पोखरा:  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...

पोखरा:  पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको छ । क्याम्पसमै स्ववियुको मतगणना सुरु भएको हो । आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा २ हजार ८ सय ९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो । अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् ।   अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् । पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि स्ववियु निर्वाचन भएको हो । 

दाङ: घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् ।  ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो ।  आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।  अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका  दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् । 

चितवन: नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।  चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो ।  विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।    उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।” नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो ।  बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो ।    नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो । 

काभ्रेपलाञ्चोक: छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् ।  जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।       राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ ।       गत असोज १०–१२ मा परेको अविरल वर्षातले पु¥याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी  विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् ।        काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् । क्षति भएका घरहरुको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरुलाई रु २५ हजार राहत दिने छ ।  विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरु पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् ।       जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्र्तगतको विपद् ब्यवस्थापन समितिलाई निकासा माग गरेको छ ।  निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ ।      धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ ।  “तीव्र रुपमा वडागतरुपमा प्राप्त विवरण छानविन भइरहेको छ, अब केही दिनमै सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भन्नुभयो । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ ।       जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटकपटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताउनुभयो ।  “स्थानीय तहले ढिलाई गर्दा बाढीपहिरोपीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाई भइरहेको हो”, उहाँले भन्नुभयो । समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई पीडितको अपडेट र पूर्वतयारीका कार्यहरु यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णयसमेत गरेको छ ।       समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । गत असोजको  वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ताको अवस्थामा छन् ।  कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ । 

म्याग्दी: गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।       गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको साझेदारीमा ‘दायित्व’ संस्थामार्फत उद्यमीको पहिचान गरी उनीहरुको क्षमता विकास, यवसाय स्तरोन्नति र बिक्री तथा बजारीकरणका लागि कार्यक्रम सञ्चालन भएको हो ।       दायित्व संस्थाका कार्यक्रम अधिकृत जुनतारा रानाले पर्वतको जलजलासँगै नवलपुरको हुप्सेकोट, बागलुङको बडीगाड, गोरखाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र तनहुँको म्याग्दे गाउँपालिकामा यो कार्यक्रम लागू भएको राससलाई जानकारी दिनुभयो ।       “यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई रु ४० लाख पठाएको र सम्बन्धित पालिकाले रु २० लाखका दरले बजेट बिनियोजन गरेका छन्,” उहाँले भन्नुभयो “कृषि, पशुपालन, जडीबुटी, पर्यटन, सेवा र उत्पादनमा आधारित लघु, साना तथा मझौला उद्यमीलाई परियोजनाको कुल लागतमा ५० प्रतिशत साझेदारी गर्छौँ ।”      हरेक स्थानीय तहमा ४० जना उद्यमीलाई न्युनतम रु २५ हजारदेखि रु एक लाख ५० हजारसम्म उद्यममा साझेदारी गरिने कार्यक्रम अधिकृत रानाले बताउनुभयो । पहिलो चरणमा कार्यक्रममा आवद्ध हुन इच्छुक उद्यमीबाट आवेदन सङ्कलन गर्न थालिएको छ ।       तोकिएको मापदण्डअनुसार पहिलो चरणमा ४० जना उद्यमी चयन गर्ने, २० जनालाई रु २५ हजारसम्म उद्यम विकास प्रविधि पुरक साझेदारी, १० जनालाई रु एक लाखसम्म नवप्रवर्द्धन पुरक साझेदारी, तेस्रो चरणमा नौ जनालाई रु ८० हजार र एक जनालाई रु एक लाख ५० हजार बिक्री तथा बजारीकरण प्रविधि पुरक साझेदारी गरिने जलजला गाउँपालिकाको उद्यम अधिकृत भगवती पुनले बताउनुभयो ।

काठमाडौं: अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो ।  उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गर्नुभयो ।       नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ०’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उहाँले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताउनुभएको छ ।      उहाँले भन्नुभयो, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।”      त्यसो त उहाँले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गर्नुभयो । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उहाँको बुझाइ छ । उहाँले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गर्नुभयो ।       “मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भन्नुभयो ।       कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त ग¥यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गर्नुभएको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गर्नुभएको थियो ।      भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उहाँले बताउनुभयो । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गर्नुभयो ।       “मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उहाँले भन्नुभयो ।       अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताउनुभयो । उहाँले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिनुभयो । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ ।

दाङ: घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।       प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् ।         आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताउनुभयो । उहाँले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको  बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन । 

काठमाडौँ:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।   ‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ जल तथा ऊर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्य भएकाले प्रविधिको प्रयोग गरेर पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार लागेको बताए ।   मौसमसम्बन्धी देशको पूर्वानूमान प्रणालीलाई सबल बनाउन ‘राडार तथा सेटेलाइट’ प्रविधिको प्रयोगलाई सरकारले विस्तार गरिरहेको बताउँदै उनले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्वसूचना सेवा विस्तार गरिएको जानकारी दिए ।   मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा च्छोरोल्पा र इम्जा हिमतालको जलस्तर घटाउने काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै यस्ता कार्यले हिमतालजन्य बाढी जोखिम न्यूनीकरणमा सहयोग पुगेको उल्लेख गरे ।   मुलुकका जलविद्युत् परियोजना, सिँचाइ योजना र दैनिक उपभोगका लागि उपलब्ध पानीको स्रोतको मुख्य आधार हिमनदी भएकाले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्दै हिमनदीहरूको संरक्षण, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जोखिम घटाउनु सरकारको पहिलो प्रमुख प्राथमिकता भएको बताए ।   जल तथा मौसम विज्ञान सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था नभएकामा मन्त्रालयको नेतृत्वमा जल तथा मौसम विज्ञान नीति, २०८१ त लागू गरिएको मन्त्री खड्काले बताए ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसम विज्ञान विभागको सेवालाई विस्तार मन्त्रालयको प्राथमिकता हो भने ।   आयोगका सचिव मधुप्रसाद भेटुवालले जल तथा मौसम सेवा, जलवायु अनुकूलन र हिमनदी संरक्षणको क्षेत्रमा सरकारले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको बताए ।

म्याग्दी: म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ । यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमङ्गले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि  हिमपात हुन थालेको छ ।  हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताउनुभयो । जिल्लाको पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीयस्थलमा हिमपात भएको छ । हिउँमा रमाउन उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् ।