सर्लाही: सर्लाही हरिपुर्वामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छभने एक जना घाइते भएकी छन् । आज बाँके-सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका(९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री ईश्वरपुर नगरपालिका-१३ श्रीनगरका १७ वर्षीया अञ्जली महतोको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार सोही साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् । घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्नाउ राईले बताउनुभयो । प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका(१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष प्रस्तुत गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थमन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । प्रतिवेदन पेस गर्नुहुँदै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत देशको समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताउनुभयो । “समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखिन्छ । निजी क्षेत्रका सङ्घ– संस्थाहरू, सबै भौगोलिक क्षेत्रका व्यवसायीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि र विज्ञहरूसँगको छलफलमा पनि उपभोगको वृद्धि दर घट्नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान चरित्र हो भन्ने विषय मुख्य रूपमा उठाइएको थियो”, अध्यक्ष खनालले भन्नुभयो, “कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नू र व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ ।” समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न आयोगले सुझाएको उहाँले बताउनुभयो । तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप आवश्यक भएको, लक्ष्यित आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट पनि संरचनात्मक सुधार गरेर लगानीयोग्य वातावरण बनाउन र उत्पादनको लागत घटाएर प्रतिस्पर्धी बनाउन आवश्यक भएको उहाँले बताउनुभयो । प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि प्रस्तुत प्रतिवेदन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । “हामी आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा छौँं । प्रतिवेदनले अर्थतन्त्रका समस्या पहिल्याउन र त्यसलाई समाधान गर्ने सुझाव दिएको छ । गम्भीरपूर्वक अध्ययन गर्ने र प्राप्त सुझावलाई चरणबद्ध कार्यान्वयनमा लैजान्छौँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारीस्तरमा गर्नुपर्ने कामबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न सरकारले गत असोजमा पूर्वअर्थसचिव खनालको अध्यक्षमा आयोग गठन गरेको थियो । आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रामप्रसाद ज्ञवाली, अर्थविद् विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनाल हुनुहुन्थ्यो ।
दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब, भत्ता भुक्तान गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली ९इएफटी०मार्फत मासिकरूपमा प्रदान गर्न थालेको हो । सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले गत मङ्सिर १७ गते स्थानीय तहलाई पठाएको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षकको खातामा मासिक तलब भुक्तानी गर्न थालिएको गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताउनुभयो । यसअघि त्रैमासिक रुपमा तलब, भत्ता भुक्तानी हुँदै आएको थियो । पालिकाले अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि पाउने तलबभत्ता मासिकरूपमा भुक्तानी गराउने छ । मालिकार्जुन गाउँपालिकामा ३८ वटा सामुदायिक विद्यालयका ३३२ शिक्षक र कर्मचारी छन् ।
काठमाडौं: प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।
पोखरा: गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे । आन्दोलनको पाँचौ दिन चिकित्सकहरुले समान ज्याला र सुरक्षित कार्यस्थलको माग गर्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन् । गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय गरिएको हो । त्यसअघि देशैभरका आवासीय चिकित्सकहरु आन्दोलनमा थिए । समान ज्यालाको मागसहित हप्ता दिन आन्दोलित भएको परिणाम आयोगको बैठकले उक्त निर्णयपछि विभिन्न क्षेत्रबाट काठमाण्डौं पुगेका चिकित्सकहरु सेवामा फर्किएका थिए । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय नमानेपछि २ महिना नबित्दै पुनः आन्दोलनमा उत्रनुपरेको डा। रवि लामिछानेले बताए । ‘केन्द्रिय संघर्ष समितिकै निर्देशनअनुसार आन्दोलनमा उत्रिएका हौं’ डा. लामिछाने भन्छन् ‘जीएमसीले सरकारकै निर्णय नमानेपछि आन्दोलनलाई निरन्तरता दिएका हौं ।’ जीएमसीसँगै पोखराकै मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सकसमेत समान मागसहित आन्दोलनमै छन् । ‘मणिपाल र गण्डकी मेडिकल कलेज (जीएमसी)का साथीहरु पुनः आन्दोलित भएका छौं’ मणिपालका डा। वामदेव पराजुलीले भने ‘अब काडमाण्डौं केन्द्रित आन्दोलनको तयारीमा रहेका छौं ।’ ‘कुनै मेडिकल कलेजमा २२ त कतै १९ हजार रुपैयाँ दिने गरेको बताउँदै पराजुलीले मणिपालमा भने १७ हजार रुपैयाँ मासिक दिइने गरेको जनाएका छन् ।
खोटाङ: ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा हुने महोत्सवको उद्देश्य लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन भएकोे नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, वेशभूषा, रहनसहन तथा स्थानीय उत्पादन पनि समावेश गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर तथा भिडियो स्टलका रुपमा प्रदर्शनी गरिने जनाइएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट सुरु हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत अभिनेता दयाहाङ राईले गर्नुहुने छ । गत पुसमा शुभारम्भ भएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ । यसैबीच, मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सवको पनि तयारी गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव आयोजना जनाएको छ । भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्राम्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने बताएका छन् । दुई जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटक पनि आउन थालेका छन् । खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटर अग्लो टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘भर्जिन’ गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनुभयो ।
म्याग्दी: कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पछिल्लो पाँच वर्षमा चारवटा आयोजनाले १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् । निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो, ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाट र छ मेगावाट क्षमताको रेलेखोला आयोजना अन्तिम चरणमा छन् । अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कुल रु ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले वित्तीय स्रोत व्यवस्थापन गरेर निर्माणको तयारी गरेको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् भने ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गरिरहेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने कालीगण्डकी नदीमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ । एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छ । सबस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।
मनाङ: टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु भएको छ । मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो । मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनाको (ब्यूरो सात) कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्गको टाउको ठोक्किएर चोट लागेको र घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएका योङ्गको उपचारका क्रममा मृत्यु भएको हो । उहाँले भन्नुभयो, “योङ्गको प्रदेश अस्पताल चामेमा उपचारका क्रममा ७ः३५ बजे मृत्यु भएको छ । योङ्गको शव अस्पतालमा नै रहेको छ ।” टिपरचालक दार्चुला शैलेशिखर नगरपालिका–१ बारिलका ४३ वर्षीय दशरथ खडायत प्रहरीको नियन्त्रणमा रहेका छन् । टिपरको कागजात प्राप्त नभएको र साङ्केतिक नम्बर मात्र रहेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सङ्घीय संसद्, प्रतिनिधिसभाले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ । सङ्घीय संसद् सचिवालयले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम आज सूचना प्रकाशन गरी उक्त पद रिक्त रहेको जानकारी गराएको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते मङ्गलबार निधन भएको थियो ।