पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन् । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका २ जना मध्य १ जनाको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एव्म प्रहरी निरीक्षक सुर्यबहादर रानामगरले जानकारी दिए । ‘आइतबार बेलुका पोखरा स्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचना आएको थियो’, प्रहरी निरीक्षक रानामगरले भने, ‘माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचनापछि खोजी कार्य गर्दा एकजना मृत फेला परेका छन् भने, अर्का एक जनाको खोजी कार्य जारी छ ।’ उनका अनुसार आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सक्से तामाङ बेपत्ता भएका थिए । सेती नदीमा बेपत्ता भएका मंगा तामाङलाई सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका गण र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ः१० बजेको समयमा मृत फेला पारेको छ । यस्तै सेती नदीमा बेपत्ता सक्से तामाङको खोजी कार्य बिहानबाट पुनः सुरु भएको प्रहरी निरीक्षक रानामगरले जानकारी दिए । नदीमा मृत भेटिएका मंगा तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल छन् ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विजय थापामगर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनले विजय थापामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा ससिता थापामगर, सचिवमा रुद्र गरङ्जा मगर, सह–सचिवमा विनिता थापामगर र कोषाध्यक्षमा अमर थापामगर चयन भएका छन् । यस्तै सदस्यहरु.साजन गर्जा मगर, विकास थापा मगर, सिर्जना राना मगर, ममता राना मगर, सफलता थापा मगर, उषा आले मगर, एलिना थापा मगर, सन्जय आले मगर, बिपना थापा मगर र सुनिता माकिम मगर चयन भएका छन् ।
सुनसरी: सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । चतराबाट सूर्यकुण्ड जाने भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए । बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाएको छ ।
गलकोट: पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस २०७७ मा सो उद्योग स्थापना भएको थियो। लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए।कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ। ‘जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे,’ उनले भने, ‘रु ५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पुर्याएको छु, अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु।’ कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरे। आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताउनुभयो । उहाँले अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई २० मा बजार पठाएको बताए। उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको उनको भनाइ छ। गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनको भनाइ छ। ‘पछिल्लो समय कोदो खेती कम हुँदै आएको छ, संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन्,’ उनले भने, ‘बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन, कोदो, गहुँ, घ्यू र तेलको समिश्रणमा उक्त बिस्कुट तयार हुन्छ, माग बढ्दै गएपछि उत्पादन बढाउने योजनामा छु,’ जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएको उनको भनाइ छ। आफूले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो। अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाइ छ। दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ। उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ। कोदोको बिस्कुटको प्याकेजिङमा कृषि ज्ञान केन्द्रले सघाउने उनको भनाइ छ।
भरतपुर: तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए। ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला। त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन’, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो। साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो। गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो। यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो। तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए। यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन्। छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए। कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए। २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु एक अर्ब २८ करोड छ। सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ। तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन्।
बलेवा: सुक्खा पहिरोका कारण शुक्रबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । ‘दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ’, उनले भने, ‘ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए । सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी–२० विश्वकप(२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बाचाअनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो ।
काठमाडौं: राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो । किरण र कन्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण राउन्ड ग्लास पन्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल) टोलीबाट व्यवसायिक फुटबल खेल्दै आएको छन् । किरण भारतबाट दुई दिन अघि स्वदेश फर्केका थिए ।