पर्सा: वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ । चौध वर्षदेखि डढेलोबाट जोगाउँदै आएको मुलुकभरकै उत्कृष्ट सामुदायिक वनलाई यस वर्ष पनि कसरी जोगाउने भन्ने चिन्ताकै कारणले उहाँ थप जिम्मेवारी बढेको अनुभव गर्नुहुन्छ । “वसन्त ऋतु आयो कि त हामीलाई हाम्रो सामुदायिक वन कसरी जोगाउने भन्ने चिन्ताले सताउने गर्छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म त उपभोक्ता समूहका सदस्य र वन हेरालुको संयुक्त प्रयासकै कारण सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेका छौँ ।” अध्यक्ष मोक्तानले जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५९ जना सदस्यमध्ये हिउँद्यामको तीन महिना दैनिक १५ जनालाई आलोपालो गरेर गरेर वन जोगाउनका लागि खटाउँदै आइरहनुभएको छ । त्यति मात्रै होइन, सब–डिभिजन वन कार्यालय निजगढ र उपभोक्ता समूहले राखेका अन्य आठ कर्मचारी पनि वन जोगाउन अहोरात्र खटिँदै आइरहेका छन् । “सामुदायिक वनमा आबद्ध प्रत्येक घरधुरीबाट आलोपालो रुपमा मान्छे आएर सामुदायिक वनमा अग्निरेखा ‘फायरलाइन’ बनाउनेदेखि वनको चोरी–तस्करी नियन्त्रणमा सहयोग गर्दै आइरहनुभएको छ,” अध्यक्ष मोक्तानले भन्नुभयो, “मेरो एक्लो प्रयासले मात्रै त ३८७ हेक्टर क्षेत्रफलको वन जोगाउन कहाँ सकिन्थ्यो होला र ! सबैको सहयोग र सद्भावको कारणले मात्रै यो सम्भव भएको हो ।” वन तथा भूसंरक्षण विभागले २०८१ साउन २५ गते सामुदायिक वन दिवसका अवसरमा मुलुकभर रहेका सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्ने उपभोक्ता समूहमध्येबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पनि यस वन उपभोक्ता समूहले रु एक लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो । उपभोक्ता समितिमा आबद्ध सदस्यले अपनत्व लिएकै कारणले अहिलेसम्म सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेको अध्यक्ष मोक्तान बताउनुहुन्छ । “अहिलेसम्म उपभोक्ता सदस्यहरुले निकै माया गरेर डढेलोबाट जोगाउँदै आइरहनुभएको छ,” उहाँले भन्नुभयो, “वनको गौंडागौंडामा समूहमा आबद्ध भएका स्थानीयको सुरक्षा दस्ता खटाएर अहिलेसम्म वन जोगाउँदै आइरहेका छौँ ।” निजगढ सब–डिभिजन कार्यालयका प्रमुख निरज पोखरेल समुदायले वन संरक्षणमा सक्रियता देखाएकै कारणले वनजङ्गल संरक्षणमा सहजता आएको बताउनुहुन्छ । ‘‘समुदायले चाहने हो भने नसिकिने केही नहुँदो रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘यहाँको संरक्षणका उपाय अन्य सामुदायिक तथा साझेदारी वनले अपनाउँदा राम्रो हुने गर्छ ।’’ जनज्योति सामुदायिक वन तीन सय ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँका समुदायले सकेसम्म वनजङ्गलमा आगजनी हुनै नदिने, यदि भइहालेमा पनि तत्कालै आगो निभाएर वन संरक्षणमा ध्यान दिने योजनासहित काम गर्दै आइरहेको छ । डढेलोबाट जोगाउन थालियो पूर्वतयारी मधेस प्रदेशमा आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारी थालिएको छ । हिउँद्याममा सम्भावित आगजनी तथा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीको कामलाई तीव्रता दिँदै आइरहेको छ । मधेस प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले हिउँद्याममा सम्भावित वन डढेलो तथा आगजनीबाट जोगाउन पूर्वतयारीका काम अघि बढाइएको जानकारी दिनभयो । “हिउँद्याममा मधेस प्रदेशका वनजङ्गलमा डढेलो तथा आगजनीका दुःखद घटना हँुदै आइरहेका छन् । आगजनीको कारणले नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गरेका छन्,” उहाँले भन्नुभयो, “विगतका डढेलोका घटनाको पाठ सिक्दै यो वर्ष हामीले मधेस प्रदेशमा डढेलोबाट वनजङ्गल जोगाउनका लागि पूर्वतयारीका कामलाई द्रूत गतिमा अघि बढाउँदै आइरहेका छौँ ।” प्रदेश वन निर्देशक जयसवालले यस वर्ष डढेलो नियन्त्रणका लागि सङ्घीय र प्रदेश सरकार दुवैको समन्वयमा पूर्वतयारीको काम भइरहेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले ‘रेड’ कार्यान्वयन र समृद्धिका लागि वन कार्यक्रमले पनि सम्भावित डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था मिलाउनुभएको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि वार्षिक स्वीकृत बजेट तथा कार्यक्रममा राखेर डढेलो नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आइरहेको छ ।” मधेस प्रदेशको करिब दुई लाख दुई हजार २०२ हेक्टर क्षेत्र वनले ओगटेको छ । जुन प्रदेशको कुल क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वन क्षेत्रले ओगट्ने गर्छ । कुल वन क्षेत्रमध्ये ७१ हजार ३६९ हेक्टर क्षेत्रमा ५०४ वटा सामुदायिक वन रहेका छन् । त्यस्तै, ४० हजार ९१२ हेक्टर वन क्षेत्रमा १६ वटा साझेदारी वन क्षेत्र पर्दछ । निर्देशक जयसवालले वन क्षेत्रको मुख्य