चितवन:     उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

काठमाडौं:     प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।  यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।  यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।

काठमाडौं:     सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।   उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो ।  अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।

धनकुटा:     खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए । “नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो । 

पोखरा:    कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

भक्तपुर:    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो । पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बुलुका सवा सात बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पाठकले जानकारी दिए ।

काठमाडौं:     आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।  पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।

काठमाडौं:     सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिएका छन् ।   सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ । सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति  मिसनमा रही  एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता भण्डारी बताउँछन् ।