काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडा र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गर्नुभयो । उहाँले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गर्नुभयो । साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।” कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन् गर्न आग्रह गर्नुभयो । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । उहाँहरुले कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै आज बिहान अन्तुबाट सूर्योदयको अवलोकन गर्नुभएको थियो । यस कार्यक्रमका सहआयोजकमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका पनि रहेका छन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि इलामको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य तथा स्थानीयताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यसवर्ष इलाममा यो कार्यक्रमको आयोजना गरिएको हो ।
मुस्ताङ: प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नं को बोलेरो जीपलाई शङ्का लागि जाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ । अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप , चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ । एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । जिल्लाको दामोदरकुुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ । व्यावासायिक रुपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । व्यक्तिगत रुपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ । जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ । जिल्लामा आउने वार्षिक पाँच लाख भक्तजनले एक÷एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ । यहाँको कागबेनी,मुक्तिनाथ, जोमसोम लगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । जिल्लामा पर्यटक आगमन बढेसंगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ ।
काठमाडौं: कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गर्नुभएको छ । कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो । दोहास्थित नेपालको राजदूतावासका अनुसार उहाँहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो । महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताउनुभएको थियो ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटक–पटक देखिएको छ । साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ ।” चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो । फूपुदिदीको घरमा जाँदै गरेको बेलामा चितुवाको आक्रमणमा परेकी विकको शव जङ्गलमा भेटिएको थियो । डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ । त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न कार्यालयको अनुरोध छ । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छाँै । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”
पर्सा: जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो । ‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’’, प्रजिअ अर्यालले भन्नुभयो, ‘‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’’ प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पार्नुभएको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।
काठमाडौं: आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।
ललितपुर: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ । पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । “मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको सभापति देउवाले बताउनुभयो । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मुल्य मान्यतालाई स्वीकार गरेर हार्दिककता प्रदर्शन गरिरेहको बताउनुभयो । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पु¥याएको योगदान बिर्सन सकिदैन भन्नुभयो । अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति,समुदायबीचको एकताबाटै देशको विकास गर्न सकिने बताउनुभयो । त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको पहिचान भएको बताउनुभयो ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताउनुभयो । उहाँले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोडदिँदै सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताउनुभयो । अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत सङ्गठित सङ्घसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिनुभयो ।
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।