विनाशको कारकका रुपमा आगजनी, अतिक्रमण र चरिचरन रहेको बताउनुभयो । “जब जङ्गलमा आगजनी हुने गर्छ । तब जङ्गलमा भर्खरै उम्रेका नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गर्छ,” उहाँले भन्नुभयो । त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले वनजङ्गलमा भएका सुकेका काठदाउरा, पत्करको उचित व्यवस्थापन नहुँदा वनजङ्गलमा आगजनी हुने बताउनुहुन्छ । “वनजङ्गलमा भएका सुकेका काठदाउराको समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “तिनै सुकेका रूख, काठ, पत्कर, झाडीले झनै आगोलाई प्रज्वलनशील बनाउन मद्दत पु¥याउने काम गर्छ । त्यसैले वनजङ्गलमा हुने पत्कर तथा सुकेका काठलाई तत्कालै हटाउनुपर्ने हुन्छ ।” सङ्घीय सरकारले पनि हिउँद्याममा वनजङ्गललाई डढेलोबाट जोगाउनका लागि रेड कार्यान्वयन केन्द्र काठमाडौँबाट प्रत्येक जिल्लामा पाँचजना वन कर्मचारीलाई करिब रु १८ हजार दिएर आगो निभाउने दस्ताका रुपमा परिचालन गरेको बताइएको छ । ‘समृद्धिका लागि वन’ कार्यक्रमले पनि आगजनी नियन्त्रण र न्यूनीकरणका लागि विभिन्न स्थानमा आगो निभाउनका लागि ट्र्याक्टर, टिलर समेतको ट्याङ्करको पनि व्यवस्था गरेको छ । केन्द्रबाट पनि कुनै पनि ठाउँको वनजङ्गलमा आगजनी भएको खण्डमा तत्कालै सूचना सम्प्रेषण गर्ने प्रणालीको पनि विकास गरेको छ । सो जानकारीका आधारमा तत्कालै वन डढेलो रोकथाम गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । निर्देशक जयसवालले वनजङ्गलमा हुने डढेलो तथा आगजनी नियन्त्रणमा खटिने सुरक्षाकर्मी, वनरक्षक, वनहेरालुलगायत सबै कर्मचारीको बिमाको समेत प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । “मधेस प्रदेश सरकारले पनि वार्षिक स्वीकृत कार्यक्रम पनि डढेलो नियन्त्रण सम्बन्धित कार्यक्रम समावेश गरेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार आफैँले पनि अग्नि नियन्त्रकका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान तथा उपकरण उपलब्ध गराउँदै आइरहेको छ ।” गत वर्ष सबैभन्दा धेरै आगजनी महोत्तरी र सर्लाही जिल्लामा भएको थियो । डढेलोबाट जोगाउन पूर्वसतर्कता अपनाइँदै मधेस प्रदेशको आठ जिल्लामध्ये पर्साले पनि डढेलोजन्य विपद्बाट जोगाउनका लागि पूर्वतयारीको काम अघि बढाउँदै आइरहेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले कार्यालयले भर्खरै बढ्नियारमा दुईदिने डढेलो नियन्त्रण र व्यवस्थापनसम्बन्धी तालिम गरेको बताउनुभयो । “डिभिजन वन कार्यालयका वनरक्षक, वनहेरालु, रेञ्जर, फरेष्टरलगायत ५०÷६० सहभागी राखेर तालिम दिइसकेका छौँ,” उहाँले भन्नुभयो, “वनजङ्गलमा आगजनी भइहालेको खण्डमा तत्कालै नियन्त्रण गर्नका लागि सहज हुने आशा गरेका छौँ ।” डिभिजन वन कार्यालय पर्साले रेञ्जरको नेतृत्वमा १० सदस्यीय दू्रत वन दस्ता ‘¥यापिड रेस्पोस्ड टिम’ बनाएर तयारी अवस्थामा राखेका छ । सो दस्तालाई पर्साको रङ्गपुर सब–डिभिजन वन कार्यालयमा राखिएको छ । “पर्सा जिल्लाको वनमा रहेका वनपथहरुलाई सफा गर्ने र छुट्याउने काम काम भइरहेको छ,” उहाँले भन्नुभयो, “आगजनी हुनु अगावै वनपथ क्षेत्र सफा गर्दा पनि धेरै हदसम्म आगजनी नियन्त्रण गर्न सहयोग पुग्छ ।” डिभिजन वन कार्यालयले वनजङ्गल आसपासका स्थानीय समुदायमा पुगेर आगजनीबाट हुने क्षति र नोक्सानीको विषयमा पनि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
नेपालगन्ज: पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ । त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ । चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात रू पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात रू एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ । जसमध्ये, कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात रू छ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात रू ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ । सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात रू नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।
काठमाडौं: साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई बताउनुभयो । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।
