पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।      नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्नुभयो ।  उहाँले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गर्नुभयो । “सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”      प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गर्नुभयो । कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।

तनहुँः   गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।  पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताउनुभयो ।  पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ । सिग्देलले भन्नुभयो, “तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ ।”   पुल निर्माणकोकाम युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा रु २७ करोड लगानी भएको छ ।  कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ ।  डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ । चिन्नखोलामा ९२ मिटर लामो झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटिएको हो । यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो ।” रु ४५ लाख ६८ हजार १९२ को लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।  उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ लागत साझेदारी गरेको जानकारी दिनुभयो । त्यस्तै स्थानीयवासीले रु ८९ हजार २४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार ७७३ विनियोजन भएको थियो ।  पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताउनुभयो । पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन् ।  

बाँके:   गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।  राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामछिानेले जानकारी दिनुभयो । उहाँले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताउनुभयो । “सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ”, उहाँले भन्नुभयो । खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताउनुभयो ।   उहाँले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिनुभयो । नेपालगन्ज–२२ नहरपुरवामा समते हावाबतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।  त्यसैगरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालयका वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।  विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।   दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।

गोरखा:  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उहाँले बताउनुभयो ।  “गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ”, उहाँले भन्नुभयो । साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् ।  स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताउनुभयो । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।

तनहुँ: शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।  शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।  शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिनुभयो ।  नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

काठमाडौं:  चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गर्नुभयो । प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी हुनुहुन्छ । चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो । 

डोटी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् ।  यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।  

मुस्ताङ: यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ ।  म्याग्दीका साबिक छवटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।      मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो ।  म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।      मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ ।  संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो ।       जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ ।  त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।      अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ ।  साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।