काठमाडौं: हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले राससलाई बताउनुभयो । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उहाँले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ । महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सिरहा: इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन सुरु गरेका हुन् । संयुक्त अनुगमन टोलीले लहान–१ को कान्छा होटलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै उक्त होटललाई रु पाँच हजार जरिवाना गरिएको छ । यसैगरी, लहान–४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासुसँगसँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि उक्त होटललाई पनि रु पाँच हजार जरिवाना तोकिएको छ । यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु १० हजार जरिवाना गरिएको छ । उक्त होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेयपदार्थ फेला परेपछि रु १० हजार जरिवाना तोकिएको छ । उक्त पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्रीवितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ । अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रुपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो । उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।
नवलपुर: नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका गेषबहादुर रानाले बताउनुभयो । बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले, बेसारडाँडाका करिब दुई सय परिवार विद्युत्बाट लाभान्वित हुनेछन् । विद्युत् नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो । बिजुली पुगेसँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । अहिले विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरमा मिटर जडानको काम भइरहेको छ । उज्यालो बौदीकाली कार्यक्रमअन्तर्गत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । पालिकाले उज्यालो बौदीकाली कार्यक्रममार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । “अहिलेको समयमा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यही भएर विद्युतीकरणका लागि बजेट विनियोजन ग¥यौँ । अहिले ववकमा बिजुली बाल्न सफल भएका छौँ”, गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो । गाउँपालिका भित्रका चार वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यसअघि विद्युतीकरण गरिएको अध्यक्ष ओझाले बताउनुभयो । अहिले वडा नम्बर –५, ववकमा विद्युतीकरण भएको र वडा नम्बर–६, नरममा समेत छिट्टै विद्युत् पु¥याइने उहाँले बताउनुभयो । बुलिङटारको बोझा पोखरीमा विद्युत् शवस्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहज भएको हो ।
काठमाडौं: जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिनुभयो । प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताउनुभयो । नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गर्नुभयो । आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताउनुभयो । उहाँले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गर्नुभयो । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताउनुभयो । ‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल रु २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।
झापा: झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आउनुभएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
महोत्तरी: महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हे¥यो डढेका ठुटा र खरानी मात्र देखिन्छ । दिनहुँको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन् । डढेलोले वयस्क र पुराना रुख पनि मरेका छन् । वनक्षेत्रका सुकेका रुख समयमा कटान व्यवस्थापन हुन नसक्दा ती पनि डढेर ठुटा बनेका छन् । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोले रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने तथा वयस्क रुख आगो लागेर सुक्दै गएपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो । “अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ”, विपी राजमार्गसँगैको बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्नुहुन्छ, “वनक्षेत्रमा दिनदिनै बढेको डढेलोले रुखबिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।” चुरे पहाडी क्षेत्र सबै बर्दिबास नगरपालिका क्षेत्रमा मात्र पर्छ । सागरनाथ वन विकास परियोजनाका प्लट भने बर्दिबासभन्दा गौशाला नगरक्षेत्रमा बढी छ । पूर्वपश्चिम राजमार्ग उत्तर सामुदायिक ९राष्ट्रिय० वन र दक्षिणमा धेरैजसो परियोजनाका प्लट छन् । अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्रफल उल्लेख रहे पनि विभिन्न समयमा भएका फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा खुम्चीएको छ । बाँकी रहेको वन पनि बर्सेनिको डढेलो र चोरी कटानले अब काटिएका र डढेलोले डढाएका रुखका ठुटा बढी देखिन्छन् । डढेलोले दुई÷तीन वर्षयताका बिरुवा डढेपछि पुराना रुख धोद्रिउर बुढिदै जाने र नयाँ बढ्न नपाएपछि वन पातलिँदै गएको वनक्षेत्र नजिकको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउनुहुन्छ । चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि करिब यतिकै सङ्ख्याका बस्ती छन् । “वनकै छेउको बसाइँ छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन”, वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्नुहुन्छ, “बर्सेनि