पोखरा:  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...

काठमाडौं: काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।  आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ ।  उहाँले भन्नुभयो, “हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर  गाडी रोकेर राखिन्छ ।”  त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ ।  हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उहाँले बताउनुभयो ।    प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।    त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ ।    आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिननै होली खेलिन्छ । 

काठमाडौं:   यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी  होली पर्व मनाउनेले  अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो ।  विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।  सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।   केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए ।  बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए ।  कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो । चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल      यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन् । बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ ।  वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ ।  वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ । फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो ।  वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको  मान्ने गरिन्छ । यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।  त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।  यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।  राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।  फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ । शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।  प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

भक्तपुर: फागुपूर्णिमाको अवसरमा याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।  फागुपूर्णिमाको दिन भीमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरू खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता भएकाले भक्तजन झिसमिसेदेखि नै भक्तजनको भीड लागेको हो ।  आजको दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था र पसल सञ्चालन गर्नेहरू बलिसहितको पूजा गर्न भीमसेन मन्दिर पुग्ने गर्छन् ।  आज टोलटोलमा धिमेबाजा, बाँसुरीलगायत बाजा बजाउँदै विभिन्न टोली भीमसेन मन्दिर जाने गरेका छन् । देवताको पूजाअर्चनापछि समयबजी खाएर फागुपर्व मनाउने प्रचलन छ । स्थानीय महिला हाकुपटासीमा सजिएर रङ खेल्दै टोलटोलमा पुग्ने परम्परा पनि अद्यापि कायम छ ।  आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठले बनेको प्रतीकात्मक पुरुष जननेन्द्रियलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागुपर्व हुन्छ । यो प्रतीकात्मक काठको लिङ्ग बोक्ने व्यक्ति पुत्रहीन भएमा कालान्तरमा निजलाई पुत्रप्राप्ति हुने जनविश्वास छ । 

चितवन:   गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व  मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।   यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि  गरिन्छ ।  खुकुरीजस्ता घरेलु हतियारको  पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो ।  आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता  तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले राससलाई बताउनुभयो ।

सोलुखुम्बु:   वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ ।      एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।  उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ ।      टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ ।       टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपिसिसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ ।       खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।      परम्परागत विधि र साइत हेर्ने परम्परा      सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ ।  एसपिसिसीका अनुसार आरोहण मार्ग निर्माण कार्य सुरु गर्न बौद्ध परम्पराअनुसार विशेष पूजा गरिन्छ । यस क्रममा स्थानीय लामा गुरुहरूले पूजाआजा गरी पर्वत देवतालाई खुसी पार्ने प्रयास गर्छन् । पर्वत देवताको कृपा प्राप्त गरेपछि मात्र आइसफल क्षेत्रजस्तो जोखिमयुक्त क्षेत्रमा पाइला राख्ने चलन रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।       मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ ।      दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ । आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ ।      सगरमाथा क्षेत्रमा आरोहण मार्ग निर्माण तथा मर्मतका लागि एसपिसिसीले विदेशी आरोहीहरूबाट शुल्क लिँदै आएको छ । प्रत्येक विदेशी आरोहीबाट ६०० अमेरिकी डलर लिने व्यवस्था छ । यो शुल्क मार्ग निर्माण, मर्मत तथा वातावरणीय सरसफाइका लागि प्रयोग गरिन्छ । एसपिसिसीले आरोहण अनुमति जाँच गर्नाका साथै आधार शिविर क्षेत्रमा वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।      सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने यी ‘आइसफल डाक्टर’हरूले  जोखिम मोलेर हिउँको पुल बनाउने, आरोहीहरूको सुरक्षाका लागि मार्ग पहिल्याउने र अत्यधिक जोखिमपूर्ण क्षेत्रमा आधारभूत संरचना तयार गर्ने काम गर्छन् ।  “उनीहरूबिना आरोहीहरूको सफल यात्रा कल्पनै गर्न सकिँदैन । हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौं । पर्यटन मन्त्रालयसँगको सम्झौताअनुसार हाम्रा दायित्व पूरा गरिरहेका छौँ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही शुल्क हो”, एसपिसिसी अध्यक्ष शेर्पाले भन्नुभयो ।       सगरमाथा आरोहणको तयारी तीव्र      वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहीहरूको सुविधाका लागि आवश्यक सबै कार्य अघि बढाइएको छभने सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । वातावरण संरक्षणको दृष्टिकोणले समेत एसपिसिसीको टोली सक्रिय रहेको छ ।  यस वर्ष आरोहण मौसममा कति आरोहीहरू सगरमाथा चढ्नेछन् भन्ने विषयमा अझै निश्चित तथ्याङ्क आइसकेको छैन तर विगतका वर्षहरूसँग तुलना गर्दा ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गरिएको छ ।      “यस वर्ष पनि सगरमाथा आरोहणमा ठूला व्यावसायिक टोलीहरू आउने सम्भावना छ । हामीले आधार शिविरमा पूर्वाधार निर्माण तथा आरोहीहरूको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेका छौँ । हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण भएकाले हामी सबैसँग समन्वय गरेर सुरक्षित आरोहणको वातावरण सिर्जना गर्नेछौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो ।      यस्तै, पर्यटन व्यवसायी बलबहादुर दर्नाल मौसम अनुकूल रह्यो भने यो सिजन निकै सफल हुने बताउनुहुन्छ । “हामी यो वर्ष पनि ठूलो सङ्ख्यामा आरोहीहरू आउने अपेक्षा गर्दैछौँ । सुरक्षित आरोहणका लागि मार्ग निर्माण, सरसफाइ, वातावरण संरक्षण तथा आवश्यक तयारी गरिरहेका छौँ । यो सिजन पनि सफल हुने विश्वास छ”, उहाँले भन्नुभयो ।       सगरमाथा आरोहणमा संलग्न सबै निकायहरू पूर्ण रूपमा तयारीमा जुटेका छन् । आरोहीहरूको सुविधाका लागि आधार शिविरदेखि माथिल्लो भागसम्म आवश्यक उपकरण, खाद्य सामग्री र सञ्चार सुविधाहरू उपलब्ध गराइँदैछ । स्थानीय शेर्पा गाइडहरूलाई विशेष तालिम प्रदान गरिएको छभने हिमाली वातावरणको दीर्घकालीन संरक्षणका लागि विभिन्न नीति तथा कार्यान्वयन योजनाहरू अघि सारिएको छ ।

