पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकस्थित मेश्रम बराह माविलाई गुरुङ चलचित्र शिरसुवा टिमले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित गुरुङ कथानक चलचित्र शिरसुवाको टिमले विद्यालयलाई आज एक कार्यक्रमको आयोजना गर्दै २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । घान्द्रुकस्थित मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनका लागि फिल्मको आम्दानीबाट २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए । उनका अनुसार घान्द्रुकमा छायाङ्कन गरिएको गुरुङ कथानक चलचित्र शिरसुवाको आम्दानीबाट २ लाख मेश्रम माविमा कक्षा ११ र १२ कक्षा सञ्चालनार्थ सहयोग गरिएको हो । उनले उक्त चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन भएपछि बेलायतमा ७ पटक प्रदर्शन भइसकेको छ । मेश्रम माविमा कक्षा ११ र १२ सञ्चालनार्थ गठित अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले सबैको साथ सहयोगमा कक्षा सञ्चालन गर्न सफल भएको बताए । ‘हामीले गाउँमा नै कक्षा ११ र १२ सञ्चालन गर्न सफल भएका छौं, कक्षा सञ्चालनमा सबैको साथ सहयोग अनिवार्य छ, गुरुङले भने, ‘घान्द्रुकमा छायाङ्कन भएको चलचित्र शिरसुवाले पनि कक्षा सञ्चालनका सहयोगार्थ भनेर नै फिल्म तयार गरेको छ, हामी यसमा आभारी छौं ।’ चलचित्र शिरसुवाका निर्माण समूहले घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माण गर्नका लागि ५ लाख रुपैयाँसमेत आर्थिक सहयोग गरिसकेको छ । मेश्रम बराह माविमा २०७४ सालमा अस्थायी अनुमति लिएर कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । हाल सो विद्यालयमा ११ र १२ मा गरी करिब ५० बढी विद्यार्थी अध्ययनरत छन् ।
ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकामा कृषि संकलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट संकलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज(वस्तुलाई संकलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। ‘तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म संकलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ’, उनले भने। अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र बन्ने भन्दै उक्त केन्द्र निर्माण भएपछि कृषकलाई राहत हुने बताए। अहिले किसानले उत्पादन गरेका वस्तुले बजार पाउन नसकेको भन्दै केन्द्र बनेपछि गाउँगाउँबाट कृषि उत्पादन संकलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने उनले जानकारी दिए। ‘यहाँका धेरै किसानले तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादनले सजहरुपमा बजार पाएको छैन’, अध्यक्ष मगरले भने, ‘पालिका केन्द्र सञ्चालनमा ल्याएसँगै बजारीकरणको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना बनाएको छ । किसानलाई उचित मूल्य दिलाउन हामीले योजना बनाएर लाग्नेछौँ । संकलन केन्द्रमा छवटै वडाबाट उत्पादन ल्याइनेछ ।’ यही चैत ४ गते सम्झौता भएर केन्द्रको काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्नेगरी ३० लाखमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर अर्जुन यादवले बताए। केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन संकलन गर्ने फरकफरक कोठाहरू निर्माण हुने उनको भनाइ छ । केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्ने उहाँले जानकारी दिए। स्थानीय प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरू मारमा पर्दै आएको भन्दै संकलन केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने बताए। तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पुर्याउनुपर्ने बाध्यता रहेकामा उक्त बाध्यताको अन्त्य हुने उनको भनाइ छ । गाउँपालिकाले निर्माण गरिरहेको उक्त केन्द्रमा सबै वडाबाट तरकारी तथा कृषिजन्य उत्पादन संकलन गरी ल्याउने र ठूला(ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुनको भनाइ छ ।
काठमाडौं: भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडाँैको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् । एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताउनुभयो । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो । पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिनुभयो । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिनुभयो । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।
काठमाडौं: नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँ भन्दा बढि नगद पुरस्कारबाट सम्मानित भएकी छिन् । चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता एरिकालाई च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आयोजना गरेको कार्यक्रममा नौ लाख ३२ हजार चार सय ६३ रुपियाँ (सात हजार ११ अमेरिकी डलर) सहित सम्मान गरिएको हो । एरिका हाल युएसए ओपन कराते च्याम्पियनसिप खेल्न अमेरिका गएकी थिईन् । एरिकाले युएसए ओपन करातेमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण र सोही तौलको सिनियर खुलामा रजत पदक जितेकी थिईन् । एरिकालाई ११औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रमबिच नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । एरिकाको सम्मानका लागि तमु परिवारले दुई हजार सात सय ५६, तमु सोसाईटीले नौ सय ५३, सुदूरपश्चिम समाजले पाँच सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले एक सय ९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी रकम च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीबाट प्राप्त रकमबाट सम्मान गरिएको च्याम्पियन मार्सल आर्ट्स क्लबका लामाले जानकारी दिए । सो अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं आठौँ र नवौँ सागका स्वर्णपदक विजेता दीपक श्रेष्ठ, १०औँ सागमा स्वर्ण विजेता एवं प्रशिक्षक कुशल श्रेष्ठ, १३औं सागका स्वर्णपदक विजेता अनु अधिकारी र विप्लवलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। अनु अमेरिकामा बस्दै आएकी छिन् भने एरिका, विप्लव, दीपक र कुशल युएसए ओपनमा भाग लिन अमेरिका पुगेका हुन्। एरिका लगायतलाई क्लबका लामा, १३औँ एसियाडका कांस्य पदक विजेता सम्बरबहादुर गोलेलगायतले सम्मान गरेका थिए ।
