सुर्खेत: तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताउनुभयो । यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौँ परीक्षण उडान सम्पन्न गरेको छ । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ । यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गर्नुभएको हो । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो । सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताउनुभयो । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उहाँले उल्लेख गर्नुभयो । यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिनुभयो । उहाँले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राख्नुभयो । यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ । कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् ।
मनाङ: मनाङको माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताउनुभयो । “हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ”, उहाँले भन्नुभयो, “पानीको काम नै हिउँले गर्छ ।” हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उहाँले बताउनुभयो । यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् । किसान सेराप विष्टले मुहानमै पानी जम्ने हुँदा वैकल्पिक तरिकाबाट सिँचाइ गर्न नसकिने बताउनुभयो । “पानीको मुहान लामो दूरीमा हुन्छ, सीमित आयोजनाले पूरा गर्न सक्दैन, धेरै समस्या रहेको छ”, उहाँले भन्नुभयो । ढिला गरी परेको हिउँले स्याउखेती, तरकारी तथा खाद्यान्न उत्पादनमा सहयोग गर्ने उहाँले बताउनुभयो । हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि लोभिन थालेका पर्यटक बताउँछन् । यतिबेलाको समयमा पर्यटक आउनुपर्ने उनीहरू बताउँछन् । समयमा हिमपात भइरहेको अवस्थामा सेताम्मे देखिने हिमालले अझ पर्यटकलाई आकर्षित गर्ने स्थानीय बताउँछन् । जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ । दुई याम गरी मनाङमा पर्यटक घुम्न आउने गर्छन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा निस्कन्छन् । लामो दूरीको पदयात्रामा अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्छन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।
म्याग्दी: धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो । धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ । छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ । यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताउनुभयो । पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन् । दरगाउँ सडक सञ्जालमा जोडियो यसैगरी धवलागिरि गाउँपालिका–३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना–मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका–३ का प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो । सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन् । आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुुजन्य वस्तु निकासीमा सहज भएको छ । दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु पाँच लाख, २०८०÷८१ मा रु १३ लाख र चालु आव २०८१÷८२ मा रु १० लाख विनियोजन गरेको थियो ।
काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहनुभएका निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताउनुभयो । “दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो”, निर्देशक कँडेलले भन्नुभयो । निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुग्नुभएको थियो । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताउनुभयो । “यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु”, अभिनेता ठकुरीले भन्नुभयो । विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताउनुभयो । “म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु”, उहाँले भन्नुभयो । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।
काठमाडौं: हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।
चितवन: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
गण्डकी: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले सुशासन प्रवर्द्धन र सावर्जनिक सेवा प्रवाहको प्रभावकारिताका लागि सरकारले अध्यादेशमार्फत छवटा कानुन ल्याएको जानकारी दिनुभयो । भूमिसम्बन्धी अध्यादेश छलफलका क्रममा रहेको बताउँदै उहाँले अन्य अध्यादेश पारित भइसकेका उल्लेख गर्नुभयो । सेवा प्रवाहलाई छिटोछरितो बनाउन कतिपय कानुनहरू समस्याका रूपमा रहेका जनाउँदै मन्त्री गुरुङले ती समस्याको समाधानका लागि विभिन्न १२ वटा कानुन ल्याउने तयारीमा सरकार लागेको उल्लेख गर्नुभयो । कतिपय कामका सिलसिलामा विभिन्न मन्त्रालयमा समस्या रहेका पाइएको भन्दै उहाँले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सञ्चारमन्त्री गुरुङले २४० वर्षदेखिको सामन्तवादलाई अन्त्य गर्दै हामी लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरिसकेका जनाउँदै वर्तमान अवस्थामा राजकीय सत्ता एवं सार्वभौमसत्ता जनतामा निहित रहेको बताउनुभयो । हालको राजनीतिक प्रणालीलाई थप सुधार गर्दै अघि बढ्नु आवश्यक भएको उहाँको भनाइ छ । लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा भएका कामको प्रशंसा व्यक्त गर्दै उहाँले नेतृत्व विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सामाजिक नेतृत्वबाट राजनीतिक नेतृत्व बन्न सक्ने बताउँदै मन्त्री गुरुङले समाजिक नेतृत्व बलियो नबन्दासम्म लोकतन्त्र तथा राज्य बलियो बन्न नसक्ने धारणा राख्नुभयो । लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईका डिष्ट्रिक गभर्नर विनोद ढुङ्गानाले डिष्ट्रिकअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा देखाएको क्रियाशीलता प्रशंसनीय भएको बताउनुभयो । उक्त अवसरमा लायन्सका गतिविधिमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
बैतडी: बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन् । मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिनुभयो । १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो । ढगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । काम गर्ने क्रममा टाउकोमा गम्भिर चोट लागेको थियो । त्यसको चार÷पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुरसिंहले बताउनुभयो । टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उहाँसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो । “टाउकोमा चोट लागेको दुई÷तीन दिनपछि एक्कासी बरबराउने, डराउनेलगायत लक्षण देखाउने गरेका थिए, १३ गतेराति नै मोबाइल कोठामा छोडेर भागेका रहेछन्, आजसम्म भेटिएनन्”, बुबा बहादुरसिंहले भन्नुभयो,“काम गर्ने कम्पनीले पनि त्यहाको प्रहरीलाई छोरो सम्पर्कमा नरहेको जानकारी गराएको र बस्दै आएको कोठासमेत खाली गरिदिएको खबर पाएको छु ।” मेलौली नगरपालिका–८ का वडाअध्यक्ष तपेन्द्रसिंह बिष्टले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गरी दिन आग्रहसहित सिफारिस गरिएको जानकारी दिनुभयो । जिल्लाकै भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्रसँग आवश्यक समन्वय गरी खोजि गरिदिन आग्रह गरिएको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।
काठमाडौं: थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो । गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पु¥याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ । राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ । बैंककस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ । साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”