पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

रुपन्देही: विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।      नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।      गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास समिति संयोजक, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, राजस्व शाखा संयोजक, नेपाल प्रहरीका स्थानीय प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेको अनुगमन समिति रहने भनी उल्लेख छ ।      यसैगरी, दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समिति वडाध्यक्ष संयोजक रहने गरी वडाध्यक्षले तोकेको वडा सदस्यमध्येबाट एक वडा सदस्य, टोल विकास सञ्जालका अध्यक्ष, वडा बाल सञ्जाल प्रतिनिधि, क्लब, सङ्घसंस्था, आमा समूहमध्येबाट तीन, स्वास्थ्य संस्थाबाट दुईजना, नेपाल प्रहरीका स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको छ ।      सो कार्यविधिको दफा ४ को उपदफा १ मा जरिवानासमेत तोकिएको छ । पहिलो पटक गुट्खाजन्य पदार्थको बिक्रीवितरण गरेको भेटिएमा थोक बिक्रेताका लागि रु १० हजार र अन्य व्यवसायीका लागि रु एक हजार ५०० जरिवाना तोकिएको छ ।  त्यस्तै दोस्रो पटक थोक बिक्रेताका लागि रु २० हजार र अन्य व्यवसायीका लागि रु दुई हजार रकम जरिवाना तोकिएको छभने तेस्रो पटक पनि भेटिएमा थोक बिक्रेताका लागि रु ५० हजार र अन्य व्यवसायीका लागि रु पाँच हजार रकम जरिवाना तोकिएको सो कार्यविधिमा उल्लेख छ ।      पछिल्लो समय नगरपालिकामा गुट्खाजन्य पदार्थको बिक्रीवितरण खुल्ला रुपमा हुँदै आएको स्थानीय बताउँछन् । सो बिक्रीवितरण गर्नेलाई जरिवाना पनि कार्यविधिमा मात्र सीमित भएको उनीहरूको गुनासो छ ।  जरिवानाभन्दा पनि सचेत गराउने कार्यले व्यवसायीमा अटेरिपन रहेको छ । शरीरलाई दीर्घकालीन रुपमा असर गर्ने यस्ता चीज विशेषगरी किराना पसलमा लुकाएर राखेको अवस्थामा प्रशस्तै भेटिन्छन् ।      तिलोत्तमा–१ शिवचोक टोल विकास संस्थाका अध्यक्ष तुलसी न्यौपानेले अन्य पालिकामा सजिलै पाइने भएकाले गुट्खा खाने, जथाभावी फाल्ने र जथाभावी थुक्ने क्रममा कमी आउन नसकेको उहाँले बताउनुभयो ।  टोल विकास अध्यक्ष न्यौपानेले सफा र स्वच्छ तिलोत्तमा गुट्खाको प्रयोग तथा जथाभावी थुक्दा त्यसको औचित्यमाथि प्रश्न उठेको र यसले सबैलाई लज्जित बनाएको बताउनुभयो ।      कार्यविधिको दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समितिमा वडाध्यक्ष संयोजक रहनेगरी व्यवस्था गरेको छ । वडा नं १ का वार्ड सञ्जाल अध्यक्ष डिल्लीराम कँडेलले भव्य कार्यक्रमबीच घोषणा गरे पनि अनुगमनमा एक पटक पनि सहभागी नगराएको गुनासो गर्नुभयो ।      नगरले घोषणा गरे पनि बिक्रीवितरण र सेवनमा कमी नआएको वडा नं १ का वडाध्यक्ष फर्सुराम गिरीको भनाइ छ । घोषणाताका अनुगमन अलि भए पनि पछिल्ला दिनमा भने अनुगमन एकदमै पातलो रुपमा भएको वडाध्यक्ष गिरी स्वीकार्नु हुन्छ । गिरीले पछिल्लो समय वडा नं १ को ड्राइभर टोल बजार क्षेत्र र हाटबजार क्षेत्रमा अनुगमन गर्दा सो पदार्थ नगण्य रुपमा बिक्रीवितरण गरेको भेटिएको बताउनुभयो ।      यसैगरी, वडा नं १७ का वडाध्यक्ष दानबहादुर चौधरीले विभिन्न क्षेत्रका व्यक्तिको व्यस्ततालाई बुझ्दै अनुगमन पातलो गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अनुगमन गर्ने टोलीमा बाल सञ्जालका विद्यार्थी पनि राख्नुपर्ने हुनाले भनेजस्तो छिटो अनुगमन गर्न सकिएको छैन् ।” सो क्रममा व्यवसायीलाई कारबाही नगरी सचेत मात्र गराएर छाडिएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।      विसं २०८० वैशाख २ गतेदेखि हालसम्म गुट्खाजन्य पदार्थको बिक्रीवितरण नियन्त्रणमा हालसम्म नगरका १३ भन्दा बढी पसललाई सचेत गराई जफत गरिएको नगर प्रहरीका इन्चार्ज नरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले हालसम्म ४१ पसललाई जरिवानासहित जफत गरिएको बताउनुभयो । हालसम्म गुट्खाजन्य पदार्थ जरिवानाबाट रु ८६ हजार ५०० राजस्व सङ्कलन भएको र त्यसैगरी, गुट्खाजन्य पदार्थ २०१ पोका तथा एक हजार ३५६ जफत गरिएको प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो ।      पछिल्लो समय नगरपालिकामा नगर प्रहरी थपिएसँगै गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा नियन्त्रण गर्न निरन्तर खटिने र अझ प्रभावकारी रुपमा अनुगमन गरिने नगर प्रहरी इन्चार्ज श्रेष्ठको भनाइ छ । नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि नगरभित्र बेचबिखनमा कमी आउन नसकेको नगरप्रमुख रामकृष्ण खाँण स्वीकार्नुहुन्छ ।       नगर प्रमुख खाँण भन्नुहुन्छ, “यसलाई पूर्ण रूपमा रोक्नका लागि टोल विकास समितिकै व्यक्तिलाई र विद्यार्थीलाई रसिद काट्न लगाउँछौँ, यसो गर्दा यो अवस्थामा धेरै सुधार आउने छ ।” पछिल्लो समय नगरपालिकामा १५ जना नगर प्रहरी थप गरिएसँगै २१ जना नगर प्रहरी भएको र अब भने अनुगमनमा कडाइ गर्ने नगरपालिकाले जनाएको छ ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ ।  दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिनुभएका लामिछाने आज जिल्ला कारागार चलान हुनुभएको हो ।       आज बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उहाँलाई थुनुवा पुर्जी दिइएको थियो ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो ।  जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।      जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताउनुभयो ।       लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उहाँलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।      आज बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।       त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।      जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।      समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।

