काठमाडौं: रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ । उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट गरेको छ । सरकारले गत पुस ४ गते सार्वजनिक सूचना जारी गरेर सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइए सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ”, विज्ञप्तिमा उल्लेख छ, “रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।” परराष्ट्र मन्त्रालयले दिवङ्गत नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गर्नुभयो । “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।” उहाँले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”
ललितपुर: राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौं, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । “काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुनःनिर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ”, राष्ट्रपति पौडेलले भने। उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले क्षतविक्षत् भएको बालकुमारी मन्दिर बनाउन महानगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिँदै मन्दिर पुनःनिर्माण गरी राष्ट्रपतिको हातबाट समुद्घाटन गर्न पाएकामा खुसी व्यक्त गरे । उनले देवालय, शिवालयजस्ता पुरातात्विक महत्वका सम्पदा निर्माणमा सार्वजनिक खरिद ऐन, २०६३ बाधक भएको भन्दै उक्त ऐन संशोधन गर्न सुझाव दिए । उनले कुनै समस्या सिर्जना नहुने गरी आफ्नो कार्यकालभित्र ऐतिहासिक महत्त्वका एक सय ५५ वटा मठमन्दिर, पाटीपौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको पनि जानकारी दिए । बालकुमारी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले मन्दिरको ऐतिहासिक पृष्ठभूमि तथा पुनःनिर्माणका बारेमा जानकारी गराए ।
काठमाडौं: प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) विश्वासको मत लिँदैछन् । नयाँ गठबन्धनपछि कांग्रेसले समर्थन फिर्ता लिएकाले आज प्रधानमन्त्री प्रचण्डले तेस्राे पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो ।
पर्वत: कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो । मन्त्री गिरीले कतिपय नीति तथा कानुन अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन तथा कानुन निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गर्नुभयो । मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानुन निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो । “अहिलेका नीति लगानीमैत्री छैनन्”, उहाँले भन्नुभयो, “लगानी र व्यवसायीमैत्री कानुन बनाउन हामी लाग्छौँ ।” वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखी काम गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा रहेका विकृति विसङ्गतिको पनि अन्त्य गरिने दाबी गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर गर्नुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामती ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गर्नुभयो ।
पोखरा: तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा कास्कीका रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न भएको तमु धिं नेपाल केन्द्रिय युवा समिति अधिवेशनले रमेश गुरुङको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा निर्वाचित गुरुङ कास्कीको अन्नपूर्ण गाउँपालिका–९ का वडाध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षहरुमा सुदर्शन गुरुङ, अमृत गुरुङ र सपना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, सहसचिवमा हेमन्त गुरुङ र शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा विराज गुरुङ चयन भएका छन् । युवा साँस्कृतिक विभाग संयोजकमा सुमिना गुरुङ, सहसंयोजकमा रोहित गुरुङ, युवा प्रशिक्षण विभाग संयोजकमा मोनिका गुरुङ, सहसंयोजकमा मनिक गुरुङ, युवा खेलकुद विभाग संयोजकमा चोकबहादुर गुरुङ र सहसंयोजकमा दिपेन्द्र गुरुङ, युवा सुरक्षा विभाग संयोजकमा विकास गुरुङ, सहसंयोजकमा अरुण गुरुङ चयन भएका छन् । यस्तै केन्द्रिय सदस्यहरुमा महादेव(राकेश) गुरुङ,निष्मा गुरुङ, आकृति गुरुङ, टोनिस गुरुङ, निश्चल गुरुङ, सुमित्रा गुरुङ, सुहाना गुरुङ, सौगात गुरुङ, खड्गबहादुर गुरुङ, क्षेत्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, विजय गुरुङ, निराजन गुरुङ, नबिन गुरुङ, अमन गुरुङ, प्रदिप घले, कृष्ण गुरुङ, दिपक गुरुङ चयन भएका छन् । युवा समिति गठन एवम जिम्मेवारी बाँडफाँडका लागि तमु धिं नेपालका केन्द्रिय सदस्यहरु कृष्णकुमार गुरुङ र सुरेन्द्र गुरुङले समन्वयका लागि भुमिका निर्वाह गरेका थिए । नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले तमु युवा, समुदाय, संस्थाका लागि युवा समितिको तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मी प्रसाद गुरुङ, समन्वयकर्ता कृष्णकुमार गुरुङले बधाई र शुभकामना व्यक्त गरे । तमु धिं नेपालका प्रथम उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, अतिथि दिलबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ लगायत केन्द्रिय पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समाजका अध्यक्षहरुले बधाई ज्ञापन गरे । उक्त अवसरमा युवा समितिको माइन्युट तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले नवनिर्वाचित सचिव रामप्रसादलाई हस्तान्तरण गरिन् । नवनिर्वाचित युवा समितिको कोषका लागि तमु धिं नेपालले ५१ हजार रुपैयाँ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले ५१ हजार, दिलबहादुर गुरुङले ५१ हजार गरी १ लाख ५३ हजार रुपैया सहयोग गरिएको थियो ।
काठमाडौं: कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उनी गम्भीर घाइते भएर अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका उनका हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।” बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।
काठमाडौँ: राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । सङ्घीय संसद् सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।