पोखरा: १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिचाई व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुर्ननिर्माणलाई जोडेर पठाएको उल्लेख गरे ।साँझा चोकदेखि बुद्ध चोकसम्मको बाटो पनि बुहुवर्षेमा परेको छ, अगामी वर्ष करिव २८ अर्वका योजनाहरु महानगरमा लागु हुँदैछन्, सुईखेत डुवान नियन्त्रणको कार्य पनि अगाडि बढेकै छ उनले भने । महानगर प्रवक्ता समेत रहेको पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवका संस्थापक प्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको स्पष्ट पारे ।उनले बहुउद्देश्यीय भवन निर्माणको खुशीयाली साट्दै हेमजाको विकासमा महानगर प्रयासरत रहेको औँल्याए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले आलु स्वास्थ्यका लागि महत्वपूर्ण भएको स्पष्ट पार्दै हेमजाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे ।आलुका परिकारलाई मुल्य शृङखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै प्रमुख कडरियाँले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे । त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सीना पंगेनी, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, कलाकार जीवन दाहाल, मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ लगायतले पनि धारणा राखे । महोत्सव सुरु हुनु पूर्व स्थानीय माईस्थानबाट बाजागाजा सहित शोभा यात्रा एवम् झाँकी ¥याली निकालिएकोमा उक्त ¥याली मिलनचोक, साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्यो । भाँकी ¥यालीमा सयौं हेमजावासीको उल्लेख्य सहभागिता रहयो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् । महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार भइरहेको छ भने करिव ८० टन आलु बिक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोडको आलु बिक्रीवितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ । गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । उनीहरू अहिले छलफल गरिरहेका छन् । गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ ९दीपक मनाङ० को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।
सिरहा: सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ। सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ। यादवले दिएका बयान अनुसार लुटेरामध्ये मोटरसाईकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङ्गको कपडा लगाएको प्रहरीले बताए। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू संकलन भईरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
पोखरा: होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ । यस सम्बन्धी तालिम पहिलो चरणमा कालिगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङदी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ । होटल व्यवसायी महासंघ गण्डकीले आज नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी यही चैत २४ र २५ गते गैँडाकोटमा कालीगण्डकी करिडोरका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छता र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन लागिएको जनाएको छ । महासंघका अध्यक्ष अर्जुन चोखालका अनुसार तालिममा करिडोर अन्तर्गत गैँडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहनेछ । “होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, विभिन्न तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरी सेवा व्यवसायलाई गुणस्तरीय बनाउन कार्यक्रमबाट सहयोग पुग्नेछ ।” अध्यक्ष चोखालले भन्नुभयो । पोखरा गण्डकी प्रदेशको राजधानी सहर घोषणा भइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन कार्यक्रम महत्वपूर्ण हुने बताइन्छ । छिमेकी मुलुक चिनसँगको उत्तरी नाका कोरलादेखी दक्षिणी छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको र विशेष गरी धार्मिक पर्यटनका लागि महत्वपूर्ण रहेको छ । यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजवुत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिलाई प्राथमिकता दिइएको अध्यक्ष चोखालले बताउनुभयो । सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा सिकाइने महासंघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो । तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी तथा प्रशिक्षकहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र लगायतका विषय विज्ञहरु रहनुभएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले काली गण्डकी र मस्र्याङदी करिडोरमा रहेका साना तथा मझौला व्यवसायी तथा कामदारहरुलाई समेत स्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउनु महत्वपूर्ण रहेकाले तालिम आयोजना गरिएको बताउनुभयो । पर्यटनको राजधानी पोखरा, बेगनास तथा काठमाडौँम रहेका ठूला र स्तरीय होटलमा दिइएको सुविधा राम्रो रहेपनि अन्यत्र रहेका पर्यटकीय गन्तव्यहरुमा समेत राम्रो र पर्यटकमैत्री व्यवहार आवश्यक रहेको पोखरेलको भनाई छ । उहाँले भन्नुभयो,“पर्यटन क्षेत्रमा हस्पिटालिटीको धेरै महत्व रहेको हुन्छ । गाउँ ठाउँ तथा स्थानीय स्तरमा पनि पर्यटकमैत्री व्यवहार हुन नसके नेपालको बारेमा राम्रो सन्देश जाँदैन । त्यसैले व्यवसायी र कामदारलाई तालिम दिएर सेवा प्रवाहमा सयोग गर्नु पर्यटन बोर्डको दायित्व हो । ” बोर्डले यस्ता खालका तालिमहरु कालीगण्डकी करिडोरको नवलपुर र म्याग्दी तथा मस्र्याङदी करिडोरको दमौली र मनाङमा गर्न लागिएको जनाएको छ ।