पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

मुस्ताङ:  उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ । मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक र पर्यटकलाई बर्खायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ ।  मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ । उपल्लो मुस्ताङबाट ध्ये र त्याङ्ग्या हुँदै मनाङ जाने छोटो दूरीको पर्यटकीय पदमार्ग पर्ने भएकाले त्यहाँ पुलको आवश्यकता महसुस गरिएको थियो । उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल आवश्यकता धेरै अघिदेखि गरिए पनि हालसम्म त्यहाँ पुल बन्न सकेको छैन ।  गाउँपालिका केन्द्र चराङ र कोरला सडकसँग ध्येगाउँ र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी ‘ध्ये’ खोलामा पुल नहुँदा समस्या भएको लोघेकर दामोदरकुण्ड–५ का वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो । ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ । “बर्खायाममा त कालीगण्डकी ध्येखोलाको बाहव उच्च हुन्छ, खोला तरेर वारिपारि गर्न सकिँदैन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “बर्खायामको तीन–चार महिना त हाम्रो गाउँमा पूरै नाकाबन्दी लगाएजस्तै हुन्छ, पुल नहुँदा यताउता जान पनि मिल्दैन ।” भौगालिक रुपले विकट ध्ये र ताङ्ग्या गाउँमा उत्पादन हुने कृषि उपज र पशुपालनको बजारीकरण गर्नमा समेत पुल नहुँदा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । “बर्खायाममा खोला ठूलो भएर तर्न सकिँदैन”, उहाँले भन्नुभयो, “हिउँदयाममा खोला घटेपछि भने तरेर आवतजावत गर्ने गरेका छाँै ।” मुख्य राजमार्ग सडकअन्तर्गत पालिकाको केन्द्र चराङबाट एक घण्टा ओरालो झरेर ध्येखोला तरेर केही मिनेट उकालो लागेपछि ध्ये र ताङ्ग्या गाउँमा पुग्न सकिन्छ । यद्यपि यी दुई गाउँमा कच्ची सडकको पहुँच जोडिए पनि ध्येखोलामा पुल नहुँदा समस्या परेको हो ।  त्यस क्षेत्रका नागरिकले बर्खायाममा खाद्यान्न तथा दैनिक उपभोग्य सामान हिउँदयाममा खोलाको सतह घटेपछि मात्रै ढुवानी गरेर मौज्दात राख्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । सङ्घीयतापछि लोघेकर दामोदरकुण्ड–१ र ५ जोड्ने गरी यहाँ पुल बनाउन गाउँपालिकाले पहलकदमी गर्दै आएको थियो । झन्डै ५०० मिटर दूरीमा फैलिएको ध्येखोलामा पुल निर्माणका लागि वैज्ञानिक अध्ययन र सर्भेसमेत भएको थियो ।  दुईवटा सरकारी निकायले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरे पनि सरकारले त्यहाँ पुलका लागि बजेट विनियोजन नगर्दा समस्या भएको हो । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक सरकारले पुल बनाइदेला भन्ने आशमा छन् ।  ध्ये र ताङ्ग्य गाउँ जोड्ने पुल निर्माणका लागि यसअघि पूर्वाधार विकास निर्देशानालयले डिपिआर तयार गरेको थियो । ध्येखोलामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली)ले पनि सर्भे गरेको थियो ।  लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले ध्येखोलामा पुल निर्माण गर्न पटकपटक प्रयास गरिए पनि बन्न नसकेको बताउनुभयो । आवश्यक बजेट अभावले पुल बन्न नसकेको उहाँको भनाइ छ ।