फागुन लागेपछि डढेलोको चिन्ताले कहिल्यै छाडेन ।” वनका पतिङ्गर खङ्रेर एकैछिनमा डढेलो बढ्ने गरेको लामा बताउनुहुन्छ । हिउँदे वर्षाले रुखबिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झदै वनक्षेत्र नजिकका बासिन्दा यसपालि भने डढेलोले विकराल रुप लिएको बताउँछन् । पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर लम्बाइको छ । यसभित्र चारवटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँ जति वन सुरक्षा पोष्ट रहे पनि यो जनशक्ति डढेलो नियन्त्रणमा भने उदासिन देखिएको सर्वसाधारणको गुनासो छ । सागरनाथ वन विकास परियोजना प्लटसँगै जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्नुहुन्छ, “वनक्षेत्रमा लाग्ने डढेलो कममात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासले आगो झोसेरै लगाउने गरेका छन् ।” बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै नदेखिएको र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई सम्झना नभएको शर्माको भनाइ छ । फागुनदेखि नै डढेलो देखिन थाल्छ । ठूलठूला रुखको घर्षणले यदाकदा वनमा आगो सल्के पनि खासमा चाँही घाँसे, दाउरे र गोठालाहरुले डढेलो लगाउने गरेका वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउनुहुन्छ । फागुन-चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका सहायक वन अधिकृतको सेवाबाट अवकाश लिनुभएका यादवको अनुभव छ । जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । अतिक्रमण गरेर घर ठड्याउने र खानजोत गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षाको कुरा निकै चुनौतीपूर्ण बनेको नाम नबताउने वनसम्बद्ध कर्मचारी बताउँछन् । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक हुने डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दास बताउनुहुन्छ । “हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन”, उहाँ भन्नुहुन्छ, “वन क्षेत्रसम्बद्ध स्थानीयतहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र स्थानीय बासिन्दाको पहलकदमी हुनसके डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ ।” यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताउनुभयो ।
अर्घाखाँची: प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो । “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।” उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता ९एआई० विकासमा समेत प्रयोग भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैक्रममा सम्मेलन उद्घाटन गर्न आएको स्पष्ट गर्नुभयो । दुईदिने सो सम्मेलनमा लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन भएको हो । अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्रबाट उत्तरतर्फ हिमशृङ्खला, दक्षिणतर्फ तराईका फाँटसहित भारतीय भूमि गोरखपुरसम्म देख्न पाइन्छ । गुराँसका रुखहरु तथा विभिन्न जडीबुटी पाइने यस क्षेत्र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि अर्घाखाँचीको पाणिनि क्षेत्र पुग्न सकिन्छ भने अहिले पक्की सडकबाटेको सुविधा समेत रहेको छ ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला परेका छन् । वडाध्यक्ष भण्डारी आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता भद्रबहादुर घर्तीले जानकारी दिए । ‘वडाध्यक्ष भण्डारी आज बिहान आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ’, वडाध्यक्ष घर्तीले भने, ‘अहिले घटनास्थलमा प्रहरी आइपुगेका छन्, थप विवरण पछि नै आउँला ।’ गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
बलेवा: बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा यस पटकको चैतेदसैँ (नवरात्रि)को अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैतेदसैँको दिन (अष्टमी)मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । उक्त दिन रु ११ लाख ८१ हजार ५९० सङ्कलन भएको छ । खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष रु एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैतेदसैँको अवसरमा मन्दिरमा रु ४० लाख ७२ हजार ५५८ भेटी सङ्कलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । चैतेदसैँ अवधिभर छ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उहाँले गत वर्षको चैतेदसैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीका दिनमा मात्र रु तीन लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो । यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताउनुभयो । “मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “प्रसाद वितरणमा रु पाँच लाख खर्च भएको छ ।” चैतेदसैँमा भक्तजनलाई सहजरुपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । “मन्दिरमा अघिपछि एक ढोकाबाट पूजाअर्चना गर्ने व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “चैतेदसैँमा भक्तजनको भीड हुने हुँदा तीनवटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।” अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भए पनि चैत्राष्टमीमा भक्तजनको सहजताका लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो । कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवनलगायत देशभरबाट भक्तजन आएका थिए । पछिल्लो समय चैतेदसैँका बेला १०–१५ प्रतिशत भारतीय भक्तजन पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।