पोखरा:  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...

गण्डकी: लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ ।  सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् ।  विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिनुभयो । “विज्ञहरूसहित सरोकार भएका पक्षहरूबीच विधयकमाथि दफाबार छलफल हुन्छ, त्यसपछि प्रदेशसभाबाट विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ्छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले सोसम्बन्धी विधेयकलाई यही चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो । सोमबार प्रदेशसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा १० प्रदेशसभा सदस्यले उक्त विधेयकमाथि आफ्ना धारणा राखेका थिए । प्र देशसभा सदस्य रेशमबहादुर जुग्जालीले घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँदा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले मदिराको व्यावसायिक उत्पादनसँगै संस्कार र संस्कृतिलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । प्रदेशसभा सदस्य रेखा गुरुङले विधेयकले घरेलु मदिराको गुणस्तरहीन र गैरकानुनी उत्पादनलाई निरूत्साहित गर्ने बताउनुभयो । घरेलु मदिरामा विषाक्त पदार्थको मिसावटले स्वास्थ्य जोखिम बढेको भन्दै त्यसलाई नियमन गर्नुपर्ने उहाँको भनाइ छ ।  स्थानीय उत्पादनलाई व्यावसायिक अवसर सृजना गर्दै घरेलु मदिराको अवैध उत्पादन नियन्त्रण गर्न र कर प्रणालीमार्फत प्रदेशको राजस्व विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । उद्योग तथा पर्यटनमन्त्री बस्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो । आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमतिपछि विधेयकको मस्यौदा तयार पारिएको उहाँको भनाइ छ । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई पूर्णता दिइने मन्त्री बस्यालले बताउनुभयो । परम्परागत रूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ । प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ ।  मुख्यमन्त्रीलगायत विभागीय मन्त्रीले पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आउनुभएको छ । पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्रीका लागि घरेलु मदिरा वर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन । सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई आर्थिकलाभ मिल्ने देखिन्छ । केही समयअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो ।  मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई वैध बनाउन लागेको हो । विधेयकमा घरेलु मदिरा उत्पादन गर्न प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ ।  धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री बस्यालले जानकारी दिनुभयो । उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण, अन्न तथा फलफूलजस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ । घरेलु मदिरालाई गण्डकी प्रदेशभित्रका कृषि सहकारीले समेत दर्ता गर्न सक्नेछन् ।  यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो , फापर, उवा, जौँ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐँसेलु, चुत्रो, डिम्बरजस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।  “तोकिएको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिराको व्यावसायिक उत्पादन तथा बिक्रीका लागि ऐन ल्याउन लागिएको हो”, मन्त्री बस्यालले भन्नुभयो, “प्रदेशसभा र सम्बन्धित समितिमा दफाबार छलफल गरी आवश्यक संशोधनसहित विधेयक पारित हुन्छ”, उहाँले भन्नुभयो, “लामो समयदेखि बहसमा रहेको घरेलु मदिरा छिट्टै कानुनी दायरामा आउँदैछ ।” 

काठमाडौं:  प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले बताए ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । 

म्याग्दी:  अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।      चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो ।       “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।” उहाँका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् ।        पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् ।  वसन्तयामका लागि हालसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।       उहाँका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन् ।       भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताउनुभयो ।  “शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन् । केहीदिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्”, उहाँले भन्नुभयो ।       विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको अहिलेसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।       आठ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ । प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ ।      नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उहाँले उल्लेख गर्नुभयो । पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्‍याएका अभियन्ता गुरुङले बताउनुभयो ।       “गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे”, उहाँले भन्नुभयो, “यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन् ।” पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उहाँको भनाइ छ ।       पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताउनुभयो । यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो ।       फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताउनुभयो । उहाँका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ ।       ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ ।      आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भएपनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।       मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।      छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन् । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् । 

कञ्चनपुर:  बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो ।  आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो ।  डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताउनुभयो ।

काठमाडौं:  सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।      मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।      नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।

काठमाडौं:  नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।            मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ ।  यसैगरी निगमले अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ तोकेको छ ।            इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिकसम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराउनुभयो । यही चैत १९ गते मङ्गलबारबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंँमा महत्वपूर्ण हुने बताउनुुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।   भ्रमणका अवसरमा पर्यटन र संस्कृतिसँग सम्बधित दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।  प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा थाइल्याण्डका प्रतिष्ठित व्यावासायिहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिनुुभयो ।  प्रधानमन्त्री ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्नुहुनेछ । यसैगरी प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका क्रममा भाग लिन आउनुहुने सदस्य राष्ट्रका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नुहुनेछ । 

काठमाडौं:  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।  सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।       प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।       गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो ।       प्रहरीले उक्त घटनामा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिकाका २२ वर्षीय निपु मण्डल, सोही ठाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय २९ सुनिल शर्मालाई पक्राउ गरेको छ ।       निजहरुलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा:  पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ ।   महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो पत्र बुझाएका हुन् ।  पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलनका क्रममा जनधनको जुन क्षति भएको छ, सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानूनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।  उनले निरंकुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले विगतमा जुन भूमिका खेलेको थियो, त्यो अझै पनि खेल्नेछ भन्ने विश्वास गर्दै मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको पक्षमा सबैजना यसैगरी लाग्नुपर्ने बताए । उनले एकदुई वटा घटनाबाट विचलित नहुन पनि मिडिया क्षेत्रलाई आश्वस्त पारे ।  ध्यानाकर्षणपत्र वाचन गर्दै महासंघ गण्डकी अध्यक्ष पौडेलले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ भने । साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि मुख्यमन्त्रीमार्फत नेपाल सरकारसमक्ष माग गर्दछ भने ।  एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार नभए महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइएको छ । मुख्यमन्त्री निवास सहिदचोकमा पत्र बुझाउने क्रममा नागरिक समाज तथा अधिकारकर्मीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।  महासंघको विरोध कार्यक्रमअन्तर्गत सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको हो । प्रदेशमा मुख्यमन्त्री वा आन्तरिक मामिला मन्त्री र शाखा समितिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । मंगलबार सरोकारवाला संगठनसँग छलफल गर्ने महासंघको तयारी छ ।  शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो ।  अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।