पोखरा:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

काठमाडौं:     प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको थियो । स्वार्थ जोडिएको मन्त्रालयमा मन्त्रीलाई जिम्मेवारी दिएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ नआएसम्म गृहमन्त्रीले अगाडि बढाउने कार्यसूचीलाई सहयोग नगर्ने भन्दै कांग्रेसले अवरोध गरेको हो । शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर संघीय संसद सचिवालयले आजको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो विषय समावेश छैन । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने पनि संघीय संसद सचिवालयले जनाएको छ । शुक्रबारको बैठकमा कांग्रेस सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक(पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न नसकिने बताउँदै उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा भने अवरोध नगर्ने बताएका थिए ।

पोखरा:    पोखरालाई आज औपचारिक रूपमै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्‌मा ‘ब्राण्ड’ बनाउन लागिएको बताउनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतले पर्यटकीय सहरलाई राजधानी घोषणासँगै थप विशेषतालाई उजागार गरेर उत्कृष्ट गन्तव्यको पहिचानसहित पोखरा ‘ब्राण्डिङ’ हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय राजधानीको आवश्यक मापदण्ड र प्रक्रियाका विषयलाई पनि ध्यान दिएर घोषणा गर्न लागिएको छ, सबैको साझा सोच र अपनत्वले यो सफल हुनेछ ।” प्रदेश सरकार र महानगरपालिकाले संयुक्तरूपमा यस क्षेत्रमा रहेका अद्वितय पर्यटकीय गन्तव्यका कारण गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने दिशामा अगाडि बढेको उहाँको भनाइ थियो । महानगर प्रमुख आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । प्रमुख आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा यही आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान(पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहने छ ।

भोजपुर:     भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकै परिवारका ७,६ र ३ बर्षका बालबालिकाको जलेर मृत्यु भएको हो। घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको प्रहरी निरीक्षक राईले बताए ।

पोखरा:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गर्ने बताएका छन् ।  बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गर्ने बताए ।  “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे ।  सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दैै प्रधानमनत्री प्रचण्डले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए । “रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ ।” प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाए ।  अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दैै प्रधानमन्त्री प्रचण्डले ती थालेका काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण सिर्जना भएको बताए ।  “गतवर्ष महत्त्वपूर्ण उपलब्धीहरू प्राप्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “तर, मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।”

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा जारी १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।  अध्यक्षसहित प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदा बाँकी ५ पदाधिकारी र १९ सदस्यका लागि भने निर्वाचन सुरु भएको छ ।  महासंघको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा र द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुदंैछ ।  ५ पदाधिकारीसहित १९ जना सदस्यमा निर्वाचन हुँदै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षसहित, महासचिव, २ सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र १९ जना सदस्यमा निर्वाचन हुन लागेको हो ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षमा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका प्रेम बहादुर विक (खाती) र नेपाल रत्न तथा आभुषण संघका निभा रत्न शाक्यको उम्मेवारी परेको छ ।  महासंघको महासचिवमा २ जना उम्मेदवारी परेको छ । सुनचाँदी व्यवसायी संघ पाँचथरका विमल धमला (निरबहादुर वि.क) र नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका टंकबहादुर बराईलीको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ ।  यस्तै २ सचिव पदमा ३ जनाको उम्मेदारी परेको छ । सगरमाथा सुनचाँदी व्यवसायी संघ,उदयपुरका पृथ्वी विश्वकर्मा, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका खेमराज विश्वकर्मा (तिरुवा) र नेपाल सुनचाँदी व्यवसायी संघका केशर बहादुर विकले सचिव पदमा उम्मेवारी दिएका हुन् ।  यस्तै कोषाध्यक्षमा नेपाल रत्न तथा आभुषण संघका प्रविण शाक्य र नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका गणेश प्रसाद विश्वकर्माको उम्मेवारी परेको छ । यस्तै सह–कोषाध्यक्षमा रत्न व्यवसायी संघ नेपालका मेघ नाथ पाण्डेय र नेपाल  सुनचाँदी कला व्यवसायी संघका दिपक धनुकको उम्मेवारी परेको छ ।  यस्तै १९ पदको कार्यसमिति सदस्यमा २४ जनाको उम्मेवारी परेको छ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी गरेपनि अध्यक्ष, प्रथम र द्धितीय उपाध्यक्षबाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो ।  सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन ।  जारी अधिवेशनमा देशभरबाट कुल ३ सय ८४ जना प्रतिनिधि रहेका छन् । 

काठमाडौं:    कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् ।  काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।  उनले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए । ‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको गुनासो सुन्ने राज्यको संयन्त्रमा छु, गुनासो सुन्न मन्त्रालयका ढोका सधै खुल्ला रहनेछ ।’ उनले राज्यको कमजोर नीतिका कारण  व्यवसायीहरु मारमा परेको उल्लेख गरे । ‘जनताहरुमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गछौं’, उनले भने, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरुम मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं ।’ उनले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै आफ्नो कार्यकालमा समस्याहरु सक्दो सुल्झाउने प्रतिवद्धता जनाए ।  यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताए ।  सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राखे । ‘व्यावसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ, उनले भने, ‘ग्राहकहरु पुरानो सुन लिएर बेच्न आउनुहुन्छ । उहाँहरुसँग पुरानो बिल बिजक हुदैन । र व्यवसायीहरुले उहाँहरुको समस्या बुझेर खरिद गर्नुहुन्छ । त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ । त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ ।’ उनले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गरे । ‘सुन भित्राउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ, उनले भने, ‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ ।’ यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले रत्न तथा आभुषणका लागि कच्चापदार्थ नेपालमै भएकाले सरकारले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । ‘नेपालमै पाइने रत्नहरु भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ र नेपालमा भित्राउदा हजारौ बढी तिरेर आयात गर्नुपरेको स्थिति छ । त्यसैले सरकारले यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ ।’ आज (शुक्रबार) बाट सुरु भएको दशौं महाधिवेशन भोलि (शनिबार) सकिनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी रहेको छ । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन् ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्  ।  उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए। प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् । प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

सिन्धुली:    सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलिको सुनकोसी गाउपालिका १ दुम्जा स्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान तीन बजेतिर बिस्फोटको आवाज आएपछी प्रहरी चौकी दुम्जालाइ जानकारी गराइएको थियो । सो सम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसङ्गै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो । एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रबत्ता दहालका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षती पुगेको छ । टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ती सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।