारवाही गर्छौ ।’ उनले पोखरामा भोलिदेखि स्विकृती विना मोेटरसाइकल मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुनामा राखेर कारवाही गर्ने बताए ।  ‘पोखरामा पछिल्लो समय सवारी साधन मोडिफाई गरेर चलाउने क्रम बढ्दो रुपमा रहेको छ, केही सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही पनि ग¥र्यौ, थापाले भने, ‘‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई गर्ने क्रम नरोकिएकाले भोलिदेखि पोखरामा मोटरसाइकल मोडिफाई गर्न संग्लन हुने वर्कसप र चालक दुवैलाई २५ दिन थुनामा राखेर कारवाही गर्छौ ।’ प्रहरी उपरीक्षक एवम् कास्की प्रहरी प्रमुख थापाले कसैसँग कुनै सम्झौता नगरी कानूनको पालनामा लाग्ने बताए ।  जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयले पछिल्लो समय मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई कारवाही गर्दै आएको छ । यसअघि कास्की प्रहरीले करिब ७ सय मोेडिफाई मोटरसाइकललाई कारीवाही गरिसकेको छ ।   

गोरखा:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।  गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख समेत गरे ।  गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने बताए ।  गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।

काठमाडौं:    सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिनुभयो ।  “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताउनुभयो । “ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।  अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाईसमेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताउनुभयो । ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ ।  ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ । बिहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।  वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

धनगढी:    धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्  । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो ।  फौजी कीराले मकैमा क्षति भएको  स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ ।” आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए । उनले भने, “हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ ।” विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन् ।  रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनले जानकारी दिए । 

चितवन:    त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव भेटिएको हो। उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको छ। गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो। मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ। दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अन्जना रोका, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोका र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

सप्तरी:     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ  । लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले राससलाई जानकारी दिनुभयो ।  वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ  । न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । गाउँपालिका तथा मातहतका कार्यालय ९अति आवश्यक सेवाबाहेक० आज बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । दिवङ्गत रायको दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले बताउनुभयो  ।