काठमाडौं:  नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...

काठमाडौं:     वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताउनुभयो । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्त्वपूर्ण योगदान छ ।

सर्लाही:    सर्लाहीमा गएराति भएको दुर्घटना रौतहट घर भएका दुई जना युवाको मृत्यु भएको छ । हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका–३, मा भारतीय नम्बर प्लेटको एचआर ५९ ए ०१३१ नम्बरको जीप र भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा रहेका रौतहट माधवनारायण नगरपालिका–६, घर भएका २३ वर्षीय शियानन्दन महतो र त्यहीँ ठाउँ घर भएका अर्का १९ वर्षीय अजय महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पन्जियारले जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ठक्कर दिने जीपलाई नियन्त्रणमा लिएको छ । जीपका चालक फरार छन् । चालकको  खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

पोखरा:    रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२:४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो ।  उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ । स्वर्गीय आमा इन्द्रकला पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।

पोखरा:    रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २२ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई  सहसंयोजकको जिम्मेवारी दिइएको छ । आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा ,स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, र प्राविधिकमा अरबिन बिक्रम राणालाई जिम्मेवारी दिइएको हो ।  रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ । 

काठमाडौं:      सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बालकुमारी घटनाका सम्बन्धमा जुन प्रतिवेदन प्राप्त भएको छ, समितिले यसको अध्ययन गर्ने छ र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ ।’ बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । साथै सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

बारा:    निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही ठाउँ बस्ने वडा –५ का ४५ बर्षे रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेसप्रसाद काफ्लेले बताए ।  फलाम काट्नेक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएको मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।  सोही अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेहरु वीरगञ्ज महानगरपालिका –९ बस्ने ३४ वर्षीय फिरोज देवान, सोही ठाउँका २० वर्षीय रितु रजत, भारतको गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल, सोही ठाउँ रामगढवा बस्ने २० वर्षीय अरविन साहको उपचार भइरहेको उनले जानकारी दिए ।  यसैगरी निजगढ नगरपालिका –५ बस्ने ४५ वर्षीय सुर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।  सोमबार दिउँसो १२ बजेतिर ग्याँस सिलिण्डरको सहयोगले फलाम काट्नेक्रममा सो सिलिण्डर विस्फोट हुँदा सो घटना भएको प्रहरीले जनाएको छ । 

काठमाडौं:    सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पर्वत फूलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।   उनले भने, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

कास्की:   पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।   चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् ।    यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ ।    कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्ग अन्तरगत पर्ने खुमैडाँडा यतिबेला हिउँले ढपक्क ढाकिएको छ र सेताम्मे बनेको छ ।   पदयात्रामा रम्नका लागि यो वर्षको सिजन अब सकिनेवाला छ । त्यसैले हिउँ खेल्न र लालिगुँरास हेर्नका लागि खुमैडाँडा उपयुक्त मानिन्छ । पर्यटकलाई सेवा सुविधाका दिनका लागि खुमैडाँडामा नयाँ ४ होटल थपिएसँगै अहिले ७ वटा होटल सञ्चालनमा छ । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन ।    स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि तातोपानी खारपानी हुदैं मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ  भने (अर्काे रुट) घाचोक हुदैं पनि जान सकिन्छ ।   जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ ।    त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ । ​ कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङलाको नेत्रभोजन र प्राकृतिक सौन्दर्यतासँग पिरती गाँस्न पाइन्छ ।  तस्बिरः राकेश मगर /अर्जुन गाहा सुशान्त (सुनगाभा न्यूज)                          

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ।  प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो। बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले जानकारी दिए। ‘दुर्घटना, बाढी पहिरो, नदीमा डुबेको, आगलागीजन्य विपद्को अवस्थामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गरेर एकाइ राखिएको हो,’ उनले भने, ‘पायक पर्ने र नजिकै तालिमप्राप्त जनशक्तिको टोली भएपछि खोज तथा उद्धार कार्य प्रभावकारी हुनेछ।’ यसअघि म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङमा खोज तथा उद्धारका लागि पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली बोलाउने गरिएको थियो। टाढाबाट टोली आउन ढिलाइ हुँदा खोज तथा उद्धार कार्यमा ढिलाइ हुने गरेको थियो। एकाइमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक फडिन्द्र गोलेले बताए। स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–जोमसोम–कोरला सडकमा हुने दुर्घटना, कालीगण्डकी र आसपासका नदीमा डुबेर बेपत्ता हुने, भिरमा अड्किने, पदयात्रामा हराएकाको खोजी र हिमाल आरोहणका टोलीलाई पर्ने समस्या समाधानका लागि विपद् व्यवस्थापन बेस भएपछि सहज हुने अपेक्षा गरिएको छ। गत असोज महिनायता बेनी–जोमसोम सडकबाट मोटरसाइकलसहित भिरमा खसेका एक जना पर्यटक र कालीगण्डकीमा खसेर स्थानीय अर्का युवाका ज्यान गएको छ। नारच्याङमा जलविद्युत् आयोजनाले बनाएको भवनमा सशस्त्रको बेस राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले भवनको व्यवस्थापन गरेको हो। सो भवनमा कोरोना महामारीको समयमा अस्थायी अस्पताल सञ्चालन भएको थियो। यसैबीच सशस्त्र प्रहरीले म्याग्दीमा समुदायस्तरमा खोज तथा उद्धारका लागि आधारभूत सीप हस्तान्तरण गर्न थालेको छ। छ स्थानीय तहबाट पाँचरपाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम दिन लागिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। यही फागुन १६ र १७ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिने उनले बताए।