काठमाडौं: आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।  “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भन्नुभयो, “प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन÷चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”      बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।  गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।           विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तरराष्ट्रिय उडानतर्फ हवाइजहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए । 

काठमाडौं: लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ ।  गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला पर्नुभएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ । उहाँ सम्पर्कमा आउनुभएसँगै नेपालस्थित उहाँको परिवारलाई खबर गरेका छौँ, उहाँहरुकै आग्रहमा नेपाल फिर्ता पठाउने तयारी सुरु भइसकेको छ ।”  दूतावाससँग कमल स्वयम्ले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ । उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ । लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उहाँ लन्डनबाटै सम्पर्कविहीन हुनु भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो ।  कमल हराएको सूचना पाएलगत्तै लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेको थियो । धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आउनुभएको थियो । 

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आज साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ ।      प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गर्नुभएको हो । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराउनुुभयो ।      इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गर्नुभयो ।

पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् ।   पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।  समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर) , खड्गबहादुर आले (तनहुँ) , मनप्रसाद गुरुङ (कास्की) , कविता घर्तीमगर (कास्की) , चन्द्रकुमारी महतो (नवलपुर) , पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) सर्वसम्मत भएका छन् । संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगरलाई चयन गरिएको निर्वाचन समितिका संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिए । प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीतका लागि सिफारिस गर्ने भएको छ । अधिवेशन तथा सम्मान कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गरेका थिए ।  कार्यक्रममा मन्त्री गुरुङले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको बताए ।  आदिवासी जनजातिको हितका निमिक्त आदिवासी जनजातिकै पत्रकारहरुले कलम र क्यामेरा चलाउनुपर्नेमा उनको जोड थियो ।  उनले फोनिजको श्रीवृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोनिजलाई समेट्ने प्रतिवद्धता जनाए ।  फरक प्रसंगमा उनले समाजलाई बिगार्न खोज्ने केही व्यक्तिहरुको आतंकका कारण देशमा अहिलेको अवस्था सृजना भएको बताए ।  नेपालको वर्तमान राज्य व्यवस्था संसारकै उत्कृष्ट मोडलको रहेको भन्दै उनले समाजमा अराजकता फैलाउनेहरुले गरेका सामान्य गतिविधिमा अत्तालिनु नपर्ने धारणा राखे ।   कार्यक्रममा फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासचिव समिर बलामी, संघीय सल्लाहकार हुमबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले पत्रकारिताको माध्यमबाट देशको सबै क्षेत्रको विकास हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारले राम्रो कामको प्रचारप्रसार र नकारात्मक कार्यमा खबरदारी गर्नुपर्ने उनीहरुको भनाइ थियो ।  कार्यक्रममा फोनिज गण्डकीले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पर्वतका पत्रकार संजय रेग्मीलाई प्रदान गरेको छ ।  समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरेको हो ।  पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका रेग्मीले आदिबासी जनजातिहरूको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कला लगायतका विषयमा लेख्ने गरेका छन् ।  सोही मूल्यांकनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए । उनलाई मन्त्री गुरुङले जनजातिको मौलिक पहिचानका रुपमा रहेको फेटा र भांग्रा सहित सम्मान पत्र र नगद २० हजार १११ रुपैयाँ प्रदान गरेको हो ।  पुरस्कार लागि व्यक्तिको छनोट समितिका संयोजक तथा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एम.बी.आस्था मगरले फोनिज गण्डकी प्रदेशबाट सञ्चालन हुने गरी गण्डकी प्रदेश स्तरमा पत्रकारिताको क्षेत्रबाट आदिवासी जनजातिको आवाज मुखरित गर्ने एक जना क्रियाशील युवा पत्रकारलाई सम्मान गर्ने विधान अनुसार रेग्मीलाई छनोट गरिएको बताए । नवनिर्वाचित अध्यक्ष गुरुङले फोनिज गण्डकी प्रदेशलाई अग्रजको सल्लाहसँगै अनुजको साथ र सहयोगका आधारमा रचनात्मक ढंगबाट कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाइन् ।