काठमाडौं: नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ ।  गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो ।       नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएको उहाँको सचिवालयले जनाएको छ ।      गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ । 

मकवानपुर: करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।       उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।      उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिनुभयो ।       विसं २०३३  मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो ।  हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ । 

मुस्ताङ:  राष्ट्रिय गौरवको बेनी–जोमसोम कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।  पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन ।  हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।       राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए  । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।  सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिनुभयो ।  “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ ”, उहाँले भन्नुभयो,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।” हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गर्नुभयो ।  “पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गथ्र्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपथ्र्यो”, उहाँले  भन्नुभयो,“ अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।”       पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ ।  “पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, भन्नुभयो,“अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन्  ।” पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती पोखरा जोमसोम हवाई मार्गमा आधादर्जन जती हवाई दुर्घटना भइसकेको छ ।  बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्यान प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ । यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गर्नुभयो ।  ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उहाँले जनाउँनुभयो ।  यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई  आर्थिक लाभ हुने उहाँले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।       मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडकमार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा —जोमसोम हवाई उडान दैनिक ५÷६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाइ छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ ।  निर्माणधीन राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकूल मौसममा ९पोखरा–जोमसोम० हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो ।   साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथ्ये । नेपाली आन्तरिक पर्यटकलाई पोखरा–जोमसोम हवाई टिकट पाउन निकै कठिन पथ्र्यो ।       हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयवासीलेसमेत हवाईयात्रा गर्न निकै सास्ती खप्नुपर्दथ्योे । स्वदेशी हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर ÷तेब्बर मूल्यपर्ने भएकाले सम्बन्धित निजी एअरलाईन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये ।       कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्यचौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथ्ये । पोखरा–जोमसोम हवाईयात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सङ्घर्ष गर्नुपथ्र्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ ।

म्याग्दी:  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।  मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो ।  आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिनुभयो ।  बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो ।   बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन÷तीन मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण काम भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले बताउनुभयो ।  निर्माण कम्पनीले यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा रु ७० लाखको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ ।  रु ७० लाख बजेट विनियोजन भएको बेनी–४ सिङ्गा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ ।       जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि रु छ करोड १८ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ ।  तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तरगत म्याग्दी नदी किनारमा एक सय दुई मिटर कम्पोजिट पर्खाल निर्माणका लागि रु तीन करोड ८१ लाख लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा छ ।  कुश्मा नगरपालिका– ४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा रु पाँच करोड लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ । यो योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । उक्त योजनामार्फत दुवै स्थानमा ४८/४८ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ । बेनीको कालीपुल पारी जलजला गाउँपालिका– ३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि रु दुई करोड ८० लाख लागत अनुमान गरिएको योजना सञ्चालनको तयारी गरिएको आयोजनाले जनाएको छ ।  आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ । 

नवलपरासी:  खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा ,चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो ।  “गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो  अब” हेमबहादुरले भन्नुभयो ।  विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले  आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताउनुभयो । निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उहाँले बताउनुभयो । खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उहाँले बताउनुभयो ।  खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताउनुभयो । खानेपानी संस्थाका सचिवसमेत रहनुभएका उहाँ अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ  पोखरी ताल, चिसापानी ,सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ ।  अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।  खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुङ्गोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताउनुभयो ।  “अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर  हिँड्नेनै टुङ्गोमा थियौँ,  एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन ,नुहाउन नपाउने” उहाँले भन्नुभयो “अहिले धेरै सुविधा भएको छ । अहिले त स्वर्गै जस्तो भएको छ” पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा  एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताउनुभयो । पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै  खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उहाँले बताउनुभयो ।  पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताउनुभयो । बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उहाँले बताउनुभयो ।  झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत करिब रु एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो ।  कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उहाँले बताउनुभयो । झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पु¥याएका नगर प्रवक्ता एवं वडा नं –१०का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताउनुभयो ।  मुहान भएको स्थानसम्म विद्युत् पु¥याउने र ट्रान्समिटर जडान गर्ने लगायतका कार्यका लागि रु २० लाख बजेट विनियोजन गरी काम गरिएको उहाँले बताउनुभयो ।

सुर्खेत: कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ ।  विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना घटेको हो ।      कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो ।  निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ ।        जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ । जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिडेटको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।       स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुनेगर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन ।       जनक शिक्षाले पुस्तक विक्रेतालाई जिल्लाअनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् । 

गण्डकी:   जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु(याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो ।  त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ ।  गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे ।  आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।  उहाँका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।  कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताउनुभयो । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताउनुभयो ।  “पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”  सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।  देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो । साउन र पुस महिनामा भने बलि नचढ्ने उहाँको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उहाँले भन्नुभयो, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।” मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई...’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताउनुभयो । उहाँका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो ।   “त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।”  पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे ।  गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताउनुभयो ।  मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् ।