गण्डकी: कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।      “रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ”, स्थानीय विश्क गुरुङले भन्नुभयो । तलको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उहाँको भनाइ छ ।      रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचिएको गुरुङले जानकारी दिनुभयो ।  उहाँका अनुसार दुईवटा डोजरको सहायताले पनि जमिनमुनी लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको थियो ।       उक्त ठुटोबाट पानीका धारा झरिरहेको दृश्यले सबैलाई अचम्म पारेको गुरुङको भनाइ छ । सो स्थानमा अन्य रूखका ठुटोसमेत रहेकाले भुकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का कारण यहाँका वन, जङ्गल पुरिएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो ।       “उभिएको रूखको ठुटोको माथिल्लो भागको उत्तर र दक्षिणतर्फबाट पानीका धारा छुटेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि धार्मिक विश्वासका कारण दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ”, धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अहिले नेपालका अधिकांश जिल्लाका मानिसका साथै विदेशी पर्यटकसमेत अनौठो दृश्यावलोकन र धाराको पानीले स्नान गर्न आउने गरेका छन् ।”      सो स्थानमा यही चैत १९ गतेका दिन रुद्री पूजासहित विभिन्न क्षेत्रका धामी झाँक्री राखिएको बताउँदै माता काम्दा उहाँहरूले शिव भगवान्, नागदेवता र जलदेवीको बासस्थान बताउने गरेको उहाँले जानकारी दिनुभयो । दर्शक गर्न आउनेको घुइँचो बढ्न थालेपछि ठुटोको माथिल्लो धारामा पानी केही कम हुँदै गएको उहाँका भनाइ छ ।      यहाँ विभिन्न क्षेत्रका १५ जना भूगर्भविद् र संस्कृतिविज्ञ आएर स्थलगत अध्ययन गर्दा ठुटोबाट पानी आउनुको कारण रूखको प्रजाति र कति वर्ष पुरानो भन्ने तथ्यमा स्पष्ट हुने बताउनुभएको गुरुङले उल्लेख गर्नुभयो ।       स्थानीय ७६ वर्षीया सुनमाया परियारका अनुसार यस स्थानमा पहिला पानीको मूल थियो । “आसपासका बासिन्दा तथा गाईवस्तु चराउन आउँदा यहाँ पानी खाने गर्दथे । खेतको गरामा तलबाट भूलभूल गरेर पानी निस्कने गरेकाले कुवालाई गाउँरी मूल भन्ने गरिन्थ्यो”, उहाँले थप्नुभयो, “बाह्रै महिना पानी आउने सो कुवाको वरपर प्रशस्त नाग देखिने गर्दथ्ये । ती नागले कसैलाई पनि टोकेको जानकारी छैन ।”      ठुटोबाट निस्किएका पानीका धारामा प्रत्येक दश मिनेटको अन्तरालमा पानीको बहाव घट्ने र बढ्ने गरेको बताउँदै यसले ढोरवाराही लहरीको जस्तै झल्को दिने गरेको संरक्षण समितिका सचिव महेश थापाले राससलाई जानकारी दिनुभयो ।       आफूले ठुटोको माथिल्लो भागमा टेकेर झण्डा राख्दा दाहिने खुट्टा दुखेर रातभरि सुत्न नसकेको बताउँदै उहाँले भोलिपल्ट बिहान उक्त स्थानमा पुगेर क्षमा पूजा गरेपछि आराम भएकाले यस क्षेत्रमा दैविकशक्ति रहेको विश्वास गरिएको उहाँले अनुभव सुनाउनुभयो ।      थापाका अनुसार गत फागुन १४ गते शिवरात्रिका दिनेदेखि आजको दिनसम्म दर्शक आउने क्रम जारी छ । पछिल्लो समय दैनिक सात सयदेखि एक हजारसम्मले पानीको धाराको दर्शन गर्ने र ठुटोबाट निस्केको पानीले स्नान गर्ने गरेका उहाँले जानकारी दिनुभयो । “यहाँ आउने दर्शकमध्ये आजसम्म एक सयभन्दा बढीले आफूलाई देवदेवी चढेको भन्दै वर्षौँदेखि खोजेको स्थान पत्ता लागेको बताउने गरेका छन्”, उहाँले भन्नुभयो ।       यस क्षेत्रको संरक्षणका लागि रुपा गाउँपािलका र पोखरा–३१ ले चासो देखाएर उक्त ठुटोलाई तारवारले घेरिएको छ । दर्शनार्थीलाई जुत्ताचप्पल बाहिर राखेर भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको सचिव थापाले बताउनुभयो । उहाँका अनुसार यहाँ दानपेटीका राखिएको छभने दर्शकले चढाएको दानबाट हालसम्म रु ८५ हजार सङ्कलन भएको छ ।        यस क्षेत्रको स्थलगत अध्ययन गरेका भूगर्भविद् र संस्कृतविज्ञको भनाइअनुसार उक्त रूख लगभग दुई सय वर्ष पुरानो जामुनको भएको अनुमान गरिएको छ । ठुटोबाट आएको धाराको पानी सिधैँ पिउन सकिने प्रयोगशालाको रिपोर्टले देखाएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राससलाई जानकारी दिनुभयो ।      आगामी वैशाखसम्म पानीको अवस्था हेरेर यसलाई ऐतिहासिक एवं धार्मिक क्षेत्रका रूपमा विकास गरिने बताउँदै उहाँले चिसापानी देवी, कोटकालीका, वेगनासकोट, हङ्सपुरकोट, हात्तिमैतालगायत धार्मिक क्षेत्रको सङ्गममा रहेको यो क्षेत्रलाई पूर्णमोक्ष जलदेवीको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।      अध्यक्ष ओझाले गुरुयोजना बनाएर ऐतिहासिक, प्राचीन एवं धार्मिक क्षेत्रका रूपमा विकास गरेमा पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।  “तालमा पानीको सतह बढ्दा पनि रूखको ठुटो र यहाँबाट आउने पानीलाई सुरक्षित राख्नेगरी व्यवस्था मिलाउनु अपरिहार्य छ । यस्तै धार्मिक क्षेत्र भारतको हरिद्धारमा समेत देख्न सकिने भएको यसको विस्तृत अध्ययन गरी संरक्षण र प्रवर्द्धन गर्ने योजनामा छौँ”, उहाँले भननुभयो ।      रूखको ठुटोेमा भूमिगत पानीको मूल जोडिएको हुनसक्ने भएपनि ठुटोेको टुप्पाबाट पानीको धारा आउनु अनौठो भएको भूगोलविद् प्राडा कृष्ण केसीले धारणा राख्नुभयो । “यसको वास्तविकता पत्ता लगाउन थप स्थलगत अध्ययन तथा अनुसन्धान आवश्यक छ”, उहाँले भन्नुभयो ।