तनहुँ: शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिनुभयो । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती बाजा बजाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थी नौमती बाजा बजाउन सक्ने भएका छन् । विद्यार्थीको प्रतिभा देखेर अभिभावक पनि दङ्ग छन् ।” कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा कक्षा ७ का विद्यार्थी सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा ८ का विद्यार्थी रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेको तालबेँसी बाजा क्लब गठन भएको छ । सधैँ किताबमात्र पढ्ने र लेख्ने गर्दा सिर्जनशील हुन नसकेको बताउँदै विद्यालयले बाजा व्यवस्था गरेपछि आफूलाई आवश्यक पर्ने सामान्य कापी, कलम किन्ने खर्च व्यवस्थापनमा सहजता भएको बाजामा संलग्न विद्यार्थी अर्विन परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “सानैदेखि वाद्यवादन क्षेत्रमा रमाउने इच्छा विद्यालयले पूरा गराउन खोजेकामा विद्यालयलाई धेरै धन्यवाद दिन चाहन्छु ।” आफू सानै उमेरमा सिर्जनशील हुन खोजेको बताउँदै वडामार्फत विद्यालयले बाजाको सेट उपलब्ध गराएपछि व्यावसायिकतर्फ अगाडि बढेको समूहका संयोजक सुकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा पनि एक न एक काममा व्यस्त रहन्थे । हाल शुक्लागण्डकी नगरपालिका–९ ले बाजाको सेट उपलब्ध गराएपछि मलाई व्यावसायिकतातर्फ अगाडि बढ्ने बाटो खुलेको छ ।” विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दाबाहेक अन्य सवालमा नियमित बाजाको प्रयोग बढेको विकको भनाइ छ । विद्यालयको सेवा क्षेत्रमा दलित बस्ती बढी भएको र यो क्षेत्रको सम्भावना पनि बाजासँग सम्बन्धित लोक संस्कृतिको क्षेत्र फराकिलो भएको हुँदा बाजाको कार्यक्रमलाई प्राथमिकता दिइएको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको मागलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थी भाइबहिनीको क्षमतालाई प्रस्फुटन गर्न सहज हुने कार्यक्रमलाई वडा कार्यालयले महत्व दिएको छ । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । हामीले बनाउने योजना दीर्घकालीन हुनुपर्छ ।” विद्यार्थी पहिचानको क्षेत्रलाई फराकिलो बनाउँदै विद्यार्थीको आफ्नो क्षमता उजागर गराउन विद्यालय प्रतिबद्ध रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता पहिचान गर्दै व्यावहारिक शिक्षातर्फ विद्यालय अगाडि बढेको उल्लेख गर्नुभयो । वडाको एकमात्र मावि भएको र विद्यालयको भौतिक, शैक्षिक एवं वातावरणीय पक्षको विकासका लागि स्थानीय सरकार तल्लीन रहेको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य कमल थापाले बताउनुभयो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अध्यापनका लागि बाजा अपरिहार्य रहेको र विद्यालय भनेको लोक संस्कृतिको जर्गेना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको हुँदा लोक बाजाको कार्यक्रम विद्यालयको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा ६ देखि ८ सम्मका नौ जना विद्यार्थी भाइहरूको एक समूह छ जसले लोक बाजालाई सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा लिएको छ । विद्यालयको मात्र नभई शुक्लागण्डकी नगरपालिकाको विभिन्न कार्यक्रम र तनहुँ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटनसत्रमा पनि विद्यार्थी भाइहरूले कुशलतापूर्वक बाजा बजाई आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए ।”
नवलपरासी: रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिम)० मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।” प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताउनुभयो । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ । पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । “अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ”, उहाँले भन्नुभयो, “अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरून्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।”
काठमाडौं: फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ । आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेल लगी जलाउने चलन छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागु पूर्णिमा पर्व मनाएका छन् । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नसालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । समग्रमा राजधानीलगायत पहाडी र हिमाली जिल्लामा फागु अर्थात् होली अनुशासित बन्दै गएको छ ।
काठमाडौं: होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् । पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन् । आज साँझसम्म दुुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ ।
कालीकोट: कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते हुनुभएको छ । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो । सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताउनुभयो । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उहाँले भन्नुभयो, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।