काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाउनुभएको छ । बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राख्नुभएको छ । उहाँले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा शोभनीय नभएको बताउनुभयो । “पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्ने विषय पत्रपत्रिकामा आएको छ”, उहाँले भन्नुभयो, “देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषय अमान्य छ ।” सांसद यादवले पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रियसभाका अध्यक्ष, पूर्वसंविधानसभाका अध्यक्ष, मन्त्रिपरिषद्का पूर्वअध्यक्षहरुलाई आजीवन भत्ता, घरभाडा, सवारी साधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानुनको मस्यौदा बनिरहेको भन्ने सुन्नमा आएको भन्दै मुलुकको कमजोर आर्थिक अवस्था, स्वास्थ्योपचार नपाएको र बेरोजगारीले युवा पलायन भइरहेका सन्दर्भमा यस्ता विषय आउन नहुने जिकिर गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कमजोर बनाउने केही तत्वहरु लागिरहेको भन्दै त्यसप्रति सचेत रहन ध्यानाकर्षण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा जनतालाई राहत दिएर भरोसा बढाउनुपर्ने बेलामा पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने प्रस्ताव प्रति असन्तुष्टि जनाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले मुलुकको अर्थतन्त्र खस्किएको अवस्थामा राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा व्यक्त गर्नुभयो ।
तनहुँ: नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यानविधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सवमा गण्डकी प्रदेशको आख्यान, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँचकथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो । महोत्सवमा डा षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासको बारेमा प्रवचन दिनुभएको थियो भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराईलगायतले टिप्पणी गर्नुभएको थियो । महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस गरिएको थियो । बहस कार्यक्रमको सहजीकरण प्राध्यापक डा अशोक थापाले गर्नुभएको थियो । उक्त बहसमा सहभागी साहित्यकारहरू अमर न्यौपाने, प्रभा बराल, गनेश पौडेल, बन्धुराज अधिकारीले आख्यान के हो र यसभित्र के के पर्दछन् ? कस्तो आख्यान लेख्ने ? आख्यानको सैद्धान्तिकस्वरूप र परम्परा लगायतको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । प्राध्यापक डा अशोक थापाले नै सहजीकरण गर्नुभएको तेस्रो चरणको ‘नलेखिएका कथा’ विषय कार्यक्रममा साहित्यकार रूपेन्द्र प्रभावी कटु, अञ्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजमा नलेखिएका कथाहरूको विषय औँल्याउनुभएको थियो । चौथो चरणको ‘पाँच कथाकारका पाँच कथा’ वाचन कार्यक्रममा साहित्यकारहरू रमेशचन्द्र घिमिरे, देवीबहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो । साहित्यकारले प्रस्तुत गरेका कथामाथि मुस्ताङका साहित्यकार बसन्त शेरचन प्रतिक्रियात्मक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको पाँचौंँ चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहुँद्वारा ‘मर्यादा’ नामक नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले प्रतिष्ठान नलेखिएका कथाहरू खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । नलेखिएका कथाहरू बाहिर ल्याउनु प्रतिष्ठानको दायित्व भएको उहाँको भनाइ थियो । न्यौपानेले नेपाली साहित्य तथा लोपोन्मुख भाषा संरक्षणका लागि नेपाल प्रज्ञा प्रतिष्ठान जिल्ला एवं स्थानीय तहमा गठन भएका प्रतिष्ठान तथा विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो ।
गोरखा: गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उहाँले जानकारी दिनुभयो । “वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन”, उहाँले भन्नुभयो, “कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।” समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उहाँको भनाइ छ । “राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्”, कार्यालय प्रमुख सुवेदी भन्नुहुन्छ, “तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।” पच्चीस मिटर लामो र ८।४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत रु दुई करोड ७५ लाख रहेको छ ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।” उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताउनुभयो । मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं: घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ । विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो । मालपोत कार्यालय कलङ्कीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
पवर्त: कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन । रु ६ करोड १३ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । अहिलेसम्म रु एक करोड ५० लाख कार्यालयबाट भुक्तानी गरिएको छ । उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो । सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन । “धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने÷नहुनेमा आशङ्का छ । ढिलोगरी काम सुरु भएको छ”, स्थानीय राजेन्द्र खड्काले भन्नुभयो । सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ । अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर धु्रव पोखरेलले जानकारी दिनुभयो । अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको छ । स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताउनुभयो । स्थानीय तह, सङ्घीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उहाँको भनाइ छ । यसैबीच निर्माणकार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थगलत अनुगमन गर्नुभएको छ ।
काठमाडौं: सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो । क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी उहाँले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।