अछाम: घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।      चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उहाँको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो ।  उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो ।      उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उहाँले बताउनुभयो ।

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका चिनियाँ नागरिक मृत फेला परेका छन् ।  यही चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट एक्लै फकिैदै गरेका २७ वर्षीय चिनियाँ नागरिक चेङ योङयन देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।    अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक बेपत्ता भएको सूचनापछि खोजी तथा उद्धारका लागि  सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको टोलीले हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिक चेङलाई १३ दिनपछि मादी नदीको किनारामा मृत फेला पारेको हो ।   यो पनि पढ्नुहोस   फलोअप: बेपत्ता छोरा खोज्न चीनबाट नेपाल आइपुगे ‘इ जोङ वी’  

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको छ ।        प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभयो ।  प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुग्नुभएको छ । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।        थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।  थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गर्नुभएको थियो ।       प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनुभएको थियो । शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गर्नुभएको थियो ।         प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृत राई समेत स्वदेश फर्कनुभएको छ ।   

काठमाडौं:   चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।  उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।    यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।  चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ ।   नवरात्रभर साधना गर्नेले नौ दिनसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्छन् । अरु दिन पूजा नगर्नेले चैत्र शुक्ल अष्टमीका दिन शक्तिपीठमा गई पूजा आराधना गर्ने गरेका छन् ।  चैते दसैँसमेत भनिने चैत्र शुक्ल अष्टमीका अवसरमा आज शनिबार पनि परेकालेसमेत शक्तिपीठमा विशेष भीड देखिएको छ । सामान्य शनिबार पनि गुह्येश्वरीलगायत देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । गुह्येश्वरीमा चैते दसैँका अवसरमा आज बिहानैदेखि आउने भक्तजनको भीड बढेको स्थानीयवासीसमेत रहनुभएका ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिनुभयो ।

सङ्खुवासभा:  सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले  करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो ।  सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना गर्ने निर्यण गरिएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिनुभयो ।  त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई रु ५० हजार जरिवाना गर्ने निर्णय गरिएको उपाध्यक्ष चापागाईंले बताउनुभयो । गाउँपालिकाले प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई प्रकाउ गरी जरिवाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहानस्वरुप दिइने प्रमुख प्रशासकिय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयो ।  त्यसैगरी निषेधित क्षेत्रमा मार्ने व्यक्तिको बारेमा गोप्य सूचना दिनेलाई ५ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।  जरिवाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम मुद्दा दर्ताको लागि सिफारिस गर्ने जनाएको छ । 

काठमाडौं: नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ, भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् ।  बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो ।  दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।  यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका –१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।