नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गर्नुभएको छ । राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्नुभएको हो । राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गर्नुभएको छ । दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आउनुभएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आउनुभएको जानकारी दिनुभयो । “उहाँ वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो ।
खानेपानीको समस्या बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधि मण्डलसँगको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरे । भेटवार्ताका क्रममाबाेल्दै ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताए । 'धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने। खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उहाँले जानकारी दिनुभयो । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
काठमाडौं: वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) ले नेपाल सरकारसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको प्रि–सगरमाथा संवाद कार्यक्रममा उहाँले सगरमाथा संवाद कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसलाई समेत लक्षित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका कारणले गर्दा अत्यधिक जोखिमपूर्ण मुलुक हो, त्यसलाई लक्षित गरेर रोकथामका लागि सरकारले काम गरिरहेको छ ।” नेपाल सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा पेमा ग्याम्त्सोले हिमाल यस क्षेत्रका जनताका लागि मात्र नभई विश्वका लागि प्राकृतिक सम्पदा र जीवनको आधार भएकाले अब प्रकृतिलाई फिर्ता दिने समय भएको बताउनुभयो । उहाँले सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौँ भन्ने विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै भन्नुभयो, “सगरमाथा संवादमा हिमालय क्षेत्रको जलवायुका विषयका बारेमा जोड दिनुपर्छ ।” पूर्वअर्थ सचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालका लागि महत्वपूर्ण अन्तरराष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै सङ्घमा छ प्रतिशत बजेट नै जलवायु परिवर्तनका लागि छुट्याइएको जानकारी दिनुभयो । “सोह्रौँ योजनाको अन्त्यसम्म जलवायु परिवर्तनको क्षेत्रमा सङ्घको बजेटमा २० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । जलवायुविद् डा पपुलर जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालका तर्फबाट संवाद गर्दा स्थायी टोली बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रका सबै विज्ञहरुले जलवायु परिवर्तनले मुलुकमा पारेको असरबारे आफ्ना तर्फबाट बोल्नुपर्ने उल्लेख गर्दै यो युवाको ‘एजेन्डा’समेत भएको बताउनुभयो । आइआरजिडिडीका अध्यक्ष तथा पूर्वराजदूत शर्मिला पराजुली ढकालले हिमाल र मानवजातिबीच महत्वपूर्ण सम्बन्धको प्रि–सगरमाथा संवाद आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको जलवायु क्षेत्रको केन्द्रमा हिमालय सङ्कट बारेमा बहस हुनुपर्छ ।” साथै उहाँले सगरमाथा संवादको प्रि–शृङ्खलाको आगामी दिनमा विभिन्न छलफल र बहस चलाउने योजना रहेको बारेमा जानकारी दिनुभयो । संवादका दौरानमा भएको छलफलबाट आएका सुझावलाई सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गरिने उहाँको भनाइ थियो । सगरमाथाको आरोहण गरिसक्नुभएका आरोही दावा टाँसी शेर्पाले बढी जनसङ्ख्याको कारण नभई हिमालय क्षेत्रमा आनन्ददायी जीवनयापन खोज्दा हिउँ पग्लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिमाल जोगाउनका लागि सबैको पहल आवश्यक छ, स्थानीय समुदायका व्यक्तिहरुको पहलले मात्र हिमाल जोगाउन सकिँदैन ।” उद्योग वाणिज्य महासङ्घ नेपालका पूर्वअध्यक्ष चण्डीराज ढकालले आइआरजिडिडीले गरेको प्रि–सगरमाथा संवादले नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादलाई सघाउन मद्दत पुग्ने बताउनुभयो । ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा विराजसिंह थापाले नेपालको वार्षिक अर्बौं रकम जीवाष्म इन्धनमा खर्च भइरहेको उल्लेख गर्दै आवश्यक नीतिको व्यवस्थापन गरी हाइड्रोजन र नवीकरणीय इन्धनको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
झापा: कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो । पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।
डोटी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो । गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहनुभएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिनुभयो । ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”,
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ । फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताउनुभयो । “पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्”, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।” यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उहाँको भनाइ थियो । “जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ”, उहाँले थप्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताउनुभयो । उहाँले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गर्नुभयो । “हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।” उहाँले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिनुभयो । भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उहाँले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “अन्तरराष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ”, उहाँले भन्नुभयो । हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो ।
काठमाडौं: सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभएको हो । प्रहरी महानिरीक्षक थापाले शेर्पालाई आरोहणको सफलताको शुभकामना व्यक्त गर्र्दै आरोहणमा सहयोग र सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, सङ्घसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसासम्बन्धी अभियान र आरोहण कार्यक्रमबारे संक्षिप्त जानकारी दिनुभएको थियो । त्यसअवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी नायब महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।